-सन्तोष चोखाल, टोकियो जापान ।
सम्पुर्णमा नमस्कार ! मैले आफ्नो मनमा लागेका केहि कुरा लेख्ने प्रयास गरेको छु । मलाई यो नसोच्नुस कि म कुनै पार्टीको मान्छे हो । म एक स्वतन्त्र युवा हो । आज देशमा अस्थिरता छ , अराजकता छ यो कहिले सम्म र कहाँ सम्म ? म एक जिम्वेवार नागरिकको हैसियतले ठण्डा भै सोच्दै छु । तपाईंहरु पनि सोच्नुस त ? कती सरकार परिवर्तन भए यो देशमा ?
देशमा व्यवस्था बदलियो तर अवस्था बद्लिएन । भुकम्प पीडितहरु ओत छेक्ने पाल नपाएर खुला मैदानमा लडिरहेका छन । नेपाललाई प्रकृती देखी छिमेकीले सम्म मज्जाले रुवाइ सके अब घैटोमा घाम लाग्ने कहिले ? किन पिड़ाको महसुस हुँदैन । देशको लागि लडिरहेका सिपाहीहरुलाई जीउदै आगो लगाएर क्रुर हत्या गरियो । तर देशमा सधै फोहोरी सत्ताको खेल , फोहोरी राजनैतिक धन्दा चलि रह्यो ।
केहि समय अगाडी अफगानिस्थानको काबुल हमलामा १३ जना नेपालीको निधन भयो । दैनिक जसो एयरपोर्टमा काठका बाकसमा नेपालीका लास आइरहेका छन । अहिले भोटेकोसिले सिन्धुपाल्चोक तथा अन्य ठाउहरु तहस नहस बनाएको छ ।खै त्यसको पिर चिन्ता कसलाई छ ? यो सत्ताको खेल कहिले सम्म ? हुन त यो अवस्था सिर्जना गर्ने हामी नेपाली जनता नै हौ ।
हामिलाई कसैको नजिकको बनिदिनु पर्ने । हामिलाई मन्त्रीको दाहिने हात लिनु पर्ने । हामीलाई पार्टीको झण्डा ओडनै पर्ने, अनी कहिले बन्छ र बनाउछौ देश ? जनता धनी तर देश गरिव कस्तो विडम्बना । स्मरण रहोस ! जापान ज़स्तो विकसित देश धनी छ तर त्यहाँका जनता गरिव छन । जनतालाई पाल्न सक्ने हैसियत देशसँग छ । तर हाम्रो नेपाल – हामी सबै परिवर्तनको नारा लगाउछौ , यो भएन , त्यो भएन भन्छौ तर पार्टीको झण्डा ओडेर हिड्न हतार छ हामीलाई ।
यदी देश बनाउने नै हो भने किन राम्रो पार्टीलाई बहुमत दिइदैन । हाम्रो देशमा नौ महिने सरकार कहिले सम्म ? हामी नेपालीलाई धेरै ठुला विप्पतीले सम्म झापड दिइसकेको छ । जे भए पनि सत्ता फेरियो, मान्छे फेरिए तर देशको आजसम्म मुहार फेरिएन । किन हामी चुप छौ । सामाजिक सन्जालमा हामी दोहोरी पनि खेल्छौ तर हामिलाई पार्टीको झण्डा नओडि जिवन चल्दैन । कहिले सम्म बोक्ने पार्टिको झण्डा ?
म कसैको समर्थक पनि होईन र न त कसैको विरोधी पनि । न म एमालेको समर्थक , न माओवादीको , न त कांग्रेसको नै। म एक स्वतन्त्र नेपाली हु। यो देशमा सधै नौ महिने सत्ता बाड़ीचूड़ी बनिरहने भो अनि कहिले हुन्छ देशको विकास ? हामीलाई भारतले धेरै पिडा र दुःख दिइसकेको छ तर हामीलाई भारतसँग हात नजोडी न हुने ।
यसको दोस कसलाई दिने नेतालाई या सरकार लाई ? कसैलाई यसको दोस दिने होइन, दोसी हामी जनता हौ । यो देश बिग्रनुको दोसी म पनि हो । म जस्ता लाखौ युवाहरु हौ । हामीले अझै पनि बुझ्न सकेनौ, सरकारको नेतृत्व र कर्ताहरुलाई ।कहिले सम्म नबुझ्ने, अब हामी जनताले अरुलाई दोस दिने होइन ।
यो देश मा २६ वर्ष मा २२ वटा सरकार फेरियो तर हात्ती आयो हात्ती आयो फुस्स ! यसरी चल्छ कहिले सम्म ? हुन त हाम्रो सानै देखी लागेको बानी कसैले राम्रो गर्छ भने उसको पक्कै विरोध गरिन्छ अझ सिधा अर्थमा भन्नु पर्दा कोही माथि पुग्छ भने खुट्टा तान्ने जन्मि हाल्छ ।
यो रोग देशमा रहेका नेपालीलाई मात्र होइन विदेशमा रहेका नेपालीमा पनि ब्याप्त छ । यो रोगले विकराल अवस्था लिइसक्यो तर हामी मौन छौ । हामिले राम्रो कुरामा आवाज उठाउदैनौ तर पार्टीको झण्डा बोकेर हिड्नु पर्यो भने हामी तयारी छौ । यो रोग म मा पनि छ, हामी सबैमा छ । देशमा महिनै पिच्छे सरकार फेरियोस , मलाई सरोकार छैन । तर मेरो देशमा स्थिरता किन आएन ? कहिले आउछ स्थायित्व ? कहिले बन्छ देश आत्मनिर्भर ? कहिले सम्म हामिले अरुसँग भिख मागिरहने ?
देशमा राणापछी पंचायत आयो, बहुदल आयो, लोकतन्त्र आयो अनि गणतन्त्र पनि आयो । खै देशको परिवर्तन ? कहिले हुने देशको परिवर्तन । जो जती आए पनि राम्रोसँग देखिएका अनुहारहरु हुन । किन पटक पटक यिनैलाई सत्ताको साँचो सुम्पि दिन्छौ हामिले ? हुन त यो पढ्दा पढ्दै कोही कसैलाई रिस पनि उठ्ला तर म कसै प्रती पनि आक्रोश होइन यो देशको जिम्मेवार युवा हुँ ।
भुकम्पमा प्राप्त सहयोग के कसरी कुन ठाउमा सदुपयोग गर्ने कुनै योजना आज सम्म छैन । विभिन्न ठाउमा रिक्त पदमा राम्रालाई होइन , अनुभव र योग्यतालाई होइन मेरो र हाम्रालाई भर्ना गर्ने चलन छ । साच्चै नेपाल त यस्तो भएको छ जहाँ जसले जे गरे पनि हुने, कुनै चिजको थोक मुल्य रहेन । मोटाउने दैनिक मोटाउदै गएका छन, दुब्लाउने दैनिक दुब्लाउदै, थिचिदै गएका छन ।
धनी झन-झन धनी, गरिव झनै गरिव, नेपालमा समानता कहिल्यै हुने भएन खानेले खाएको खाई गर्ने, हेर्नेले हेरेको हेरै। कुनै पनि चिजको मुल्य रहेन चाहेमा जे पनि गर्न सक्ने भए । इतिहासले धिकारी सक्यो, नेपाल अघी होइन पछी-पछी धकेली सक्यो । राम्रा कुरा होइन दैनिक नराम्रा कुराले बजार लिइसक्यो ।
हामी जनता धेरै जान्ने छौ , धेरै बुझ्ने छौ तर आफ्नो लागी । आफ्नो लागी त जसले पनि गर्न सक्छ, देशको लागि केहि दिने कि? यो देशमा अन्योलता नै अन्योलता छ । यो अन्योलता, यो अस्थिरता कहिले सम्म ? कुन युगसम्म ?
(लेखक पत्रकार तथा नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष हून।)
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend