साझा नेटवर्क
पाल्पा, फागुन २३ ।
इन्सेकको पहलमा चापपानी र खानीगाउँ गाविसमा गठन भएका मानवअधिकार निगरानी समूहले गाविस स्तरको समस्या पहिचान गर्दै सरोकारवाला पहिचान गरेका छन् । गाविस भित्र शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा रहेका समस्या र ती समस्याहरुको समाधानका लागि गर्न सकिने पहल बिषयमा छलफल भएको थियो । मानवअधिकार निगरानी समूहले संचालन गर्ने कार्यक्रमका लागि बजेट सहितको कार्यक्रम समेत बनाइएको छ ।
सो अवसरमा चापपानी र खानीगाउँ गाविसका बिद्यालयमा स्तरमा अभिभावक, बिद्यार्थी र शिक्षकहरु बीच अन्र्तक्रिया गरि जंकफुड निषेध अभियानलाई सार्थक बनाउनुपर्ने, नीजि स्रोतका शिक्षकहरुलाई तलव खुवाउन समस्या हुने गरेको, कतिपय बिद्यार्थीले गरिबीका कारण बीचमै कक्षा छोड्नुपर्ने अवस्था रहेको, बालक बालिका सौंचालयको ब्यवस्थापनको समस्या रहेको लगायतका सवालहरु उठेका थिए । त्यस्तै स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकीहरुप्रति सेवाग्राहीको आकर्षण कम हुँदै गएको, पर्याप्त औषधी र उपकरणको अभाव रहेको, खानीगाउँ गाविसको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको आवश्यकता रहेको लगायतका समस्याहरु उठान भएका छन् ।
चापपानी गाविस स्तरीय मानवअधिकार निगरानी समूहका संयोजक रणप्रताप खाँण, स्वास्थ्य चौकीका प्रतिनिधि मोहन घिमिरे, पशु सेवा केन्द्रका प्रमुख अमर कार्की, सामाजिक परिचालक सुमन बस्याल सहित बिद्यालयका प्रतिनिधि, मानवअधिकार निगरानी समूहका सदस्यहरु लगायतले आ–आफ्नो धारणा राखेका थिए । खाद्यअधिकारको क्षेत्रमा कृषि र पशु सेवा केन्द्र मार्फत सेवा प्रवाहका लागि प्राविधिक जनशक्ति पर्याप्त नभएको, थोरै कर्मचारीले धेरै गाविस समेट्नु पर्ने अवस्था रहेको लगायतका समस्याहरु उठान भएका छन् ।
खानीगाउँ गाविसमा भएको कार्यक्रममा गाविस सचिव हरिप्रसाद बस्याल, स्वास्थ्य चौकी प्रमुख जीवलाल बस्याल, बिद्यालयका शिक्षिकाहरु, बालअधिकार चेतना समूहका प्रतिनिधि, निगरानी समूहका प्रतिनिधि लगायतले आआफ्नो धारणा राखेका थिए । इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले यसरी उठेका सवालहरुलाई जिल्ला स्तरीय सरोकारवालाहरुसँगको बैठकमा लैजाने र समस्या समाधानका लागि पहल गरिने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend