साझा नेटवर्क
क्यालिफोर्निया, आषाढ २५ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले संगठन भित्र भएको आर्थिक हिनामिना र त्यसको विषयमा सत्यतथ्य छानबिन गर्न २ सदस्यीय समिति गठन गरेको छ । मंगलबार बसेको समितिको पदाधिकारीको कन्फरेन्स बैठकले किलन राई संयोजक र ओम भट्टराई सदस्य रहेको २ सदस्यीय समिति गठन गरेको हो ।
पछिल्लो समयमा नेपाली जनसम्पर्क समिति अमेरिका भित्र आर्थिक हिनाहिमनाको विषय भूसको आगो झैं फैलँदै गएपछि जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले समिति नै गठन गरेर छानबिन अघि बढाउने निर्णय गरेको हो । समितिलाई आर्थिक हिसाव कितावको बारेमा विस्तृत छानबिन गर्न सम्पूर्ण अधिकार समेत प्रदान गरिएको छ ।
आवश्यक ठानेमा जनसम्पर्क समितिका अन्य सदस्यहरुलाई समितिको सदस्यको रुपमा संख्या थप्न सकिने गरी अख्तियारी समितिले पाएको छ । समितिलाई ५ दिनभित्र आर्थिक हर हिसावको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।
नेजस अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्गद्वारा जारी विज्ञप्तिमामा आफ्नो मातहतमा रहेको भनिएको संस्थाको आर्थिक हर हिसाव र विल भरपाईहरू चाँडो संम्बन्धीत ठाउँमा बुझाउनका लागि आग्रह गर्दै आवश्यक परे पत्र काट्ने अख्तियारी समेत दिइएको उल्लेख छ ।
यसका साथै जनसंपर्क समिति अमेरिकामा देखिएको सम्पुर्ण समस्याहरूको बारेमा केन्द्रीय कार्यालयमा लिखित जानकारी पठाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले अकस्मात बिमारी भई नेपालको काठमाडौंस्थित ओम अस्पतालमा उपचार गराई रहनु भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend