logo
  • शनिबार, साउन ३० २०८३

महामन्त्री सिंहको स्वास्थ्यमा क्रमिक सुधार


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, माघ १९।
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको नेकपा (मसाल) को केन्द्रीय कार्यालयले जनाएको छ । लामो समयदेखि मधुमेहबाट पीडित रहनु भएका महामन्त्री सिंहलाई मुटु, फोक्सो र किड्नीमा समेत समस्या देखिएपछि २०७३ माघ १४ गते काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । नेकपा (मसाल) केन्द्रीय कार्यालयकातर्फबाट प्रवक्ता विमल शर्माले १६ माघमा एक प्रेस वक्तव्य जारी गर्दै महामन्त्री सिंहको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको जानकारी गराउनु भएको छ ।
प्रवक्ता शर्माद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ– “नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री का. मोहन विक्रम सिंहलाई लामो समयदेखि सुगरको रोग लागेको थियो । अहिले केही दिनदेखि मुटु, फोक्सो, किडनीमा केही समस्या देखिएकाले ग्रान्डी हस्पिटल, काठमाडौँमा भर्ना हुनु भएको छ । हाम्रो पार्टीका नेता, कार्यकर्ता, परिवार र शुभचिन्तकहरूमा हामी यो जानकारी पनि दिन चाहन्छौँ कि उहाँको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको छ । त्यसका साथै हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । प्रवक्ता शर्माले हाँकसँगको प्रतिक्रियामा महामन्त्री सिंहको उपचारमा लाग्ने खर्च पार्टीका समिति, मोर्चा र शुभचिन्तकहरूबाट जुटाउने पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले ग्रान्डी अस्पताल पुगेर महामन्त्री सिंहको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारकातर्फबाट ब्यहोर्ने बताएको समाचारबारे जिज्ञासा राख्दा प्रवक्ता शर्माले भन्नु भयो– “हामीले त्यसरी सरकारले दिने सहयोग लिने छैनौँ । सरकारमा बसेर आफ्ना नेता, कार्यकर्तालाई अनुचित तरिकाले देशको ढुकुटीबाट सहयोग रकम वितरण गरेकै कारण जनतामा त्यसबारे नकारात्मक प्रभाव परी रहेको सन्दर्भमा अहिले सरकारबाट त्यसरी सहयोग लिनु हामीलाई बाञ्छित लागेन र नै हामीले महामन्त्री सिंहको उपचारमा लाग्ने खर्च पार्टीका समिति, मोर्चा र शुभचिन्तकहरूबाट जुटाउने समझदारी गरेका छौँ ।

ग्रान्डी अस्पतालमा डा. विवेक शर्माको नेतृत्वमा डा. राजु पौडेल, डा. महेश महर्जन, डा. सन्देश पन्थी र डा. रवि महतले महामन्त्री सिंहको उपचार गरी रहनु भएको छ । उपचारमा संलग्न डाक्टरहरूले पनि महामन्त्री सिंहमा देखिएका समस्याहरू क्रमशः ठीक हुँदै गएको र अवको केही दिनमै डिस्चार्ज गर्न सकिने बताउनु भएको छ । “अरू रोगहरू लगभग नियन्त्रणमा आएका छन्, अब खानामा रुचि जाग्ने र विकनेस (कमजोरी) हट्ने बित्तिकै डिस्चार्ज गर्न सकिन्छ” उपचारमा संलग्न डाक्टरहरूको भनाइ उद्धृत गर्दै महामन्त्री सिंहकी श्रीमती दुर्गा पौडेलले बताउनु भयो ।

पौडेल महामन्त्री सिंहको रेखदेख गर्दै ग्रान्डी अस्पतालमै नियमित बस्नु भएको छ । उहाँले बताउनु भए अनुसार महामन्त्री सिंहलाई खानामा रुचि नभएको २ महिना भई सकेको थियो । उहाँले खाना रुच्ने औषधि नियमित खाई रहनु भएको थियो । तर माघ ८ गते एक्कासी उच्च ज्वरो आएपछि उहाँलाई उपचारका लागि ग्रान्डी अस्पताल पुर्याइयो । डा. सञ्जय कुमार गुप्ताले चेकजाँच गरी ज्वरो नियन्त्रण गर्न औषधि र दिनु भयो तर ५ दिनसम्म औषधि खाँदा पनि ज्वरो नियन्त्रणमा नआएपछि १३ माघमा फेरि ग्रान्डीमा लगियो । डा. सरोजले पुरानो औषधि बदली एन्टी बायोटिक सुरु गर्न लगाउनु भयो ।

यो औषधि सेवन गर्न थालेपछि दुई/दुई घण्टामा आउने ज्वरो केही नियन्त्रणमा त आयो तर पूर्ण नियन्त्रण हुन सकेन । त्यसपछि महामन्त्री सिंहलाई उहाँले नियमित चेकजाँच गरी रहने ठाउँ जावलाखेल डा. मिनी गिरीकहाँ पुर्याइयो । त्यहाँ चेक गर्ने क्रममा फोक्सोमा पानी जमेको र मुटुको भल्ब समेतमा लिकेज देखिएपछि महाराजगञ्जस्थित मनमोहन मेमोरियल कलेजमा पुर्याइयो र त्यहाँ डा. भगवान कोइराला समेतले चेकजाँच गर्नु भयो । आखिर डा. भगवान कोइरालाकै सल्लाहमा माघ १४ गते महामन्त्री सिंहलाई उपचारका लागि ग्रान्डी अस्पतालमा पुर्याई भर्ना गरियो ।

ग्रान्डी अस्पतालमा भर्ना गरेको पाँच दिनमा महामन्त्री सिंहको स्वास्थ्य क्रमिक सुधार आएको छ । डा. विवेक शर्माको नेतृत्वमा रहेको डाक्टरहरूको टोली उहाँको उपचारमा अहोरात्र खटिएको छ । “अहिले उहाँको स्वास्थयमा धेरै सुधार आई सकेको छ ।” महामन्त्री सिंहकी श्रीमती दुर्गा पौडेलले भन्नु भयो– “अहिले बोमिट पनि रोकिएको छ । तीन दिनदेखि ज्वरो आएको छैन । निद्रा पनि लागेको छ । आशा गरौँ, खानामा रुचि जाग्ने र विकनेस हट्ने पनि चाँडै हुने छ ।

महामन्त्री सिंह बिरामी भई ग्रान्डीमा उपचाररत रहेको थाहा पाएपछि राजमो अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी, प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी–माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, नेपाली काङ्ग्रेसका नेता तारणीदत्त चटौत, नेकपा (माओवादी–केन्द्र) का नेताहरू नारायण काजी श्रेष्ठ, लीलामणि पोख्रेल, अमिक शेरचन, दिनानाथ शर्मा लगायतका नेताहरू अस्पताल पुगी भेटेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनु भएको समेत दुर्गा पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend