logo
  • शनिबार, साउन ३० २०८३

अर्थमन्त्री महराकै सेटिङमा अवैध ​सुन तस्करी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, पुष २६।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैध रुपमा भित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बरामद गरेपछि धेरै रहस्यहरु एकपछि अर्को गरी खुल्न थालेका छन् । अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयात हुने गरेको श्रोतको दाबी छ ।

३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले केही महिनायता ३ सय किलो सुन नेपालमा विमानस्थलबाटै ल्याएको बयान दिएपछि उक्त सुन तस्करीमा अर्थमन्त्री महराको नाम जोडिएको हो । अवैध सुन ल्याउने को को हुन् भन्ने कुरा सरकारले भन्सारका कर्मचारीलाई कडा कारबाही गर्ने हो भने यसको रहस्य खुल्छ । सरकारका माथिल्लो तहका सबैलाई सुनतस्करबारे थाहा छ । तर सुनतस्करीको जालो अर्थमन्त्रीसँगै जोडिएकाले भरिया शाही पक्राउ परे पनि सुनका वास्तविक मालिक गुमनाम छन् ।

मुख्यतः भन्सार कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट अवैध रुपमा सुन आइरहेको कुरामा दुईमत छैन । स्रोतका अनुसार विमानस्थल भन्सारमा सुन तस्करीको सेटिङ मिलाउनकै लागि अर्थमन्त्री महराले माओवादी समर्थक सहसचिव नारायण सापकोटालाई प्रमुख भन्सार प्रशासकका रुपमा दुई महिनाअघि सरुवा गरेका हुन् । महराका छोरा निर्मल महरा ‘एटम’ र निजी सचिव नेत्र पौडेलको डिजाइनमा सुन तस्करी गर्नकै लागि सापकोटालाई एयरपोर्ट पठाइएको हो ।

गोपाल शाहीले ३ सय किलो सुन भित्र्याएको बयान दिए पनि अर्थमन्त्रीमा महरा आएपछि त्यो भन्दा ठूलो परिमाणमा सुन आएको स्रोतको दाबी छ । सीआइबीले भन्सारबाट पार भइसकेपछि बरामद गरेको सुन बरामद गरेको घटनाले पनि यसमा अर्थमन्त्री महरा तानिएका हुन् । माथिल्लो तहको सेटिङबिना एक जना भन्सार प्रमुखले मात्रै यति ठूलो परिणामको सुन तस्करी गर्ने ऑट गर्दैनन् ।

यस घटनापछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २९ कर्मचारीलाई जिम्मेवारीबाट अलग गरिएको भन्सार विभागले जनाएको छ । तर सीआइबीका अधिकारी भन्छन्, अवैध सुन आयातमा मुख्य दोषी भन्सारका कर्मचारीलाई भ्रष्टाचार र संगठित अपराधमै कारबाही गर्नुपर्छ अनिमात्र यस्ता क्रियाकलाप नियन्त्रण हुनसक्छ । अवैध सुन आयातमा पक्राउ परेका गोपाल शाही, सन्तोष काफ्ले र दिनबन्धु थापालाई सीआइबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

संगठित अपराध पुष्टी भएमा १५ बर्षसम्म कैद हुनसक्छ । एयरपोर्ट भन्सारमा लामो समयदेखि कार्यरत रेडियो टेक्निसियन विन्दुकाजी महर्जन, तथ्यांक अधिकृत श्रीनारायण यादव र प्रमुख भन्सार अधिकृत टंक पौडेलले नै सुन तस्करीमा सेटिङ गर्दैआएको खुलेको छ । दरबन्दीविनाका रेडियो टेक्निसियन महर्जनले एक्सरे मेसिनमा सुन आउने समयमा बसेर पार गराउने गरेका थिए भने श्रीनारायण यादवले प्रहरी मिलाउने गरेका थिए । टंक पौडेलले भन्सार विभागदेखि अर्थमन्त्रालयसँग समन्वय गर्दै आएका थिए ।

तीन महिनाको सीसीटीभी फुटेज हेर्ने हो भने अवैध सुन भित्र्याउनेमा उनीहरुको संलग्नता पुष्टी हुनेछ, स्रोत भन्छ, महर्जन र यादवलाई निजामती सेवा ऐन विपरीत १५ बर्षदेखि एयरपोर्टमा राख्ने काम मन्त्री महराका निजी सचिव नेत्र पौडेलले गर्दैआएको खुलासा भएको छ । नेत्र पौडेलले पटकपटक महर्जनको सरुवा रोकेको भन्सारका कर्मचारी बताउँछ्न । (दृष्टि साप्ताहिक)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend