साझा नेटवर्क
तिमीले जन्माएका सन्तानहरु
कहिलै नथाक्ने
कहिलै नाभोकाउने
कहिलै नरिसाउने
मानवीय समबेदनाहरु भुलेर
निरन्तर
एउटै गतिमा
एउटै तालमा
लागिरहने काममा
कसैले प्रोग्रामिङ् गरेर छोडेको जस्तै
एउटा सुइच थिचे चल्ने
अर्को सुइच थिचे बन्द हुने
ब्याट्री सकिए
१ थाल भातले चार्ज हुने
क्यास्ट्रल इन्जन आयल हालेको गाडी जस्तै
१ गिलाँस रक्सी भए
स्मूथ चल्ने
मानवीय समबेदनाहरु भुलेर
बोक् भने बोक्ने
ठोक् भने ठोक्ने
रोक् भने रोक्ने…….
विश्व बजारमा अत्यधिक माग छ रे
साउदीमा भेडा चराउन
दुबाईमा उँट चम्काउन
मलेसियामा बिल्डिंग उठाउन
यूरोप अमेरिकामा भाँडा मस्काउन
निपूर्ण रहेछन
तिमीले जन्माएका सन्तानहरु
कहिलै नथाक्ने
कहिलै नाभोकाउने
कहिलै नरिसाउने
मानवीय समबेदनाहरु भुलेर
कस्मिरमा गोली थाप्न पनि अगाडी
ईराकमा गला रेटिन पनि अगाडी
काबुलमा बम् छेक्न पनि अगाडी
हे नेपाल आमा
तिमीले गज्जबका सन्तान जन्माइछौ,
तिमीले गज्जबका रोबोटहरु जन्माईछौ।।
बादल बस्नेत
पोखरा, नेपाल
हाल: दिल्ली, भारत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend