साझा नेटवर्क
कविता घर्ति मगर, पोखरा कार्तिक २६।
आउँदो मंसिरमा आयोजना हुने राष्ट्रिय औधोगिक व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’ नामक गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २३ देखि पुस ४ गतेसम्म पोखराको नयाँ बजारमा हुने राष्ट्रिय औधोगिक व्यापार मेलाको क्रममा आयोजना हुने सो प्रतियोगिता विशुद्ध गायन प्रतियोगिता हुनेछ ।
देशका जुनसुकै ठाउँका प्रतिभावान गायक कलाकारले भाग लिन सक्ने प्रतियोगिताको विजेताले १ लाख नगद र दोस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार र विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । प्रतियोगितामा वरिष्ठ कलाकार श्यामसुङ तामाङसहितका कलाकारहरुले प्रतियोगीको मूल्याङ्कन गर्नेछन् ।
राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रम अन्तर्गत नै ‘पिसिसिआई सिङ्गिङ स्टार’ समेत समावेश गरिएको साँस्कृतिक उपसमिति संयोजक तथा संघका कोषाध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिनुभयो । नयाँ कलाकारलाई अवसर प्रदान गर्न तथा मेलामा नयाँपन दिने उदेश्यले यो पटकको मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’ समावेश गरिएको उहाँको भनाई रहेको छ ।
प्रतियोगितामा भाग लिन चाहनेहरुको लागि संघको सचिवालयबाट फाराम बितरण भइरहेको र मंसिर २० गतेसम्म संघको सचिवालय गैह्रापाटनबाट फाराम लिन सकिने उहाँले बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघको नियमित कार्यक्रम राष्ट्रिय औद्योगिक व्यापार मेलालाई थप मनोरञ्जनात्मक बनाउन मेलामा पहिलो पटक रेस्लिङ पनि समावेश गरिएको उहाँले बताउनुभयो ।
यसैगरी यो पटकको मेलामा राष्ट्रिय स्तरको फेसन सो, ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती, शारिरीक सुगडनको अलावा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिने कोषाध्यक्ष प्रजापतिले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend