साझा नेटवर्क
३ फागुन, चितवन । तरकारी खेति गर्ने युवा कृषकले यसवर्ष ३६ लाख रुपैयाँ प्रोत्साहत अनुदान प्राप्त गरेका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनले युवा लक्षित कार्यक्रम अन्तर्गत सो अनुदान प्रदान गरेको हो । प्रोत्साहन अनुदान रकम पाउनका लागि ६८ जना कृषक छनौटमा परेका छन् ।
उक्त प्रोत्साहन रकमका लागि १९९ जना युवा कृषकहरुले आवेदन दिएकोमा ६८ जना कृषकलाई छनौट गरिएको हो । छनौट परेका मध्ये पहाडका २४ जनालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ र तराईका ४४ जनालाई प्रतिव्यक्ति ६० हजारका दरले अनुदान दिइनेछ ।
विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका आर्थिक रुपले तरकारी खेति गर्न केही लगानी गर्न नसक्ने १८ देखि ५० वर्षसम्मका कृषकलाई यो अनुदान दिइने बागवानी विकास अधिकृत धनबहादुर थापाले बताए । एक मौसममा तराईमा कम्तिमा १ विगाहामा र पहाडमा कम्तिमा ७ कठ्ठा १० धुरमा तरकारी खेति गर्ने व्यवसायिक कृषक अनुदानका लागि छनौटमा पर्ने थापाले बताए ।
यस वर्ष चितवनमा छ हजार ३०० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लामा पूर्णरुपमा व्यावसायिक तरकारीखेती गर्ने कृषकको सङ्ख्या ४०० भन्दा बढिरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend