साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी, असोज २७।
दसैँ मान्न घर गएकाहरु फर्किन थालेपछि शहर र सडकमा चहलपहल बढ्न थालेको छ । टीकाको दिन झण्डै सुनसानजस्तै भएको काठमाडौं उपत्यकामा बुधबारदेखि केही चहल पहल बढेको हो । काममा फर्कने र टिका थाप्न जानेहरुका कारण गाडीमा घुईंचो बढेको बताए।
दसैँअघि काठमाडौं तथा देशका विभिन्न स्थानबाट बाहिरिने गाडीमा घुईंचो भएकोमा अहिले काठमाडौं तथा सदरमुकाम फर्किने गाडीमा बढी घुईंचो देखिन्छ । दसैँ बिदापछि शुक्रबार सरकारी कार्यालय खुल्ने र पर्सि शनिबार भएकाले पर्सिसम्म घुईंचो अझ बढ्ने यातायात व्यवसायीले बताएका छन् ।
कतिपय यात्रुहरुले गाडी नपाएको गुनासो गर्ने गरेका छन् । गाडी भएमा पनि सिट नपाउँदा समस्या भएको छ। राजमार्गमा गुड्ने गाडीले छतमा यात्रु नराखेपनि ग्रामीण क्षेत्रमा गुड्ने गाडीले भने क्षमता भन्दा धेरै यात्रुहरु राख्ने गरेका छन् ।
कतिपय सावरीहरुमा ग्रामिण इलाकाबाट छतमा यात्रु राखेर जाने अनि सदरमुकाम तम्घास आसपासमा यात्रु ओरालेर पठाउने गर्छन् । प्राय ट्राफिक सदरमुकाम तम्घासको उदिनढुंगामा बस्ने भएकाले गाउँबाट जाने सवारीहरुले अर्खलेमा यात्रु ओरालेर पठाउँछन् । सिट क्षमताभन्दा धेरै यात्रु राख्नेलाई प्रहरीले कारवाही गरेपछि राजमार्गमा चल्ने गाडीले यसपटक छतमा यात्रुहरु राख्न नपाएका हुन ।
तर ग्रामीण क्षेत्रका सडकमा प्रहरी नबस्ने भएकाले त्यहाँ चल्ने गाडीले छतमा समेत यात्रु राख्ने गरेका छन। गाडी कम भएको र जसरी पनि पुग्नुपर्ने भएकाले जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएको यात्रुहरु बताउँछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend