साझा नेटवर्क
काठमाडौं, जेठ २४।
वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् ।
अस्पतालमै रहेका छोरा राजु गुरुङले भने, बुबाको अवस्था अहिले पनि स्थिर छ । तर, उहाँको मृत्यु भयो भनेर केही पत्रिका र सोसियल मिडियामा झूठो प्रचार गरिएकोमा हामी परिवारजनलाई दु:ख लागेको छ । ग्राण्डी अस्पतालका सूचना अधिकृत विनोद अधिकारीले पनि आफूले भर्खरै गुरुङलाई हेरेको र उनको अवस्था हिजो कै जस्तो स्थिर रहेको बताए ।
अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि सामाजिक सञ्जालमा उनको मृत्यु भएको भनेर भ्रामक हल्ला चलेपछि परिवारले दु:ख व्यक्त गरेको हो । यस्तो हल्ला निराधार भएको भन्दै ग्राण्डी अस्पतालले खण्डन गरेको छ । यसअघि उनलाई भारतको मेदान्त अस्पतालमा उपचार गराइएको थियो । एक महिनासम्म उपचार गरी उनी गत चैत १७ गते स्वदेश फर्किएका थिए ।
८४ वर्षीय गुरुङमा उच्च रक्तचाप, मधुमेह, पार्किन्सोनिजम लगायतका समस्या देखिएको छ । गुरुङले “सयौं थुगा फूलका हामी” बोलको राष्ट्रिय गीत र नेपाली सेनाको “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” गीतमा संगीत भरेका छन् । त्यति मात्रै नभएर गुरुङका स्वर र संगीतबद्ध दर्जनौं गीतहरु कालजयी छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend