साझा नेटवर्क
पाल्पा, जेष्ठ १०।
सोमबार आएको हावाहुरीले जिल्लाको हुँगीमा करिब तीन लाख रुपैयाँ बराबरको लिचीमा क्षति पुगेको छ । हावाहुरीले यहाँ बिक्री गर्न तयार भएका लिची झारेर नष्ट हुँदा किसानलाई नोक्सानी पुगेको हो ।
लिची उत्पादनको पकेट क्षेत्र हुँगीका किसानले बर्सेनि लिची उत्पादन गरी बुटवल, स्याङ्जा, पोखरा, चितवनलगायतका बजारमा बिक्री गर्दै आएका छन् । स्थानीय कृषक अरुणप्रकाश पन्तले हावाले करिब ५० हजार रुपैयाँ बढीको लिची नष्ट भएको बताए । उनी लिची बिक्री गरी बर्सेनि एक लाख ५० हजार रुपैयाँ बढीको आम्दानी लिन्छन् ।
त्यसैगरी स्थानीय दिवाकर पन्तको पनि करिब २० हजार रुपैयाँ बराबरको लिची नष्ट भएको छ । यहाँका १०० बढी किसानले बर्सेनि लिची बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन् भने यहाँका प्रत्येक किसानले अभियानका रुपमा घर घरमा लिची लगाउँदै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend