logo
  • शनिबार, साउन ३० २०८३

पाईने भयो १० मिनेटमै राहदानी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, आषाढ १९।
मुलुकको राहदानी वितरणको इतिहासमा आइतबारदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आइतबारदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुवातसँगै दाङको धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गर्नुभएको हो ।

राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) शीघ्र उपलब्ध गराउने सरकारी नीति अनुसार प्रत्यक्ष दर्ता एवं फारम भर्ने लगायत सम्पूर्ण काम विभागबाटै हुने पद्धतिको प्रारम्भ गर्दै उपप्रधानमन्त्री कमल थापाले बुढाथोकीलाई राहदानी प्रदान गर्नुभएको हो ।

प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फाराम भरिएको १० मिनेटमा नै उहाँको राहदानी बनेको हो । छ वर्षअघि एमआरपी निर्माण एवं वितरण थालिएको सन्दर्भमा आजदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुंगा भएको छ भन्दै परराष्ट्रमन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

विदेशस्थित १० नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको जानकारी दिँदै उहाँले त्यस्तो सेवा जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । सरकारको गएको जेठ २३ गतेको निर्णयानुसार द्रूत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्नेछ । त्यसैगरी १२ हजार शुल्क बुझाए दुई दिन र १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ ।

विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन् । जिल्लामा फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ । यसअघि विभागले १० हजार दस्तुर लिएर एक हप्तमा नै राहदानी उपलब्ध गराउँदै आएको थियो ।

प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत सेवाग्राहीले www.nepalpassport.gov.np मा ‘लगइन’ गरी आफ्ना विवरण आफ्नै कम्प्युटरमा भर्न सक्नेछन् । उक्त विवरण विभागमा पठाइएको २१ दिनभित्र सेवाग्राही रुजु गर्न नगएमा उक्त पद्धतिबाट प्रस्तुत विवरण स्वतः हट्नेछ । सेवाग्राहीले विभागमा गएर पनि त्यस्तो विवरण प्रत्यक्ष दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend