साझा नेटवर्क
नरेश के.सी. भैरहवा, कार्तिक २२ ।
आर्थिक अभावको कारण उपचार समस्यामा परेकी रोल्पाकी सुनकुमारी नेपालीको युसीएमएस भैरहवामा आइतबारदेखी उपचार तिब्र रुपमा हुन थालेको छ । आर्थिक अभावको कारण उपचार पद्धतीमा समस्या देखिएको जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबको नेतृत्व युसीएमसमा पुगी विरामी, विरामी कुरुवा र अस्पताल प्रशासनलाई भेटी उपचारमा लाग्ने सबै खर्चको व्यवस्थापन क्लबले गर्ने जिम्मेवारी लिएको हो ।

क्लबका अध्यक्ष माधब ढुंगानाको नेतृत्वमा गएको टोलीले अस्पतालका प्रशासन प्रमुख अजय कुमार पि.एसलाई भेटी सुनकुमारीको उपचारमा पैसाको कारण कुनै कसुर नराख्न आग्रह गरेको छ । प्रेस क्लबको टोलीले सुनकुमारीको उपचारमा लाग्ने सबै खर्चको व्यवस्थापन क्लबले गर्नेगरी उपचारलाई तिब्रता दिनेगरी अस्पताल प्रशासनसंग सम्झौता समेत गरेको छ ।

क्लबका प्रतिनिधी मण्डललाई आश्वस्त पार्दै युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत अजय कुमारले सुनकुमारीको उपचारमा कुनै कसुर नराखी उपचार द्रूत गतिमा गर्न उनको उपचारमा खटिएको चिकित्सीय टोलीलाई निर्देशन दिएको बताए । सुनकुमारीको उपचारमा न्यूरो विशषज्ञ डा. डम्बर शाहको टोली खटिएको छ । डा. शाहका अनुसार उनको टाउकोमा गम्भिर समस्या छ भने दात र गिजाको भाग पनि फ्याक्चर भएको छ ।
डा. शाहले सुनकुमारीको बारेमा संक्षिप्त प्रतिक्रिया दिदैं भने ‘उहांको धेरै समस्या छ । अहिले सम्म अर्धचेत अवस्थामा हुनुहुन्छ । टाउको र दात गिजामा समस्या छ । हेमोग्लोविन र प्रोटिन कमी छ । खाना पनि पाइपबाट खुवाउनु परेकोछ । यद्यपी अहिले सामन्य आखां खोल्नु भएको छ । क्लबले सुनकुमारीको उपचारमा लाग्ने खर्चको व्यवस्थापनकोलागी सबै सामाजिक संघसंस्था र सहयोगी व्यक्तिहरुलाई मन खोलेर सहयोग गर्न आग्रह समेत गरेको छ ।
क्लबले लुम्बिनी प्रेस क्लबको पुर्णिमा विकास बैंक सिद्धार्थनगर भैरहवाको खाता नम्बर ०००००००००१००००१५९ सि.डी. (00000000010000159CD) मासहयोग गर्न चाहनेले रकम जम्मा गर्न सक्ने बताएको छ । उक्त खातामा सहयोग बापत जम्मा हुन आएको रकम सुनकुमारीको उपचारमा खर्चिने गरी खाता व्यवस्थापन गरिएको क्लबका कोषाध्यक्ष कमल रायमाझीले जानकारी दिएका छन् ।
यसैबीच क्लबको खातामा आइतबार नै सिद्धार्थ यातयात व्यवसायी समितीका पुर्व अध्यक्ष सन्जिब रोक्काले ५ हजार र लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईले १० हजार जम्मा गरिसकेको क्लबका सचिब सम्झना शर्माले जानकारी दिईन । सहयोग गर्न चाहनेले क्लबका अध्यक्ष माधब ढुंगाना ९८५७०२१५९०, उपाध्यक्ष दिपेश पछाई ९८५७०२०१९०, सचिब सम्झना शर्मा ९८५७०२४६७४, कोषाध्यक्ष कमल रायमाझी ९८५७०१०६००, सदस्यहरु सलमान खान ९८५७०२०१४१ , अरुण ज्ञवाली ९८५७०२२२९० र दिपक घिमिरे ९८५७०२०३०० लाई सम्पर्क गर्न सकिने क्लबका महासचिब नरेश के.सी.ले जानकारी दिएका छन् ।
रोल्पाको थबांग गाविस वडा नम्बर ८ मा बस्ने सुनकुमारीलाई असोज २६ गते आफ्नै श्रीमान धुब्र नेपाली र बहिनी नाता पर्ने जाला नेपालीले मरणासन्न हुनेगरी कुटपीट गरेका थिए । उनलाई असोज २८ गते युसीएमएस भैरहवामा उपचारकोलागी लिइएको थियो । उपचार गर्दै जादा क्रृण काढेंर ल्याएको रकम समेत पैसा सकिएपछि उनको कुरुवाको रुपमा आएकी १३ वर्षिय छोरी विनिता नेपाली समेत भाग्न विवश भएकी थिईन ।
सुनकुमारीलाई कुटपीट गर्ने धुब्र र जालालाई जिल्ला प्रहरी कार्यलयले ज्यान मार्ने उद्योग अन्र्ततग मुद्धा चलाएर पुर्पक्षकोलागी थुनामा राखेको छ । यता अर्धचेत अवस्थाकी आमाको एक्लै स्यहार सुसार गरिरहेकी नाबालीका विनितालाई खाना खाने व्यवस्थपन पनि क्लबले गरिसकेको छ । संसदको सभामुख ओनसरी घर्तिको निर्वाचन क्षेत्रकी सुनकुमारी माथी भएको हिंसाको सबालमा महिला अधिकारकर्मिलेृ आवज उठाउलान् या नउठाउलान् त्यो समयले देखाउला तर उनको उपचारमा लुम्बिनी प्रेस क्लबको सक्रियतालाई युसीएमसमा अध्ययनरत विद्यार्थिहरुको संस्था करुणा, युसीएमएस प्रशासन र विभिन्न सामाजिक संघसंस्थाले साथ दिने विश्वास क्लबका अध्यक्ष ढुंगानाले गरेका छन् ।
अध्यक्ष ढुंगानाले भने ‘हामी पत्रकारले केबल लेख्ने मात्रै होइन , सकेसम्म सक्रिय सामाजिक दायित्व पनि पुरा गर्नुपर्छ । यसैले सामाजिक सेव ागर्ने उद्धेश्य समेत रहेको लुम्बिनी प्रेस क्लबले सुनकुमारीको उपचारकोलागी पहल थालेको हो । यो हाम्रो शुरुवात हो। विपन्न, बेसहारा र गरिबहरुकोलागी हामी सधैं साथ दिन तयार छौं । प्रेस क्लबको पहल पछि सुनकुमारीलाई अहिले आइसीयुमा राखेर उपचार भइरहेको युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend