साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ले वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। शुक्रबार वीरगञ्जस्थित माईस्थान मन्दिर प्राङ्गणमा सम्पन्न कार्यक्रममा ९ महिला सहित ६१ जनाले उत्साहजनक रूपमा रक्तदान गरेका छन्।
कार्यक्रममा क्लबका अध्यक्ष चन्देश्वर चौरसिया, रबिभुषण श्रीवास्तव, श्री निधि साकोसकी शोभा कुशवाहा, सिकेन्द्र यादव, दिपिका श्रेष्ठ, इन्दु श्रेष्ठ, इन्द्रवती कुमारी लगायतले रक्तदान गरेका थिए। क्लबका अध्यक्ष चन्देश्वर चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले “रक्तदान जीवनदान हो” भन्ने सन्देश दिँदै आयोजकलाई धन्यवाद व्यक्त गरे। उनले स्वस्थ नागरिकले समय–समयमा रक्तदान गर्नुपर्ने उल्लेख गर्दै एक पोका रगतले कसैको ज्यान बच्न सक्ने भएकाले योभन्दा ठूलो पुण्य कार्य अरू नभएको बताए।
कार्यक्रममा रक्त सञ्चार केन्द्रका शौरभराज पाण्डे, नितेश कुमार यादव, सनी यादव र मिथलेश साह सहितको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। उक्त अवसरमा क्लबका संस्थापक अध्यक्ष जिस्नु बराल, पूर्व अध्यक्ष रबिभुषण श्रीवास्तव, महासचिव प्रदीप कुमार लोहार, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर लगायत सञ्चालक समिति सदस्य, विभिन्न सहकारी संस्थाका कर्मचारी तथा सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमका संयोजन तथा क्लबका उपाध्यक्ष रामबाबु चौधरीले बताए।
क्लबका अध्यक्षका अनुसार पर्सा जिल्लाका ३० वटा सहकारी संस्थाको सहभागितामा गठन भएको यस क्लबले सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। रक्तदान कार्यक्रममा कान्तिपुर साकोस, श्री निधि साकोस, गृहलक्ष्मी साकोस, हिमाल साकोस, सनराइज साकोस, कोहिनुर साकोस, जयलक्ष्मी साकोस, महालक्ष्मी साकोस, जयगणेश साकोस, सुनौलो साकोस तथा शिवम साकोस लगायतका संस्थाहरूले सहयोग गरेको आयोजक क्लबका अध्यक्ष चन्देश्वर चौरसियाले बताउनु भयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend