साझा नेटवर्क
काठमाडौं, माघ ११ ।
रोजगारीका लागि भारत जान अनुमति पत्र लिनु पर्ने भएको छ । बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ । मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् ।
अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् । अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने प्रधानमन्त्रीले बताए ।उनका अनुसार भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ ।
यो अनुमतिपत्र दिनु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । यसरी जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ । र कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् ।
५ लाखको घातक रोग बीमा थपियो
प्रधानमन्त्रीले बैदेशिक रोजगारीका लागि जानेहरुको बीमामा ५ लाखको घातक रोग बीमा थप गरेको घोषणा गरे । हाल १० लाखको म्यादी जीवन बीमा छ । क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ । माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत ५ लाख बीमांक बराबर बीमा हुने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।
अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ । साथै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । बैदेशिक रोजगार प्रवद्धर्न बोर्डबाट ३ लाख र घातक रोग बापत ५ लाख गरी कुल १८ लाखसम्म पाउन सक्नेछन् ।
यसअघि नै बीमा गरिएको तर, म्याद नसकिएकाहरुको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्था बमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने प्रधानमन्त्रीले जानकारी दिए । खाडीसहितका सबै मुलुकहरुलाई बैदेशिक रोजगारीमा गएका नेपालीहरु सुरक्षित हुनुपर्छ भनेर सरकारले ठोस पहल गरिरहेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend