साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार ३ ।
निर्वाचन आयोगले बदर मत कम गर्न सदरमुकाम तम्घासको चिदिचौरमा नमुना मतदान गरेको छ । नमुना मतदानमा ६७ मत खसेको थियो । खसेको मत मध्ये दुई पुर्ण र सात मत आंशिक रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
नमुना मतदान तथा स्थलगत अनुगमनको लागि निर्वाचन आयोगका उपसचिव चन्द्र बहादुर शिवाकोटीको नेतृत्वमा एक टोली आएको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीले पनि यस अघि दुई स्थानमा नमुना मतदान गरेको थियो । सत्यवति गाउँपालिकाको हँसरामा भएको नमुना मतदानमा ९६ मत खसेको थियो ।
जसमा सात मत आंशिक बदर भएको थिए । त्यस्तै मालिका गाउँपालिकाको अर्खबाङ्गमा पनि नमु्ना मतदान भएको थियो । खसेका एक सय दुई मत मध्ये एक पुर्ण र नौ मत आंशिक रुपमा बदरभएको निर्वाचन कार्यालयका प्रमुख गणेश बहादुर खत्रीले बताए ।
निर्वाचन आयोगको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा पनि सिकाएको थियो । महिला, पुरुष, अशक्त, वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो ।
स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिहरूलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सिर्जन गर्न खोजिएको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले बताए ।
गुल्मीका २ नगर र १० गाउँपालिका मध्ये दुई स्थानमा नमुना मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । गुल्मीमा १४ असारको चुनावका लागि एक लाख ८० हजार सात सय ७५ मतदाता छन् । निर्वाचन कार्यालयले निर्वाचनका लागि एक सय ४० केन्द्र निर्धारण गरेको छ । भने एक सय ३८ मतदान स्थल तय गरेको छ ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend