साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाली महिला समाज कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी २६ मे २०१७ शुक्रबारको दिनमा हुन गईरहेको मानवीय कार्यको संयोजकत्व समाजकी अध्यक्ष सुस्मिता भुसालले गरेकी छिन् ।
रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन । पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै नेपाली महिला समाजले पहिलो पटक रक्तदानको कार्यक्रमको आयोजना गर्न लागेको हो ।
स्मरण रहोस रक्तदान गर्न आउने दाताहरुले निम्न कुराहरुलाई ख्याल गर्नु पर्ने छ । रक्तदाताले आफ्नो परिचय पत्र लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्ने छ । बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्ने छ । एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टा भित्र मदिरा सेवन गरेको हुनु हुदैन । रक्त दान गर्दा खाली पेटहुनु हुदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने छन् । त्यसै गरि दाताको उमेर १८ देखि ६५ बर्षको भित्र रहनु पर्नेका साथै ५० किलो ओजन हुनु आवस्यक छ ।
रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई यस पुण्य कार्यमा सहभागी भई सहयोग गरिदिन अध्यक्ष भुसालले हार्दिक अपिल समेत गरेकी छिन् । रक्तदान कार्यक्रममा सहभागी हुन चाहने कसैलाई पनि बिस्तृत जानकारी चाहिएको खण्डमा नेपाली महिला समाजसँग आबद्द पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend