साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी असार ४ ।
गुल्मी जिल्लामा हर्षोउल्लासका साथ उमेद्वारहरुको मनोनयन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा उत्साहका साथ मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका सवै स्थानमा शान्ति र खुसियालीका साथ मनोनयन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले जानकारी दिए । ‘मनोनयन सवै स्थानमा सकियो,उमेदवारको विवरण आउने क्रम जारी छ,’उनले भने,‘जनताको व्यापक उपस्थितीमा पार्टीहरुले मनोनयन गरे ।
’ जिल्लाको पहिलो नगरपालिका रेसुंगा नगरपालिकाका पहिलो दलको रुपमा एमालेले मनोनयन दर्ता गरेको थियो । रेसुंगा नगरपालिकाको मेयरमा एमालेका डिल्लीराज भुसाल र उपमेयरमा सिता भण्डारीको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले बताए । मनोनयन पछिको एमालेको चुनावी सभालाई एमाले सचिव प्रदिव ज्ञवालीले संबोधन गरेका थिए । त्यस्तै दोस्रो दलको रुपमा माओवादी केन्द्रले मनोनयन दर्ता गरेको छ ।
रेसुंगा नगरपालिकामा मेयरका लागि धर्म विश्वकर्मा र उपमेयरमा कमला पुन रहेकी छन् । तेस्रो दलको रुपमा नेपाली कांग्रेसले मनोनयन दर्ता गरेको छ । कांग्रेसको तर्फबाट पार्टी सभापति भुवन प्रसाद श्रेष्ट र उपप्रमुखमा अमृता देवि कुवंरले उमेदवारी दर्ता गरेको निर्वाचन
अधिकृतको कार्यालयले जनाएको छ । बाजा र जुलुसपछि उत्साहका साथ कांग्रेसले मनोनयन दर्ता गरेको थियो ।
रेसुंगा नगरपालिकाबाट नन्दराम राना र अजय पन्थीले स्वतन्त्र उमेदवारीको मनोनयन दर्ता गरेका छन् । त्यस्तै जिल्लाको अर्को नगरपालिका मुसिकोट नगरपालिका पनि मनोनयन सकिएको छ । मुसिकोट नगरपालिकामा पनि एमालेले पहिलो दलका रुपमा मनोनयन दर्ता गरेको छ । मुसिकोट नगरपालिकाका मेयर पदका उमेदवार सोमनाथ सापकोटा सहितको टोलीले मनोनयन दर्ता गरेको छ । एमालेको तर्फबाट मेयरमा पार्टी सचिव सोमनाथ सापकोटा र उपमेयरमा कमला शर्मा प्रतिस्प्रर्धामा रहेका छन् ।
त्यस्तै दोस्रो दलको रुपमा नेपाली कांग्रेस मुसिकोट नगरपालिकाको मेयर पदका उमेदवार कृष्णहरि सापकोटाले मनोनयन गरे । भने उपमेयरमा बिष्णु सापकोटाले मनोनयन दर्ता गरेकी छन् । छत्रकोट गाउँपालिकामा एमालेको तर्फबाट गाउँपालिका प्रमुख बनेका पार्टी कार्याबहाक अध्यक्ष मधुकृष्ण पन्त र उपप्रमुख नर्मदा भण्डारीको प्याननले मनोनयन दर्ता गरेको छ ।
रुरु गाउापालिकामा पहिलो दलका रुपमा बैद्य माओवादीको देशभत्त जनगणतान्त्रिक मोर्चा नेपालका केशव अधिकारीले मनोनयन दर्ता गरेका छन् । त्यस्तै स्वतन्त्र उमेदवार शम्भु गौतमले पनि मनोनयन दर्ता गरेको पत्रकार भुवन भसालले जानकारी दिए । इस्मा गाउँपालिका निर्वाचन अधिकृत हरि प्रसाद अर्यालका अनुसार इस्मा गाउँपालिकामा राप्रपाको तर्फबाट अध्यक्षको उमेद्वार धनिश्वर पन्थीले पहिलो पटक मनोनयन दर्ता गरे ।
त्यस्तै दोस्रो दलका रुपमा जनमोर्चाका रामेश्वर खत्रीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय इस्मा गाउँपालिकाले जनाएको छ । तेस्रो दलको रुपमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख बनेका चन्द्र बहादुर महत र उपप्रमुख गिता घिमिरे सहितको प्यानलले उमेदवारी दर्ता गरेको छन् ।
भने एमालेले चौथो दलका रुपमा मनोनयन दर्ता गरेको छ । एमालेको तर्फबाट गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला केशी सहितको प्यानलले उमेदवारी दर्ता गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend