कास्की जेठ ३२ ।
हर्के काका,
सय कडा पच्चीसको ऋण,
कहिले तिरेर सक्छौ?
त्यो कोदालोको बिंड संग लडेर,
त्यो हलोको फाली संग जुधेर,
बिउँतिदैनन् ती तिम्रा,
आत्मा हत्या गरिसकेका सपनाहरु,
तिम्रा पसिनाका बुंदहरु पिएर,
कहिले सिएर सक्छौ?
ती फाटेका कुर्कुच्चा?
तिम्रा हत्केलामा बगेका,
सपना सिलाउँदा सिलाउँदै च्यातिएका भाग्य रेखा?
तिम्रा चुहिएका छाना टाल्ने सपना,
तिम्रा फाटेका नाना टाल्ने सपना,
तुहिएर जान्छन् चुहिने छानो जस्तै,
लुछेर लैजानेछन, तिमीले त्यो माटो संग जुधेर,
रोपेका सपनाका बिउहरु, झाङ्गिन नपाउँदै,
अनि झुम्मिन्छन् ती गिद्धहरु,
तिम्रा मरेका सपनाहरुको वरीपरि,
सय कडा पच्चीसको ऋण,
असुल्ने छन् ती गिद्धहरु, ब्याज र साँवा,
बेचेर तिम्रा मृत सपनाहरुका,
छाला- ज्याकेट बनाएर
मासु- कवाब बनाएर
अनि हड्डी!!!!!!
हड्डीहरु बिक्ने छन् महंगा भाउमा,
हात्तीको दारा बनेर,
तर तिमीले पत्तै पाउनेछैनौ,
वा तिमिलाइ थाहानै दिने छैनन्,
तिम्रा सपनाहरुको मुल्य,
गिद्धहरुले। जन्माई रहनेछौ,
तिमि अमुल्य सपनाहरु,
अनि, मोटाइ रहनेछन् गिद्धहरु,
तिम्रै सपनाहरु मारेर,
तिम्रा चुहिएका छाना टाल्न लिएको ,
तिम्रा फाटेका नाना सिउन लिएको,
सय कडा पच्चीसको सपना
बादल बस्नेत
हाल: दिल्ली,भारत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend