साझा नेटवर्क
काठमाडौं, कार्तिक १८ ।
मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स घटिरहेका बेला वैदेशिक रोजगारीमा जानेको संख्या पनि ओरालो लाग्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटसँगै खाडी राष्ट्रमा देखिएको असरले वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोजसम्म ९० हजार ४ सय ७ नेपाली कामदार बिदेसिएका छन् । यो तथ्यांक गत आव असोजम्मको तुलनामा २० प्रतिशतले कम हो । गत आवको असोजसम्म १ लाख १३ हजार ५ सय १५ नेपाली कामदार रोजगारीका लागि बिदेसिएका थिए । कामदार घटेसँगै रेमिट्यान्समा पनि असर पर्न थालेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले अन्तरराष्ट्रिय बजारमा इन्धन मूल्य गिरावटसँगै खाडीमुलुकको अर्थतन्त्रमा ठूलो असर परेकाले बिदेसिने कामदारको संख्या घटेको बताए । “नेपालको मुख्य श्रम गन्तव्य मुलुक खाडी मुलुक र मलेसिया नै हो,” उनले भने, “अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेकाले खाडी मुलुकको आम्दानीमा घटेको छ, त्यसले गर्दा खाडी मुलुकमा लगानी कम हुँदै गएको छ।
साउदी अरबमा जाने कामदार २९ प्रतिशतले घटेका छन् । गत आवको सोही अवधिमा साउदीमा ३६ हजार २ सय ७९ कामदार बिदेसिएकोमा चालूको आवको सोही अवधिसम्म २५ हजार ६ सय ९९ नेपाली कामदार गएका छन् । कतारमा ३३ हजार ३ सय ३३ बाट घटेर २९ हजार २ सय ७० नेपाली कामदार गएका छन् ।
चालू आवको असोजसम्म मलेसियामा २२ हजार ५ सय ३१ बाट घटेर १९ हजार १ सय ८०, सयुक्त अरब इमिरेट्स (यूएई) १२ हजार ८ सय ८ बाट घटेर ११ हजार ७, कुवेतमा २ हजार ६ सय ८२ बाट घटेर १ हजार ८ सय २७ मा गएका छन् ।
‘फ्रि भिसा, फ्रि टिकट लागूका कारण पनि खाडी मुलुक र मलेसियाका रोजगारदाता कम्पनीले नेपाली कामदारभन्दा अन्य मुलुकका कामदार लिने थालेको तामाङको दाबी छ ।“बिदेसिने कामदार फर्कने र माग घट्दै गएकालेकेही समयपछि यसको प्रभाव रेमिट्यान्समा पर्छ,” उनले भने ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा रेमिट्यान्स ५३ अर्ब २७ करोडबाट घटेर ५१ अर्ब ९४ करोड रुपैयाँ भित्रिएको थियो । भदौ महिनासम्म भने रेमिट्यान्स १ खर्ब ७ करोडबाट ६.६ प्रतिशतले १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । गत आवको २ महिनाको अवधिमा २७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको थियो ।कारोबार दैनिक
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend