साझा नेटवर्क
जमुना आरुषी
विरहको बाँसुरी बजाउँदै
वेदनाको गीत गाउँदै
सपनाको लास बोकेर
सिमान्त क्षितिज हुँदै
मरूभूमिको देशतिर
आज किन उडिरहेछन्
एक हूल चराहरू ?
प्रत्येक रात देखिने
कोलम्बस सपनाहरूमा
खोजिरहन्छन् तिनीहरू
बाटोसँगै माटो
माटोसँगै संवाद
संवादसगै स्वाभिमान
स्वाभिमानसँगै उत्सव
उत्सवसँगै उत्साह
उत्साहसँगै उज्यालोको
एउटा सम्भावना
सम्पूर्ण सृष्टि चहार्दा पनि
किन संम्भावनाको
उज्यालो पाउँदैनन्
यी निर्दोष चराहरूले ?
हिउँको ओछ्यानमाथि
आगोको सिरक ओढेर
सपना खोज्न
किन अभिशप्त छन्
मेरा प्रिय चराहरू ?
सपनामा पनि बूढी आमाको
काँतर छाया देख्न
किन विवश छन्
मेरा प्रिय चराहरू ?
मौनताको सागरमा
समयको हुरीसँगै
उठ्ने सुनामीमा
लयबद्ध हुन
किन विवश छन्
मेरा प्रिय चराहरू
तैपनि बतासको सिरेठो
सापटी लिएर
यसरी हरेक दिन
हुलका हुल चराहरु
मरुभूमि जस्तो मन बोकेर
मरूभूमिको प्रदेशमा
किन पुग्न विवश छन्
ओ महासय ?

जमुना आर.सी. – पोखरा, नेपाल
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend