साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर ९ ।
आमाको मृत्युपछी काजकिरिया बसेका छोरी १३ वर्षकी संगिता र ११ वर्षकी रमितालाई सहयोग प्राप्त भएको छ । गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेको खबर बाहिर आएसगै उनिहरुलाई तत्कालको लागी काठमाडौमा रहेका कलस बहुउद्धेय कोषाध्यक्ष राम महर्जनले तत्काल किरियाखर्चको लागी रु ५ हजार सहयोग गरेका छन् ।

महर्जनले परिवारमा आर्थिक समस्या भएको भन्ने खबर पाउनसाथ तत्कालै परिवारलाई राहतको लागी भन्दै उक्त रकम सहयोग गरेको बताए । महर्जनले दुइवटा छोरीलाई कक्षा १० सम्म निशुल्क रुपमा पढाउने ब्यबस्था मिलाउन परिवारजन संग आग्रह गरेका छन् ।
पुर्काेट दह–१ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि दुई छोरीहरू किरियामा बसेका हुन् । उनीहरू अहिले आमाको किरियामा मात्रै छैनन् आमालाई दागबत्ती दिने र घाट सम्म बोक्नको लागि समेत सहयोग गरेका थिए । कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गते देखि विरामी परेकी थिइन् ।
मंसिर तीन गते उपचारको क्रममा उनको निधन भएको थियो । ‘पक्षघातको कारण उहाँको निधन भएको हो । ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको कुँवरले बताए । उनले आफ्नो जीवनको अन्तिम क्षणमा जन्माएकी नावालीका छोरीलाई भने एक जनाले स्थानीयले धर्म छोरी बनाएर पाल्छु भनेर लगेका छन् ।
दुर्गा कुमारी सुत्केरी भएको चार दिन पछि बार्या तर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन । आर्थिक अभावको कारणले उनलाई कतैपनि उपचार गर्न लगिएको थिएन । स्थानीयका अनुसार उनलाई सिकिस्त भएपछि उपचारको लागि अर्घाखाँचीको सदरमुकाम संन्धिखर्क र त्यहाँबाट बुटवल प–याइएको थियो ।
उपचारका लागि बढीनै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसकेको हो । दुर्गा प्रसाद र दुर्गा कुमारीको परिवार गाउँकै गरिव मध्यको एक परिवार रहेको स्थानीयहरूले बताउँछन् । दुर्गा प्रसादको कुनैपनि आय आर्जनको बाटो छैन । अहिले १३ दिनको काम गर्नको लागि समेत सहयोग संकलनको काम भइरहेको शिक्षक बोम बहादुर कुँवरले बताए ।
‘उहाँहरूसँग सम्पत्तिको नाममा गोठमा एउटा भैंसी छ,’ कुँवरले भने, ‘अहिले अलिकति संकलन गर्न सक्यौं भने बच्चिहरूले पढ्दा राहत महशुश त गर्लान । दुर्गा कुमारीको परिवार गरिव भएकै कारणले दाजु भाईले किरिया समेत गर्दिन नमानेको उनको भनाइ छ । घर व्यवहार र अरु व्यवस्थापनका लागि श्रीमानलाई किरियामा नराखिएको उने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend