साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर ८ ।
किसानहरुलाई दक्ष र आधुनिकीकरण सहितको कृषि पेशा व्यवसाय सञ्चालनका लागि आज एक दिने प्रशिक्षण तालिम दिइएको छ । बुर्तिबाङ गाउँ विकास समितिमा गठन भएको कृषि विकास समितिको आयोजना तथा कृषि सेवा केन्द्रको सहजीकरणमा प्रशिक्षण सम्पन्न भएको छ ।
बुर्तिबाङ गाउँ विकास समितिका सबै वडामा रहेको अगुवा कृषककालागि आयोजना गरिएको तालिममा कृषि पेशालाई कसरी व्यवसायीकिकरण गर्न सकिन्छ, परम्परागत कृषि पेशाबाट आधुनिक कृषि प्रणालीको अवलम्वन तथा खेती पद्धतीको सुधार, उन्नत जातको वीउविजनको प्रयोग र पशुपालनका सवालमा प्रशिक्षण गरिएको छ । प्रशिक्षणको कृषि सेवा केन्द्र बुर्तिबाङकी ना प्रा स सरिता घिमिरे र पाराभेटेनरी अन्तरगताका पशु स्वास्थ्य प्राविधिक पुर्ण प्रसाद भुसालले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा गाविसका ९ वटै वडाका अगुवा किसानहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रम अघि भएको उदघाटन कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कृषि पेशालाई समय अनुसार बैज्ञानिक, आधुनिकिकरण र व्यवसायीक बनाउनु पर्नेमा जोड दिएका छन् । उक्त अवसरमा नेपाली काँग्रेसका बानबहादुर छन्त्यालले, कृषि पेशा कसरी बचाएर राख्ने भन्ने सवाल खडा भएको भन्दै यसलाई कृषकहरुले समय अनुसार आधुनिकिकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
यस्तै अनुगमन समितिका संयोजक गुञ्जबहादुर भण्डारीले पनि देश कृषि प्रधान देश भनिएपनि कृषि पेशा गर्नेहरु कम हुँदै जानु दुखद कुरा भएको बताउनुभएको छ । राष्यिट्रय जनमोर्चाका तर्फबाट बोल्दै दुर्गादेवी घर्ति मगरले, किसानहरुलाई आवश्यक परामर्श र उपकरणहरु खरिद गरि दिएमा किसानहरुले बढी लाभ लिनसक्ने बताउनुभयो । यता नेकपा क्रान्तिकारी माओवादीका बीरबहादुर विश्वकर्माले भने, कृषि प्रधान मुलुकको सरकार र त्यसका मन्त्रीहरु नेपालको कृषि प्रणलीलाई कसरी उकास्ने भन्ने कार्यक्रम नै बनाउन नसक्ने भएकाले देशको कृषि पद्धतिको सुधार हुन नसकेको बताउनुभएको छ ।
यस्तै वडा नागरिक मञ्च वडा नं. ३ का संयोजक तथा वागवानी कृषि समुहका अध्यक्ष तमबहादुर घर्तिले, किसानलाई कस्तो भुगोल र माटोका के खेति लगाउँदा उत्पादन बढ्छ भन्ने ज्ञान नहुँदा कृषि उत्पादनमा समस्या भएको बताउनुभएका छ । कार्यक्रममा गाउँ विकास समितिका सहायक कर्मचारी चुडामणी भुसाल, रेडियो ढोरपाटनका छविलाल पाण्डे, बुर्तिबाङ एफएमका कृष्ण कँडेल लगायतले बोल्नुभएको थियो ।
कृषि विकास समिति बुर्तिबाङका उपाध्यक्ष टेकलाल पाण्डेको अध्यक्षता, कोषाध्यक्ष विष्णु विकको स्वागत तथा डिलबहादुर कुमालको सञ्चालनका कार्यक्रम सम्पन्न भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend