logo
  • शनिबार, साउन ३० २०८३

सावधान ! आज सुवासले झुक्याए, भोली…….


  • टोपलाल अर्याल
  • शनिबार, साउन ३० २०८३

top lal

लेखक – टोपलाल अर्याल

-टोपलाल अर्याल, गुल्मी ।
सदरमुकाम तम्घासमै खोलाले बच्चा बगायो । कस्तो सुन्दै अनौठो तर सत्य । घटना यो नौलो होइन । एक बर्ष अगाडी त्यहि नजिकै डुवेर एक बालको ज्यान गएको थियो ।

केहि पुराना व्यक्तिहरुले अझ पहिलेका घटना पनि त्यो शोकाकुल भीडमा सुनाउँदै थिए । दिउँसो एक्कासी परेको बर्षा सहजै धेरैले कुनै दुखद घटनाको कल्पना मनमा लिएका थिए । केहि समयमै आदर्श बिद्या आश्रममा कक्षा ४ मा अध्ययन गर्ने १० बर्षे बालक सुवास भण्डारीलाई खोलाले बगाएको खवर आयो ।

उनका बाबा आमा घटना लगत्तै अचेत जस्तै थिए । घटना स्थल आदर्श चोकमा जम्मा भएका हजारौ व्यक्ति स्तब्ध एवं शोकाकुल बने । त्यो भीडमा दुख त थियो नै, तर घटनाले एउटा सन्देश पनि बोकेको थियो । घटना घटेपछि मात्र आफ्नो बालबच्चा सम्झेर चुकचुकाउने तर अरु बेला कुनै वास्था नगर्ने अभिभाकले सुबासको पीडादायी घटनाबाट गत्तिलो पाठ सिक्नुपर्नेछ । सदरमुकाममा बच्चा पढाउने बहानामा कोठा लिएका आमाहरु दैनिक थपिएका छन् ।

बिहान १० बजे बच्चा बोर्डिङ्ग छोड्ने र बेलुका ४ वा ५ बजे बच्चा लिन बोर्डिङ्ग गेटमा पुग्ने ती आमाहरुको सेडुल हो । तर बिहानको भन्दा बेलुकाको सेडुल बिगार्ने आमाहरुको कारण मुसलधारे पानीमा भिज्दै र रुदै, कोठामा चाँपी लगाएर मम्मी नभेटिएपछि बिद्यालय पोशाकमै साँझ सम्म गल्लीमा भुल्ने, छिमेकिकोमा डुल्ने बालबालिका पनि भेटिन्छन् । त्यस्ता आमा र अन्य परिवारले यो कुरालाई गम्भिर रुपमा बुझ्नुपर्छ । जुनसुकै बेला जे पनि हुन सक्छ, जीवनको प्रत्येक सेकेण्डमा जोखिम छ ।

साँझ त्यो भीडमा पनि केहि आमाहरु दिवंगत बच्चाको विभत्स तस्विर संग आफ्ना सन्तानको तुलना गर्ने र झस्कने गर्थे । त्यो मुर्खता थियो । पछि रुनुको अर्थ र मुल्य छैन्, समयमै सचेत रहनुपर्छ । तम्घासको बजारमै कतिपय यस्ता तस्विर भेटिन्छन् अनि देखिन्छन् । साँझ वा बिदाको दिन बाबा आमा मस्त गफ गर्दै बजार चर्हाछन्, बच्चा बच्ची साइडमा चल्दै र खेल्दै । कतिपय बाबा आमाकै आँखा अडागी बच्चा दुर्घटनामा परेका छन् । तम्घासका अधिकाँश बालबालिकाको क्रिकेट मैदान व्यस्त सडक हो ।

शनिवार, अरु बिदाको दिन वा बिहान साँझ धेरै बालबालिका सडकमै रमाईरहेको देख्न पाइन्छ । पटक पटक बाइकले उडाइदिएको सुनेकै छौ । साँघुरो र व्यस्त सड्क त्यहि माथी सकेसम्म बजार थर्काउने र बाइक दौडाउने यो शहरका डनहरुको पुरानो दादागिरी हो । बाडी, पहिरो र खोलाको बरु मौषम होला तर बाहै्रमासे यो प्रवृति खै सुध्रिएको ? महत्वपूर्ण सवाल हो यो ।

हामी कोठामै बसेर बच्चालाई पसल पठाउँछौ । बच्चा सधै हतारमा दौडिन्छ, त्यो उसको बाल प्रवृति हो । हामी पनि बच्चा छिटो पुग्छ र आउँछ भनेर काम लगाउने गर्छौ । दौडेर बाटो काट्दा तम्घासमा थुपै्र दुर्घटना भएका छन् । हामी जहिले अरुलाई दोष लगाएर उम्कने र ठुलो मान्छे बन्ने हठ भएका मान्छे हौँ ।

तम्घासका केहि त्यस्ता होटल र स्थानहरु छन् जहाँ ११/१२ बर्षे बालकहरुले आफ्नो जीवन चुरोट र गाँजाको धुवाँमा उडाइरहेका भेटिन्छन् । जिल्लाकै प्रतिष्ठित बाबा आमा र साहु महाजनका छोराछोरी जो स्कुल र क्याम्पसकै पोशाकमा दिनमा प्याकेटका प्याकेट चुरोट र गाँजा सक्छन । यो प्रवृति अभिभावकलाई पत्तो हुन्न वा चासो लिदैनन् ।

लतले एक दिन दुर्घटना निम्त्याउँछ, बल्ल अभिभावक झस्कन्छन् वा तर्सन्छन र भन्छन् भोलीबाट यो दोहोराउन दिन्न । तर प्रवृति परिवर्तन भएको छैन् । ख्याल गर्नुस आज बच्चा बगेछ, भोली बगाइदिन सक्छन् । आज आदर्शचोकको भीड एउटा परिवार आफ्नो सन्तानको बियोगमा मुर्छित थियो, भोली अर्को चोकमा अर्को परिवार…………..।

दिवंगत आत्माको बैकुण्ठबासको कामना साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना । 

थैलीको मुख राम्रो संग बन्द गरे कसैलाई दोष लगाउनु पर्दैन । सबैमा चेतना भया ।।


यो पनि पढ्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend