logo
  • शुक्रबार, असोज ९ २०८३

शिखरको “अवतार” घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, फागुन २७।
लेखक तथा पत्रकार शिखर घिमिरेको उपन्यास अवतार प्रकाशन हुने भएको छ । बिहिबार सामाजिक सन्जालमा लाइभ कन्भर्सेसन विथ शिखर अन अवतार कार्यक्रममार्फत् चैतको अन्तिम सातासम्म उपन्यास आउने घोषणा गरिएको हो । कार्यक्रमबाटै उपन्यासको टिजर र कभर पनि सार्वजनिक गरियो ।
अर्का लेखक तथा पत्रकार राजेन्द्र पराजुलीसँग फेसबुक लाइभ कुराकानी गर्दै शिखरले भने, “मैले यो उपन्यासमा नयाँ प्रयोग गरेको छु, सामाजिक–राजनीतिक विषयमा आधारित उपन्यास भएकाले यसले पाठकहरुबाट न्यानो सत्कार पाउनेमा विश्वस्त छु ।” के पछिल्लो समय नेपाली उपन्यास लेखन मनोटोनस भएको हो भन्ने पराजुलीको प्रश्नमा शिखरले भने, “पक्कै पनि ।

अहिले नेपाली उपन्यास लेखनमा नयाँ प्रयोग गरिएको छैन, ५० को दशकमा जस्तो लेखनलाई प्राथमिकता दिइएको थियो, यतिका वर्षपछि पनि नेपाली लेखकहरु त्यही प्रक्रिया दोहोराइरहेका छन् । त्यसैले हाम्रो साहित्य अन्तर्राष्ट्रिय स्तरमा विकास हुन सकेको छैन । तर, यसो भन्दै गर्दा अहिले केही लेखिएको छैन भन्ने पनि होइन ।” कार्यक्रममा पराजुलीको अर्को प्रश्न थियो– पाठकले उपन्यासको भीडमा आएको अवतार किन पढ्ने ?

शिखरले यसको जवाफ दिए, “किनकि मैले उपन्यासमा प्रयोग गरेको छु, जुन अहिलेको पाठकलाई पठनमा राम्रो खुराक हुनसक्छ । लेखन र कल्पनामा कति राम्रो प्रयोग गर्न सकिन्छ भन्ने थाहा पाउन पनि यो अध्ययन गर्नु आवश्यक हुन्छ भन्ने मलाई लाग्छ ।’ शिखरले थपे, “म जीवन लेखेर उपन्यास हो भन्ने कुरामा विश्वास गर्दिनँ ।

दुःखालाप, आत्मालाप र यौनालाप उपन्यासका विषय हुनु हुँदैन, उपन्यासमा त प्रयोग हुनुपर्छ ।” उपन्यास अवतारको प्रकाशक फिनिक्स बुक्स हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend