logo
  • शनिबार, साउन ३० २०८३

निकालिने भयो बागमतीबाट बिजुली


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेष्ठ २७ ।
पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा असम्भवजस्तै लाग्छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम सुरु भएको हो।
Bagmati_river_252080687
समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहका अनुसार बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट बिजुली पनि निकालिनेछ।
योजनाअनुसार गुह्येश्वरीबाट पहिलो चरणमा दुई सय ४० किलोवाट प्रतिघन्टा बिजुली उत्पादन हुनेछ। ‘हामीले अत्यन्तै कडा मापदण्ड राखेर ढल प्रशोधनको काम अघि बढाउने सहमति गरेका छौं’, सिंहले भने।

ढल प्रशोधनका लागि प्रयोग गरिने शक्तिशाली मेसिनमा चल्ने पंखाबाट प्रतिघन्टा दुई सय ४० किलोवाट बिजुली निकाल्न सकिनेमा विदेशी ठेकेदारले सहमति जनाएर काम अघि बढाइएको हो। एसियाली विकास बैंकले उपलब्ध गराउने ऋण सहयोगमा केयूकेएलको मेलम्ची २ आयोजना कार्यान्वयन निर्देशनालयले हालसालै ठेक्का लगाएपछि ठेकेदारले स्थलगत अध्ययन र सर्भेसमेत सम्पन्न गरिसकेको छ।

बागमतीमा सफा पानी बगाउने र सफा बनाउने उद्देश्यका लागि विभिन्न पाँच स्थानमा प्रशोधन केन्द्र बनाउने प्रक्रिया अघि बढेको हो। पाँचै स्थानबाट बिजुली निकाल्ने योजना छ।गुह्येश्वरीमा रहने प्रशोधन केन्द्रबाट छानिएको पानी पशुपतिमा नुहाउन तथा मुखमा हाल्न मिल्नेसम्मको हुनुपर्ने सर्त राखिएको जानकारी सिंहले दिए। ‘पानीको गुणस्तर राम्रो हुन्छ।

पशुपतिनाथमा नुहाउन र चोखिन मिल्ने गरी बनाएर पठाउने हो’, उनले भने, ‘अन्य स्थानको प्रशोधनभन्दा पशुपति जाने पानी भएकाले गुह्येश्वरीमा विशेष कडा गरी क्षमता र गुणस्तरसमेत बढाउने गरेर डिजाइन गरिएको छ।’ हाल गुह्येश्वरीमा भएको ढल प्रशोधन केन्द्रसँग प्रतिसेकेन्ड एक सय ९० लिटर ढल प्रशोधन गर्नसक्ने क्षमता छ।

दोस्रो चरणमा हनुमन्ते, मनोहरा, सल्लाघारी, धोबीघाट र खोकनामा पनि आधुनिक र ठूला प्रशोधन केन्द्र राख्ने योजना छ। अन्य स्थानमा अहिले भएका प्रशोधन केन्द्रको स्तरीकरण गर्ने तथा खोकनामा जग्गा खरिद गरी प्रशोधन केन्द्र बनाउने तयारी अघि बढिसकेको जानकारी समितिले दिएको छ। यी प्रशोधन केन्द्रमा ढल प्रशोधन भए बागमती ढलमती हुनबाट जोगिने विज्ञहरूको अपेक्षा छ।

बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट पनि बिजुली निकालिनेछ। समितिले सरकारसँग छलफल गरी रिभर बेसिन अर्गनाइजेसन (आरबीओ) को अवधारणा पनि अघि सारेको छ। ‘खोलामाथिको अन्याय र अत्याचार नियन्त्रण गर्दै सुधारमुखी अभियान चलाउन यस्तो संस्थाको परिकल्पना गरिएको हो’, सिंहले भने।

यसका लागि सरकारले आरबीओ ऐन ल्याउनेबारे छलफल चलाएको छ।
पछिल्लो समयमा बागमती सफाइ अभियानका कारण बागमतीको अवस्थामा सुधार भइरहेको छ। समितिको तथ्यांकअनुसार बागमतीमा ८.५ किलोमिटर सुन्दरीजल-गोकर्ण खण्डमा धार परिवर्तन गर्ने काम सकिएको छ।

यसैगरी बागमतीका विभिन्न स्थानमा ४० किलोमिटर ढल निर्माण, २१.३४ किलोमिटर नदी नियन्त्रण तथा बागमतीकिनारमा सडक निर्माणको काम सम्पन्न भएको छ। विष्णुमती, बागमती र धोबीखोला सरसफाइको काम एकसाथ अघि बढाइएको जानकारी पनि समितिले दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend