साझा नेटवर्क
काठमाडौं, श्रावण १०।
सरकारसंग चार बुंदे चिकित्साशिक्षा क्षेत्रमा सुधारसम्बन्धी आफ्ना मागहरु सम्बोधन सम्झौता हुने भएपछि डाक्टर गोविन्द केसीले सोमबार अनशन फिर्ता लिने भएका छन्।आइतबारअबेररातिसम्म डा केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको वार्तापछि सम्झौता भएको हो।
सम्झौतामा विवादस्पद मनमोहन स्वास्थ्य प्रतिष्ठानको भवन वीर अस्पतालसंग सम्बन्धित चिकित्सा विज्ञान प्रतिष्ठानले खरिद गर्ने लगायतका विषय समेटिएका छन्। डाक्टर केसीका मुख्य मागका रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोगसम्बन्धी विषय संसदमा प्रवेश गरिसकेकाले थप केही गर्नु नपर्ने निचोडमा दुवै पक्ष पुगेका छन्।
यसैगरी सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट संख्या नि:शुल्क गर्ने विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा राख्ने सहमति पनि भएको छ।त्यसलाई क्रमश:७५ प्रतिशतसम्म पुर्याउने सहमति भएको डाक्टर केसीकोतर्फबाट वार्तामा सहभागी डाक्टर अञ्जनीकुमार झाले बताए।
काठमाण्डू उपत्यकाभित्र १० वर्षभित्र मेडिकल, डेण्टल र नर्सिंगमा नयां सम्बन्धन नदिनेबारे पनि सहमति भएको छ।प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश हुने भएको छ।
उक्त विधेयकअनुसार गठन हुने चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको शुल्क र सिट संख्या निर्धारण गर्ने सहमति भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend