logo
  • शनिबार, साउन ३० २०८३

स्वास्थ्य मन्त्री गगन थापालाई सोधिएका ३ प्रश्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, कार्तिक १४ ।
स्वास्थ्य मन्त्री गगनकुमार थापालाई औषधिका विषयमा तीन वटा प्रश्नसहितको एउटा निवेदन पठाइएको छ । कुनै विषयमा जनमत संकलन गर्दै अभियानका रुपमा चलाउन मिल्ने र परिवर्तन गर्न सघाउ पुग्ने ‘चेन्ज डट ओरजी’ मार्फत मन्त्री थापालाई उक्त प्रश्न सोधिएको हो ।

यो अभियान सुरु गर्ने सुमना श्रेष्ठ हुन् । जो ‘मेडिकसेशन फर नेपाल’ नामक स्वयम्सेवी अभियान मार्फत् औषधी नपुगेको जिल्लामा औषधी पुर्याउने काम गरिरहेकी छिन् । यसैगरी सरकारले दिने निःशुल्क स्वास्थ्य सेवाका बारेमा जानकारी दिन पनि उनले अहिले काम गरिरहेकी छिन् । सुमनाले गरेका उक्त प्रश्नहरुमा समर्थन जनाउँदै अहिले सही गर्नेहरुको सहभागीता बढ्दै गएको छ ।

यस्तो छ निवेदन

माननीय स्वास्थ्य मन्त्रीज्यू,
स्वास्थ्य मन्त्रालय,
नेपाल

महोदय,

यो पत्र मार्फत यहाँ समक्ष हामीले केही अनुरोधहरु राखेका छौं, जसले देशको स्वास्थ्य क्षेत्रलाई बलियो, पारदर्शी र जवाफदेही बनाउनेछ भन्ने विश्वास लिएका छौं।

नेपाल सरकारले जिल्ला अस्पताल तहसम्ममा आधारभूत स्वास्थ्य सेवाहरु नि:शुल्क दिने भनेको छ, जस अन्तर्गत जिल्ला अस्पतालमा ७० थरी, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ थरी र हेल्थ पोस्टमा ३८ थरी औषधीहरु नि:शुल्क पाइनुपर्ने हो, जुन व्यवहारमा भएको पाइदैन।

हामीलाई थाहा भए अनुसार औषधि खरिद प्रकृया केन्द्र, क्षेत्र, जिल्ला तहमा विभिन्न प्रतिशतमा बजेट बाडिएर हुने गर्छ। यसबारे केही जानकारी मन्त्रालयको आपूर्ती व्यवस्था विभागको वेभसाइट www.dohslmd.gov.np मा भएपनी सबै जानकारीहरु पारदर्शी छैनन्। विभागको औषधि खरिद प्रकृया सम्बन्धी तथ्यांक तथा सूचनाहरु राख्ने इलेक्ट्रोनिक प्रणाली LMIS रहेको सबैलाई जानकारी छ। त्यसबाट यो सम्बन्धी जानकारी र सूचनाहरु लिई सर्वसाधारणको लागि पनि उपलब्ध गराउन समस्या नपर्नुपर्ने हो।

१. के तपाईं औषधि खरिद प्रकृयाका कामकार्वाहिका तथ्यांक र जानकारीहरु (के कति दरमा, कति मात्रामा कुन कुन जिल्लाले खरिद गर्यो, केन्द्रले कति खरिद गर्यो, टेन्डर कल्लाई पर्यो आदि) सर्वसाधारणको पहुँचमा हुने गरि प्रकाशित गर्ने व्यवस्था मिलाउन सक्नुहुन्छ ?

२. नि:शुल्क औषधि कार्यक्रम अन्तर्गत कुन जिल्लामा कति मात्रामा के-के औषधी कहिले पठाइयो ?

३ प्रत्येक जिल्लाले आफ्नो आवश्यकता कति भनेर माग गरेका छन् र केन्द्र वा क्षेत्रलाई त्यो आवश्यकता पूरा गर्न के के समस्या परेका छन्?

यी प्रश्नहरुको उत्तरमा सबैको पहुँच भए एक त केन्द्र देखि हेल्थ पोस्ट तहसम्मको औषधि खरिद, वितरण सम्पूर्ण प्रकृया पारदर्शी हुन जान्छ भने अर्को जनताको स्वास्थ्य क्षेत्र, स्वास्थ्यकर्मी र मन्त्रालय प्रतिको विश्वास बढेर जान्छ।

छिट्टै उत्तरको आशा राखेको छु ।
नेपाली जनता ।

स्वास्थ्यखबर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend