साझा नेटवर्क
काठमाडौं, कार्तिक १४ ।
तिहारको रौनक शुरु हुँदै थियो । गत साता काठमाडौंको भगवती बहालस्थित ओम गणपती होटलमा मध्यरात पनि जुवाखाल चलिरहेको सूचना महानगरीय प्रहरी वृत कमलपोखरीमा पुग्यो । सूचना सत्य सावित भयो, होटलबाट दुई महिलासहित १६ जना पक्राउ परे ।
तिहार शुरु भएसँगै ठमेल, दरबारमार्ग, च्याम्हासिंह, कमलविनायक जस्ता क्षेत्रमा जुवाडेहरुको जमघट बढेको छ । चाडवाडका नाममा हुने संगठित जुवा नियन्त्रणका लागि प्रहरीले उत्तिकै सक्रियता बढाएको छ । ‘संगठित कौडा खेल्ने काम नहोस भनेर ब्यापक रुपमा सिभिल प्रहरी परिचालन गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले भने, ‘हालसम्म ६० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईसकेका छौं ।
काठमाडौं प्रहरीले कुकुर तिहारभन्दा अघिल्लो दिसम्ममा छापा मारेको जुवा खालबाट ६० लाखभन्दा बढी नगद बरमद गरिसकेको छ । यसरी जुवा खालबाट बरामद गरेको रकम सरकारी कोषमा जम्मा हुन्छ ।
चाडपर्वको बहानामा ब्यवसायीक जुवा फस्टाउन नदिनका लागी सामुदायिक प्रहरी समेत परिचालन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले संभावित जुवा अड्डाहरुमा रेकी गर्न थालेको छ । ठमेल, न्यूरोड, दरबारमार्ग क्षेत्रका होटल तथा गेष्ट हाउसहरुमा हुने जुवा रोकथामका लागी सादा पोशाकका प्रहरी परिचालित भएका छन् ।
‘रमाईलोका लागी जुवातास खेल्नु सामान्य भएपनि जुवाले परिवार सिध्याउने काम कुनै हालतमा ठिक हैन’ एसएसपी थापाले भने, ‘जुवा नशा हो, यसलाई नियन्त्रण गर्ने काठमाडौं प्रहरी सक्रियतापूर्वक लागेको छ ।’
महानगरीय प्रहरी परिसर काठमाडौंले देउसी भैलोको नाममा जवर्जस्ती चन्दा माग्ने र गाली गर्नेहरुलाई समेत नियन्त्रणमा लिएर कारवाही गर्ने चेतावनी दिएको छ । त्यस्तै सडकमा बियरको बोत्तल बोकेर हिँड्नेहरुलाई पनि कारवाही गरिने एसएसपी थापाले जानकारी दिए ।
लंगुरबुर्जा खेल्नेलाई धपाउँदै ब्यवसायिक अड्डामा रेकी
भक्तपुरका एसपी किरण बज्राचार्यलाई प्रश्न गरेका थियौं, ‘जुवा नियन्त्रणको योजना के छ ?’
‘कुकुर तिहारभन्दा अगाडी एक–दुई ठाउँमा लंगुरबुर्जा खेलाउने समुहलाई धपायौं’ उनले भनिन्, ‘केही ठाउँमा राती–राती जुवा खाल चलेको सूचना आएको छ, हामी त्यस्ता जुवा अड्डाहरुमा निगरानी गरिरहेका छौं ।’
चाडवाडको बहानामा हुने ब्यवसायिक कौडा नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिँदै एसपी बज्रचार्यले भनिन्, ‘अहिलेसम्म उल्लेखनीय केही भेटिएको छैन, यद्यपी हामी ब्यवसायिक जुवा नियन्त्रणमा सक्रियतापुर्वक लागिराखेका छौं ।’
त्यस्तै ललितपुर प्रहरीले पनि चाडबाडमा बढी खेलबाड हुने र ब्यवसायिक रुपमा जुवा खेलाइने अड्डाहरुलाई टार्गेट गरेर सुचना संकलन गरिरहेको छ । दशैंको समयमा दुई दर्जन जुवाडेलाई पक्राउ गरेर मुद्धा चलाएको जानकारी दिँदै ललितपुरका एसएसपी पिताम्बर अधिकारीले भने, ‘हामीले जुवा अड्डा र जुवाडेहरुको सूचना संकलनमा ध्यान दिएका छौं, कसैले जुवा खेलेको भेटेमा जुवा ऐन अनुसार कारवाही हुन्छ ।’
अघिल्ला बर्षहरुमा जुवा खाल जम्ने गरेको बालकुमारीको डेस्टिेनशन होटल र चापागाउँ एरियामा सादा पोशाकमा खटिएको प्रहरीले निगरानी बढाईरहेको एसएसपी अधिकारीले जानकारी दिए ।
जुवा खेलाउने बाटोमै गायव !
केही दिनअघि भक्तपुरको लोकन्थलीस्थित ट्राफिक कार्यालय नजिकैको एक गेष्ट हाउसमा जुवाखाल जमिरहेको थियो । शैलेस श्रेष्ठले सञ्चालन गरेको गेष्ट हाउमा छापा मार्न पुगेको महानगरीय प्रहरी वृत ठिमीको प्रहरी टोलीले श्रेष्ठ सहित आधा दर्जन जुवाडेलाई नियन्त्रणमा लियो । भ्यानमा चढेर ठिमी नपुग्दै गेष्ट हाउस सञ्चालक श्रेष्ठलाई प्रहरीले बाटोमै छाडिदियो । बाँकी अन्यलाई रातभरी राखेर भोलिपल्ट मुद्धा नचलाईकन छाडिएको ठिमीमा कार्यरत एक प्रहरीले जानकारी दिए । ‘डिएसपी सापले भोलिपल्ट मुद्धा नचलाईकन छाडिदिनभयो ।’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘किन त्यसो गरियो, थाहा छैन ।’
यसरी जुवा खालबाट पक्राउ परेका हरुलाई मुद्धा नचलाइकन छाडिएकोबारे जिज्ञासा राख्दा महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले भने, ‘हामीले कौशलटारको गेष्ट हाउसबाट कोही जुवाडे पक्राउ गरेका छैनौं, जिल्लाले पक्राउ गरेको हुनसक्छ एकपटक त्यता बुझ्नुस नँ !’
त्यस्तै भक्तपुरको सुर्यविनायकस्थित पाण्डुबजारमा रहेको कर्मा नामले चिचिने ब्यक्तिको एक घरमा ब्यवसायीक रुपमा जुवा खाल चल्ने गरेको स्रोतको दावी छ ।रातोपाटी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend