–टोपलाल अर्याल, गुल्मी ।
शुक्रबार गुल्मीको सदरमुकाम तम्घासको लाँकुरीमञ्च बुद्धिजिवी वर्गहरुले भरिएको थियो । सवैलाई गाउँपालीकाको बिषयले तताएको बेला थियो । श्रीमतिलाई हातमा छोपेर लाँकुरी मञ्चमा देखिएका एक बृद्ध बृद्धाको अवस्था धेरैलाई मतलव हुने कुरै भएन । बृद्ध श्रीमान बृद्धा श्रीमतिलाई हात डोराएर हिडिरहेका थिए ।
उनीहरु दुवै जना राम्रो संग अडिन सक्दैनथे । अकस्मात ती बृद्धा हजुरआमा सवैको आँखा अगाडी लड्नु भयो, नाकबाट रगत बग्यो, गालामा चोट लाग्यो । म मोटरसाइकलमा बिस्तारै लाँकुरी मञ्चको तस्विर नियाल्दै थिए । त्यो तस्विर देख्ने बित्तिकै मोटरसाइकल पार्किङ्ग गरेर उनीहरु नजिक पुगे । उठाउने कोहि भएनन, म भन्दा पहिले अलि पर रहेका जिल्ला कृषी विकास कार्यालयका चेतनारायण पन्थीको साहाराले त्यी बृद्धा आमा उठ्नुभयो ।
बृद्धा श्रीमानको हात छोपेको भएपनि ढलफलाएको देखेर मेलै बृद्धा बुवालाई सोधे । बुबा कहाँ जाने हो ? उहाँले भन्नु भयो, फोक्सिङ्ग गुल्मी । अहिले कता हिड्नु भयो मैले प्रश्न गरे, बस स्टेशन उहाँले जवाफ फर्काउनु भयो । ल आउनुस मैले पुराउँछु भनेर दुवै जनालाई बुढाथोकी बसपार्क लगे । हजुर आमालाई पाण्डेय होटलको पिडीमा राखे । बृद्धा बुवा आफै गाडीको खोजीमा हिड्नुभयो ।
मैले बसपार्कबाट फोक्सिङ्ग बस नजाने थाहा पाएपछि हजुर बुवालाई भगवती मन्दिर जाँउ भने । बुवाले कुरा फेर्नुभयो र भन्नुभयो बाबु बुटवलको तामनगर जाने हो । म धेरै बेर अलमलमा परे । त्यहि बेला सोधे तपाईहरु तम्घास किन आएको ? बुवाले श्रीमतिको नागरिता हराएकाले बनाउन आएको बताउनु भयो । बसपार्कमा गाडी र फर्कने यात्रुको चापाचापले लाँकुरीमञ्च जस्तै थियो । हिड्न लागेको बसमा बुवाले त्यी हजुर आमालाई जवरजस्ति चढाएपछि म बाध्य भएर बस भित्र पसे अनि सिटको लागी सवैसंग अनुनय बिनय गरे ।
मेरो कुरा अर्धबैशे, युवा कसैले सुनेन, गल्लीमा बस्ने अवस्था थिएन । छुट्ने समय भएपछि बस हिड्न थाल्यो कन्डक्टर आयो । तपाईहरु कसको मान्छे हो ? कन्डक्टरले भन्यो, मैले भने मेरो मान्छे बृद्धबृद्धा बुवाआमा वुटवल पुराइदिनु पर्यो । तर उसलाई के मतलव तत्काल झारिदियो । फेरी बसपार्क अगाडीको दुकानको बेन्चमा बस्यौ । नाकबाट आएको रगत पुछिदिए अनि भने आमा भोक लागेको छ ।
उहाँले बिहान एक होटलमा भात खाएको बताउनु भयो । त्यतिकैमा वुटवल जान टिकट नपाएका एक जना सोहि स्थानमा भेटिए । उनले भाई मैले लैजान्छु भनेपछि म रेडियोमा फर्किए । मनमा अनेक तरङ्ग आए, सोचे मेरो भोलीको अवस्था र मेरो बाबा आमा । फेरी बसपार्क नै आएँ, फोटो खिचे अनि नागरिता पनि मागे । हजुर आमाको नागरिता पनि हेरे, अनि नागरिताको पनि फोटो खिचे । उहाँहरु गुल्मी फोक्सिङ्ग ६ को हुनु हुँदो रहेछ । श्रीमान हिमलाल सापकोटा उमेरले ८० आसपास ।
बृद्धा हजुरआमा चन्द्र कुमारी सापकोटा ६७ बर्षिया । श्रीमति चन्द्र कुमारीको नागरिता हराएपछि बनाउन उहाँहरु फोक्सिङ्गबाट जिल्ला प्रसासन आउनुभएको रहेछ । मैलै सोध्दै गए, बुबा छोराछोरी छैनन ? बुवाले भन्नुभयो जेठीलाई केहि भएनन, कान्छिको एउटी छोरी छे । उहाँले थप्दै जानुभयो छोरीको पनि बिहे भयो । उहाँ अहिले तामनगरमा आफन्तकोमा बस्ने । चन्द्र कुमारी निसन्तान रे, फोक्सिङ्गमा एक्लिै बस्दै आएको । बुवाले हजुर आमालाई पनि तामनगर लैजाने मेसो गर्नुभयो, मैले बुझे ।
त्यहि बेन्चमै उहाँहरुलाई बस्न भने अनि बस काउन्टर पुगे । टिकट पाउन गाह्रो थियो । एकचोटी प्रसासनको नाममा रोकिने टिकट ३/४ दिन सम्म बुक छ भनेको सम्झन्छु । आखिर तिम्रो टिकट कसको लागी ? यस्तैको लागी त होला, प्रसासनलाई मनमनै प्रश्न गर्छु । काउन्टरमा भरत दाई र काफ्ले दाईलाई टिकटको लागी आग्रह गरे र बृद्धबृद्धा बुवा आमाको बारेमा बुझाएँ । बस रहेन्छन् भरत दाईले एस्ट्रा बस हाल्नुभयो बुटवलको लागी ।
१ र २ नंम्बरको टिकट काटिदिए, लगेर बुवालाई दिएँ । हजुर आमाले सासै सासले आर्शिबाद दिनुभयो, धन्यहोस् बाबु धन्यहोस् । मैले धेरै पटक उहाँहरुलाई सोधे तामनगरको कसैको फोन नम्बर छ ? उहाँहरु संग कसैको नम्बर छैन् । उहाँहरु पुग्नुभयो वा पुग्नुभएन, घरमै हुनुहुन्छ कि सडक वा गल्लीमा मन अझै पनि भटभटाइरहेको छ । मैले राम्रो गरे वा गरिन तर आर्शिवाद पाएँ ।
मैले अरुले गरेनन भन्ने तर्क गर्न पनि खोजेको होइन् । तर सार्वजनिक स्थलमै लड्दा हात नपाउनु, गाडीहरुमा अपहेलित बन्दा साथ नपाउनु, कार्यालयहरुमा तिरस्कृत हुँदा न्याय नपाउनु यस्ता सवै कुराले कहिले काहि झस्काउँछ । खै त उनीहरु प्रतिको आदार, सत्कार र शिष्टाचार अनि राज्यले दिएको जेष्ट नागरिक सम्मान । के हो उनीहरु प्रति राज्य, म र हाम्रो दायित्व ? र किन एक्लिन्छन् उनीहरु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend