साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी चैत्र २१।
उजाड परिवेशमा हरेवाको हरियो क्वाङदी गाउँ चैत्रमा कांक्रो फलेको गाउँमै पहिलो पटक हो । केहि बर्ष अघि सम्म चन्द्रकोट गाउँपालिका वडा नं ६ हरेवाका कृषकहरु अन्नबालीलाई मात्र प्राथमिक ठान्थे । अहिले उनीहरुको परिवेश र कृषी कर्म फेरिएको छ । ‘पहिले अन्न नछरे अनिकाल पर्छ भन्थे,’ हरेवाका बिक्रम सिंह गुरुङले तरकारी देखाउँदै भने,अहिले घरबारी हरिया भएका छन् ।’
बिक्रम हरेवा मुल कृषक समुहका अध्यक्ष हुन् । मुल कृषक समुहमा आठ बटा अन्य समुह रहेका छन् । प्रत्येकले कुनै न कुनै किसिमको तरकारी खेती गरेका छन् । महेन्द्र प्रावि हरेवामा २२ बर्ष ६ महिना पढाएर अवकास पाएका गुरुङ अहिले व्यावसायीक कृषक हुन् । घर नजिकै सानो सानो जंगल नै बनाएका छन् गुरुङले । उनले पाँच रोपनी बारीमा टमाटर, काउली, खुसार्नी, सिमी, काँक्रो र लौका लगाएका छन् । डढे रोपनी जग्गामा क्वाङदी कृषक समुहले पनि काउली रोपेको छ ।
हेमलालले बिदेश बिर्सिए
केहि समय अगाडी चन्द्रकोट गाउँपालिका ६ हरेवाका हेमलाल सार्की मलेसियामा १२ घण्टा काम गर्थे । अहिले उनले मलेसियामा जस्तो १२ घण्टा काम गर्नु पर्दैन् । सार्की दुई बर्ष अघि मलेसियाबाट फर्केका थिए । अहिले उनले व्यावसायीक रुपमा तरकारी खेती गर्दै आएको छन् । ‘किसान परियोजनाको तालिममा गएपछि कृषी कर्ममा लाग्ने रहर जाग्यो,’ हेमलालले भने,‘ बिदेशमा दुखले कमाए जति परिवारसंगै घरमै कमाउँछु ।’ अहिले उनको तीन रोपनी खेत टमाटर, गोपी, काउली र फर्सिले भरिएको छ । ‘एक÷डेढ बर्ष भयो कृषी गर्न थालेको,’ उनले भने, ‘दुई लट बेचे रामै्र भयो ।’
त्यस्तै सोहि गाउँका श्याम क्षेत्रीलाई पनि परियोजनाले कृषी प्रति थप आशा जगाइदिएको छ । क्षेत्रीले पाँच रोपनी बारीमा टमाटर, काँक्रो र गोपी लगाएका छन् । टिप्ने अवस्थामा रहका क्षेत्रीको टर्नेका टमाटरले त्यहाँ पुग्नेहरुलाई प्रभावित बनाउँछ । उनी जस्तै हरेवा गाउँका थुप्रैले तरकारी खेती गरेका छन् । ‘पहिले धेरैले परिवारकै लागी कृषी गर्थे, अहिलेक केहि फले लिएर बजार दौडिन्छ्,’ क्षेत्रीले भने,‘ परियोजनाको कृषी साक्षरता कक्षाको प्रभाव हो ।’
कामैले प्राविधिक
हरेवा चिसापानीकी राधिका न्यौपाने किसानको घरमा घुम्दा घुम्दै अहिले प्राविधिक भइन् । अहिले उनलाई कृषकको घर र बारीमा नपुगी खाएको पच्दैन् । परियोजनाको स्थानीय सेवा प्रदायक (एल एस पी वन) पदमा रहेकी न्यौपानेले परियोजनाले नै उनलाई तालिम प्राप्त बनाएको छ । ‘किसानले खेतबारीमा बिउ जमाउँदाबाट म निगरानी गर्छु,’ उनले भनिन,‘उत्पादन भएर बजार पु¥याने बेलासम्म सहयोग दिएकी छु ।’ उनले धेरै समय गाउँमा कुरा बुझाउँनै गाह्रो भएपनि तालिम पछि सवैले कुरा भन्दा काम गर्ने बताइन् । ‘म पनि पहिले सामान्य किसान हुँ, अहिले सवैलाई जेटए जस्तै मान्छन्, न्यौपानेले भनिन,’परियोजना नै मेरो जीवनको अभिभावक हो ।’ परियोजनामा आवद्ध भएपछि न्यौपानेले ज्ञान सहित पाँच जनाको परिवार राम्रैसंग चलाएकी छन् ।
परियोजना सकियो आत्मबल बढ्यो
२०६९ सालमा जिल्लाका १५ गाविसमा संचालनमा रहेको परियोजनाको पहिलो फेज बैशाखमा सकिदै छ । ज्ञानमा आधारित एकिकृत दिगो कृषि तथा पोषण परियोजनाले जिल्लामा उन्नत कृषि उत्पादन, उन्नत बिउ तथा आधुनिक कृषी समाग्रीमा किसानको पहुंच बढाउने, कृषि प्रसारकर्ता र सेवा प्रदाय कृषकको क्षमता अभिबृद्धि गर्ने, कृषि बजार प्रणाली सुधारमा सहयोग पुराएको छ । साथै सरकारी एबं स्थानीय निकाय संघ संस्थाको क्षमता अभिबृद्धि गर्ने काम किसान परियोजनाले संचालन गर्ने परियोजना संयोजक निरञ्जन गुरुङ्गले जानकारी दिए । ‘परियोजना अप्रिलमा सकिने हो, कृषक निराश भन्दा उत्साहित छन्,’उनले भने,‘ परियोजनाले गरि खाने बाटो सिकाएको छ ।’
चक्रेश्वरी कृषी सहकारीकी अध्यक्ष लक्ष्मी तिवारीले परियोजना सकिएर गएपनि महिला दिदि बहिनीहरुको आत्म बल दरिलो बनाएर छोडेको बताइन् ।‘अभिभाव नहुँदा बच्चाबच्चीलाई केहि पीडा पर्नु स्वाभाविक हो,’तिवारीले भनिन,‘ परियोजनाले कृषीबाट केहि गर्छौ भन्ने सवैमा हिम्मत दिएको छ ।’ अनुगमनको शिलसिलामा हरेवा र शान्तिपुर पुगेका जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत रामचन्द्र पन्थीले धेरै प्रोजेक्ट नामका मात्र भएपनि परियोजनाको काम नै फिल्डमा देखिएको बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले परियोजनाको अनुपस्थितीमा पनि कृषी व्यावसाय फस्टाउँदै गए किसानको लागी त्यो नै प्रमुख काम हुने बताए । जिल्लाका अर्बेनी, अश्लेवा, गौडाकोट, ग्वादी, थानपति, शान्तिपुर, हर्मिचौर, हरेवा, हर्दिनेटा, हर्राचौर, बिरवास, दिगाम, बिश्वखर्क, रुरु, ठुलोलुम्पेकमा परियोजनाले कार्यक्रम संचालन गरेको छ । जिल्लाका एक सय ४४ वटा कृषि समुह र तीन हजार २५ घरधुरी परियोजनाबाट प्रत्यक्ष लाभाम्बित भएका थिए ।
फोटो क्याप्सन : किसान परियोजना मार्फत कृषी पेसामा अब्बल बन्दै चन्द्रकोट गाउँपालिका हरेवाका कृषकहरु:-

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend