साझा नेटवर्क
काठमाण्डौ, श्रावण ६ ।
प्रमुख दलहरुबीच सहमतिका लागि प्रयास गर्न बिहीबारको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सुरु हुन अघिसम्म संसदको कार्यसूचीका लागि प्रधानमन्त्री केपी ओलीको सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी सभामुख ओनसरी घर्तीले बताएकी छन्।
दुई दिनसम्म प्रमुख दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरेकी सभामुखले बिहीबार बिहान तीन दलका शीर्ष नेताहरुसँग एकसाथ छलफल गरेर कार्यसूचीलाई मिलाउने प्रयास गरिने बताएकी छन्।संसदको कार्यसूचीमा अविश्वासको प्रस्ताव भन्दा पहिले बजेटसँग सम्बन्धीत विधेयकहरुको टुंगो लगाइनुपर्ने नेकपा एमालेको अडानपछि संसदको बिहीबारको कार्यतालिका विवादमा परेको हो।
आर्थिक वर्ष २०७३/७४ का लागि पेश गरिएको बजेटसँग जोडिएका तीनवटा विधेयक पारित हुन बाँकी नै रहेका बेला संसदमा सरकारविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहितका दलका सभासदहरुले अविश्वासको प्रस्ताव पेश गरेका थिए।संसदमा छलफल भएर मन्त्रीले जवाफ दिइसकेको अवस्थामा रहेका विधेयकलाई बिहीबारको कार्यसूचीमा नपारेर अविश्वासको प्रस्तावमा मात्र छलफल गर्ने कार्यसूची संसद सचिवालयले बनाएपछि विवाद देखिएको हो।
बिहान म तीनजना शीर्षस्थ नेताहरुसँग भेटघाट गर्दैछु। मलाई आशा छ अबको यो प्रक्रिया सहमतिबाट अगाडि बढ्छओनसरी घर्ती, सभामुख जुन विवादलाई समाधान गर्न दलहरुका शीर्ष नेताहरुलाई भेट्नुका अतिरिक्त कार्यव्यवस्था परामर्श समितिको बैठकमासमेत छलफल गरिसकेकी सभामुख ओनसरी घर्तीले सहमतिबाट समाधान खोज्ने प्रयास बिहीबार विहान पनि गरिने बताइन्।उनले भनिन्, “बिहान म तीनजना शीर्षस्थ नेताहरुसँग भेटघाट गर्दैछु। मलाई आशा छ अबको यो प्रक्रिया सहमतिबाट अगाडि बढ्छ।”
अविश्वास प्रस्तावमाथि छलफल हुनुभन्दा पहिले बजेट सम्बन्धी बाँकी बिधेयक पारित गरिनुपर्ने अडानमा नेकपा एमाले छ। नेपाली काँग्रेस र माओवादी केन्द्र भने पहिले अविश्वासको प्रस्ताव माथि छलफल गरेपछि बजेट सम्बन्धी बाँकी विधेयक पारित गरिनुपर्ने अडानमा छन्।
दलहरुबीच सहमति हुन सके सोही अनुसारको कार्यसूची बनाउन आफू तयार रहेको बताउने सभामुख घर्तीले सहमति जुट्न नसके पूर्व कार्यतालिका अनुसार अघि बढ्ने बताइन्।
उनले भनिन्, “यदि राजनीतिक दलबीच सहमति भएन र अरु कुनै पनि विकल्प आएनन् भने मैले घोषणा गरिसकेको आफ्नो विकल्प अविश्वासको प्रस्तावमाथि छलफल हुन्छ। मैले जुन निर्णय गरेको छु त्यो निर्णयमा अडिग रहन्छु।”
बुधबार बसेको नेपाली काँग्रेस र माओवादी केन्द्रको बैठकले अविश्वास प्रस्ताव भन्दा पहिले विधेयक पारित गर्ने विषय मान्य नहुने निस्कर्ष निकालेको छ।
एमालेको संसदीय दलको बैठकले बजेट सम्बन्धी बाँकी विधेयक प्रस्तुत नगरिए संसद अवरुद्ध गर्ने तयारीका साथ संसद बैठकमा सहभागी हुन आफ्ना दलका सांसदहरुलाई निर्देशन दिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend