साझा नेटवर्क
बिमल खड्का, बागलुङ कार्तिक २४।
बागलुङमा स्थानीय तह पुनर्संरचनामा आफूहरुलाई पायक पर्ने भूगोल र गाउँ विकास समितिहरुलाई समेटी गाउँपालिका र नगरपालिका बनाइनु पर्ने आआफ्नै माग राखी बागलुङ पश्चिमका ३ ओटा डेलिगेसन टोली आज पनि बागलुङमा भेटघाट र छलफलमै व्यस्त भएका छन् ।
स्थानीय तह पुनर्संरचना आयोग अन्तरगत जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा ल्याएको प्रस्तावप्रति असन्तुसष्ट जनाउँदै डेलिगेसन टोलीहरु बागलुङ पुगेका हुन् ।मितिले प्रस्तावित गरेको इलाका नं. १० का चार गाउँ विकास समिति सहित भीमगिठे र राजकुतलाई समेटी ६ गाविस रहने गरि बुर्तिबाङ नगरपालिकाको प्रस्ताब बाहिर ल्यापछि बुर्तिबाङमा सर्वदलीय निर्णय गरि बुर्तिबाङलाई गाउँपालिका नभएर प्रस्तावित भूगोललाई नै नगरपालिका घोषणा गरिनु पर्ने माग सहित सांसद ज्ञान कुमारी छन्त्यालको नेतृत्वमा बुर्तिबाङको डेलिगेसन टोली माग पत्र सहित बागलुङ पुगेको छ ।
उता भीमगिठे, रणसिंहकिटेनी, दर्लिङ र ग्वालीचौर लगायतका गाविसलाई समेटी भीमगिठे केन्द्र रहने गरि छुट्टै गाउँपालिकाको माग गरि नेपाली काँगे्रसका दिपेन्द्र के.सी, नेकपा एपालेका कृष्ण भट्टराई दर्लिङबाट नेपाली काँग्रेसका सभापति भरत के.सी. ग्वालीचौर बाट नेकपा माओवादी केन्द्रका राजिव घिमिरे लगायतको नेतृत्वमा अर्काे डेलिगेसन टोली पनि सोमबार नै बागलुङ पुगेको थियो ।
त्यसैगरि नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भूमिकर्ण घर्तीको नेतृत्वमा अधिकारीचौर, बोबाङ र निसीलाई छुट्टै गाउँपालिका बनाइनु पर्ने माग सहित डेलिगेसन टोली बागलुङ पुगेर माग पेश गरेको छ । सबै डेलिगेसन टोलीले शीर्ष नेतृत्व र जिल्ला प्राविधिक समितका पदाधिकारी तथा स्थानीय विकास अधिकारीलाई भेटी आआफ्ना माग राखे पनि अन्तिम टुङ्गो भने अझै लाग्न सकेको छैन ।
जिल्ला प्राविधिक समितिले यसभन्दा अगाडि गरेको देविस्थान, बोहरागाउँ र निसी गाविसलाई समेटिएको निसीखोला गाउँपालिकामा राजकुतलाई समेत समेटी ४ गाविसको गाउँपालिका बनाउने कुरामा दलहरु लगभग अन्तिम सहमतीमा पुगेको बताइएको छ ।
त्यसै गरि बुर्तिबाङलाई पहिलेकै प्रस्तावित भूगोल एवं गाविसहरुलाई समेटदा नगरपालिका बन्न नसकेमा खुंखानी, बोंगादोभान र खुँगा गाविसलाई समटी बुर्तिबाङ नगरपालिका बनाउने कुरामा छलफल भई शीर्ष नेतृत्वहरु सकारात्मक रहेको बताइएको छ । आज जिल्ला विकास समितिको भवन बाहिर जिल्लाका ८ भन्दा बढी डेलिगेसन टोलीहरु आआफ्नै माग राखि चर्काे नाराजुलुस समेत गरेका छन् ।
सबै डेलिगेसन टोली र शीर्ष राजनीतिक नेतृत्वबीच छलफलहरु भई रहेको र सबैको माग सुनुवाई भईरहेकाले सबैको सहमतीबाट अन्तिम टुङ्गो लगाइने स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताउनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend