साझा नेटवर्क
यज्ञमूर्ति तिमल्सिना,पाल्पा चैत १३ ।
इन्सेकको पहलमा पाल्पा जिल्लामा गठित मानवअधिकार निगरानी समूह सहित जिल्लामा क्रियाशील मानवअधिकारकर्मीहरुले पाल्पा जिल्ला अस्पतालमा खानेपानीको अभावमा बिरामी उपचार प्रभावित भएको भन्दै तत्काल पानीको ब्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल बिकास समितिको ध्यानाकर्षण गराएको छ ।

आइतबार अस्पतालमा पुगेर स्वास्थ्य कार्यालय प्रमुख डा. उमाशंकर प्रसाद चौधरी र अस्पताल बिकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्यलाई लिखित ज्ञापन पत्र बुझाइएको हो । पाल्पा जिल्ला अस्पतालमा खानेपानी अभावका कारण बिरामीहरुको उपचार सेवा प्रभावित भएको खबर बिभिन्न संचारमाध्यममा आएको छ । अस्पताल जस्तो सम्बेदनशील स्थानमा पानी अभाव हुनु राम्रो बिषय होइन । यसकारण तत्काल बिकल्प खोजी गरि २४ सैं घण्टा पानी बयवस्थापन गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदछौं । ज्ञापन पत्रमा उल्लेख छ ।
साथै अस्पतालमा दन्त सेवा बिशेषज्ञ रहेपनि दन्त सेवा प्रवाहका लागि आवश्यक उपकरण नभएकोले उपचार सेवा प्रभावकारी हुन सकेको छैन । यसर्थ मौजुदा बिशेषज्ञलाई आवश्यक पर्ने दन्त उपचार उपकरण तत्काल ब्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराउँदछौं । जिल्ला अस्पताललाई हरेक उपकरणबाट सुसज्जित गरि भरपर्दो अस्पतालको रुपमा ब्यवस्थित गर्न अनुरोध छ । ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा मानवअधिकार निगरानी समूह जिल्ला संयोजक भगवान भण्डारी, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानवअधिकार सरोकार केन्द्रका अध्यक्ष दिवाकर पाण्डे, मानवअधिकार तथा शान्ति समाज पाल्पाका सचिव टेक बहादुर ढेंगा, पाल्पा बिकास केन्द्रंका अध्यक्ष कृष्ण पोखरेल, कोक्याप क्षेत्रीय संयोजक राजेन्द्र बस्याल लगायतले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्र बुझ्दै जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले कार्यालयको तर्फबाट अस्पतालमा पानीको ब्यवस्थापनमा तत्काल पहल गरिने बताए । अस्पताल बिकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्यले अस्पतालमा पानी ब्यवस्थापन सहित अन्य उपकरणहरु थप गर्ने प्रतिबद्धता जनाए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend