साझा नेटवर्क
काठमाण्डौ, मंसिर २२ ।
आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका दुई बालिकाका लागि देश–विदेशबाट थप २ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समूदायसँग उठाएर पठाएको १ लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाण्डौमा संकलन गरेको २९ हजार रुपैयाँ ती बालिकालाई सहयोग गरिएको हो ।
संकलित रकम काठमाण्डौमा एक समारोहका बीच गुल्मी क्षेत्रनंबर ३ का सांसद गोकर्ण बिष्टले बालिकाका गाउँले एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गर्नुभयो । ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ दिएको सहयोगको संयोजन गरेका पत्रकार मदन खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा सांसद बिष्टले बालिकाको पठन पाठनको व्यवस्था मिलाउने घोषणा गर्नुभयो । ३६ वर्षकी दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर मंसिर तीन गते मृत्यू भएपछि १३ वर्षीया संगीता र एघार वर्षीया रमिता किरिया बसेका थिए ।
आमाको कमजोर आर्थिक अवस्थाका कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाईएको थियो । बालिकाका पिता दुर्गा भुसाल बेरोजगार हुनुहुन्छ भने अरु दुई बहिनी पनि साना छन । कात्तिक २० गते जन्मिएकी बालिकाको स्थानीय विश्व भुसालले जिम्मा लिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend