साझा नेटवर्क
काठमाडौं, श्रावण १९ ।
नयाँ प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सदनमा बुधबार भएको मतदानमा ३ सय ६३ मत ल्याई उनी प्रधानमन्त्रीमा निर्वाचित भएको सभामुख ओनसरी घर्तीले घोषणा गरेकी हुन्। विपक्षमा २ सय १० मत परेको थियो। मतदानमा जम्मा ५ सय ७३ मत खसेको थियो।
चुनावी दौडमा उनी एक्ला उम्मेदवार भएपनि संसद्ले मत विभाजनका आधारमा प्रधानमन्त्री चयन गरेको हो।संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र संघीय गठबन्धनमा आबद्ध तराई केन्द्रित लगायतका दलहरुले प्रचण्डको पक्षमा मतदान गरेका थिए।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका केही दलले विपक्षमा मतदान गरेका थिए।
प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको सभामुखले घोषणा गरे लगत्तै सांसदहरुले उनलाई बधाई दिएका थिए। मतदान हुनुअघि संसद्लाई सम्बोधन गर्दै प्रचण्डले ऐतिहासिक आयोजना तथा चीन एवं भारतसंग भएका सन्धि सम्झौता अघि बढाउन नयाँ सरकार लागिपर्ने बताएका थिए।
गत साता राजीनामा दिने बेला कामचलाउ प्रधानमन्त्री केपी ओलीले संसदमै बोल्दा आफूले शुरु गरेका फास्ट ट्र्याक आफ्नै स्रोतमा बनाउने, तराईको हुलाकी मार्ग तथा चीनसँग भएका पारवहन लगायतका रणनीतिक सम्झौताको हालत नयाँ सरकारको पालामा के हुने भनी प्रश्न गरेका थिए।
ती प्रश्न नमीठो भएको संकेत गर्दै बुधबार प्रचण्डले ती सबै सम्झौता वा आयोजना आफ्नो पार्टीसमेत सहभागी सरकारले अघि बढाएको स्मरण गराए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend