साझा नेटवर्क
नरेश केसी, लुम्बिनी, आषाढ १६।
बृहत्तर लुम्बिनी क्षेत्रको प्रचार प्रसारमा लुम्बिनी प्रेस क्लब जुटेको छ । लुुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहको एकिकृत प्रचार प्रसार मार्फत बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रबद्र्धनमा जोड दिने ध्ययेले लुम्बिनी प्रेस क्लब लागेको हो । बृहत्तर लुम्बिनीको पर्यटन प्रबद्धानात्मक भ्रमण मार्फत पत्रकार, ट्राभल तथा होटल व्यवसायीको लागी लुम्बिनीमा क्लबको संयोजनमा एक दिने ओरियन्टेशन समेत सम्पन्न भएको छ ।

महामानब बुद्ध जन्मस्थल लुम्बिनीमा भएको उक्त ओरियन्टेशन कार्यक्रम प्रेस क्लबका महासचिव नरेश के.सी.को सभापतित्व एवं निरु गौतमको सन्चालन र क्लबका उपाध्यक्ष मनोरन्जन शर्माको धन्यवाद ज्ञापनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले लुम्बिनीको विकासकोलागी प्रोटेक्सन, प्रीजरभेसन र प्रोमशन गरी थ्री पी को अवधारणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष निग्रोधले अन्तराष्ट्रिय आस्थाको केन्द्र लुम्बिनीको वृहत्तर विकास कोलागी राम्रो र सकारात्मक प्रचार प्रसारको जरुरत भएको समेत बताए । कार्यक्रममा सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्ट (साट्टा) का अध्यक्ष सागर अधिकारीले बृहत्तर लुम्बिनी क्षेत्रको उपयुक्त र समयानुकुल विकासकोलागी पर्यटन प्रोडक्टमा फीनिसींग जरुरी रहेको तर्क गरे । उक्त कार्यक्रममा दक्षिण एशिया पर्यटन पुर्वाधार विकास आयोजनाको प्रमुख रामचन्द्र सेढाइले बृहत्तर लुम्बिनी क्षेत्रको परिचय दिदैं यसको विकासको सम्भावना र चुनौतिको बारेमा प्रकाश पारेका थिए ।
सिद्धार्थ होटल एशोसियसन लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुन श्रेष्ठ, लुम्बिनी पर्यटन व्यवसायी समितीका अध्यक्ष नरेन्द्र मिश्रा, साट्टाका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा लगायतको आतिथ्यता रहेको सो कार्यक्रममा पत्रकारहरु प्रख्यात बन्जाडे, सम्झना शर्मा, धिरज पौडेल, विन्दु चौहान, विरेन्द्र मिश्रा, प्रल्हाद यादव, प्रदीप आचार्य र पर्यटन व्यवसायी पिन्टु बानियाले बृहत्तर लुम्बिनी क्षेत्रको बारेमा प्रस्तुत भएको प्रस्तुतिमाथी टिप्पणी गरेका थिए ।
असार १५ र १६ गतेगरि दुइ दिन सम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन बृहत्तर लुम्बिनी क्षेत्रको बारेमा ओरियन्टेशन भएको हो । दोस्रो दिन सो क्षेत्रमा स्थलगत अध्ययन हुने आयोजक प्रेस क्लबले जनाएको छ । कार्यक्रममा नवलपरासी, कपिलवस्तु, रुपन्देहीका पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकार र पर्यटन व्यवसायीको सहभागीता रहेको छ भने लुम्बिनी विकास कोष दक्षिण एशिया पर्यटन पुर्वाधार विकास आयोजनाले उक्त कार्यक्रमलाई सहयोग गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend