साझा नेटवर्क
काठमाडौं, श्रावण २४ ।
गोरखाबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो । दुर्घटनामा क्याप्टेन रन्जन लिम्बु सहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले भने, ‘सात जनाको मृत्यु भएको छ । लाशहरु टुक्रा-टुक्रा छन् । हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३२ मिनेट जाँदा सम्पर्क विहीन भएपछि खोजी सुरु गरिएको थियो ।
दिउँसो करिव १ बजे स्थानीयले जंगलमा आगलागी भएको सूचना दिएपछि घटनाबारे आफूले जानकारी पाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यस लगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेल सहित नेपाली सेना र प्रहरीको टोली घटना स्थल गएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend