साझा नेटवर्क
सुवास विश्वकर्मा, पाल्पा फागुन ७ ।
तानसेन नगरीको पर्यटकिय स्थल श्रीनगर डाँडामा हवाई यात्राको सम्भाव्य अध्यायनको काम सुरु गरिएको छ । सामुन्द्रिक सतहदेखि करिब १३३१ मिटरको उचाईमा रहेको श्रीनगरडाँडामा प्रारम्भिक सम्भाव्यताका लागि नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकृत मीनराज ओझाको नेतृत्वमा आएको प्राविधिकको समुहले श्रीनगरडाँडाको नाप नक्साको साथै स्थलगत निरीक्षण गरेका थिए ।
पाल्पा जिल्लाका सांसद् हरि प्रसाद नेपालको पहलमा श्रीनगरडाँडामा विमानस्थल निर्माणको लागि पहिलो चरणको सम्भाव्यता अध्यायनको कामका लागि शुक्रबार प्राविधिक टोली श्रीनगर आएको हो । प्राविधिक रुपमा उपयुक्त भए अगामी वर्षदेखि नै विमानस्थल निर्माणको काम थालिने सांसद् नेपालले जानकारी दिए ।
विश्वमा परिचित पर्यटकीयस्थल पोखरा तथा धार्मिकस्थल लुम्विनीको विचमा अवस्थित पाल्पाको सदरमुकाम तानसेनको पर्यटकीय महत्वको कारणले गर्दा तानसेन नगरपालिका नमूना शहरको रुपमा मानिन्छ । यसै शहरको मुकुटको रुपमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ जहाँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण जस्ता विश्व प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको पाल्पामा आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको र अन्य प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेको छ ।
सिद्धार्थ राजमार्गले यस जिल्लाको विकासको ढोका खोलेको छ । यसका अतिरिक्त आर्यभंज्याङ्ग–रामपुर, वाँसटारी–झडेवा, तानसेन–दर्लमडाँडा, हार्थोक–छहरा र तानसेन–रिडी जस्ता जिल्ला सडकहरुले पाल्पाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend