logo
  • शुक्रबार, असोज ९ २०८३

त्रिभुवन विमानस्थलमा चोरी, कर्मचारीले नै ताल्चा फोडेर सामान चोरे


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, असोज ३०।
शुक्रवार राति ९ बजे फ्लाइ दुबईको विमानमा साउदी अरेबियाबाट नेपाल फर्किएका कामदारको सामान त्रिभुवन विमानस्थलमा चोरी भएको छ । १८ जना नेपालीको सामान नेपालकै विमानस्थलमा आइपुग्दा चोरी भएको हो ।
tia_nepal_airport-672x448
पीडितहरूले विमानस्थलका कर्मचारीले नै ताल्चा फोडेर चोरी गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार अधिकांशको मोबाइल चोरी भएको छ । उनीहरूले शनिवार बिहान सामान बुझ्दा आफूहरूको सामान चोरी भएको थाहा पाएको बताएका छन् । मोबाइल र ल्यापटपसहित विदेशबाट ल्याएका सामग्रीहरू चोरी भएको हो । त्रिभुवन विमानस्थलले उक्त घटनाको बारेमा थाहा पाउनेबित्तिकै आफूहरूले अनुसन्धान शुरू गरेको जानकारी दिएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पीडित पक्ष, फ्लाइ दुबईका कर्मचारी र विमानस्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीलाई बोलाएर अनुसन्धान थालिएको जानकारी दिए । शनिवार फ्लाइ दुबईका प्रमुख नआई दोस्रो व्यक्ति छलफलमा आएकोले आइतवार फेरि प्रमुखसँग नै छलफल गर्ने तयारी भएको उनले बताए । ‘अहिले पीडित पक्ष र सम्बन्धित सम्पूर्ण निकायका व्यक्तिहरूसँग छलफल गर्दैछौं,’ उनले भने, ‘हामीले एक दुई दिनभित्रै सत्यतथ्य पत्ता लगाउँछौं ।’ उनले उक्त घटनाको अनुसन्धान गर्नका लागि पाँच सदस्यीय समिति बनेको समेत जानकारी दिए ।

ठाकुरकै नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरू सम्मिलित समिति गठन गरिएको हो । ‘समितिले पाँच दिनको म्याद पाएको छ,’ उनले भने, ‘दुई तीन दिनभित्रै के भएको हो भन्ने बारेमा सत्यतथ्य पत्ता लगाएर पीडितलाई उपचार दिलाउँछौं ।’ उनले पर्यटनमन्त्री जीवनबहादुर शाहीले उक्त घटनालाई अत्यन्तै गम्भीर तरिकाले लिएको समेत जानकारी गराए । पीडितहरूले सामान हराएको भनेपनि एयरपोर्टबाट सामान बुझिसकेकोले अनुसन्धानमा समस्या भएको उनले बताए ।

‘उहाँहरूले सामान बाहिर ल्याएपछि मात्रै हरायो भनेर गुनासो गर्नुभयो,’ उनले भने, ‘उहाँहरूले हराउनेबित्तिकै सामान नबुझेर गुनासो गरेको भए हामीलाई सहयोग पुग्थ्यो ।’ उनीहरूले शनिवार नै सामग्रीहरू बुझिसकेकोले अनुसन्धान प्रभावित हुने उनको भनाई रहेको छ । यद्यपि चोरी भएको सम्पूर्ण सामग्रीको अनुमानित मूल्य निर्धारण गरेर अनुसन्धान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend