साझा नेटवर्क
वीरगंज १२ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित सङ्गठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समुहले सङ्गठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ । सङ्गठनमा हैकमवादी, चापलुसी बढदै गएकोले राजीनामा दिईएको बताईएको छ । सङ्गठन पर्सामा सङ्गठनका संस्थापक केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठकै पालादेखि विवाद हुँदै दुई गुटमा विभाजित भएको थियो ।
करिब दुई वर्ष देखि पर्सा सङ्गठनमा विवाद र गुट उपगुट भए पछि नेतृत्वकर्ताले वास्तै नगरी थप झगडा बल्झाउने काम गरेको जगजाहेर नै रहेको राजीनामा पत्रमा उल्लेख रहेको छ । विवाद भए देखि सङ्गठन, प्रचार विभाग र पार्टीमा बारम्बार उजुरी दिँदा मिति २०८१ माघ ६ गते सङ्गठनको कार्यवाहक अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा केन्द्रिय पदाधिकारी एवं सल्लाहकारहरूको संयुक्त बैठकले पर्सा जिल्लामा सङ्गठनको दुई वटा कमिटी भएकोले दुबै कमिटीलाई विघटन गरी अजय चौरसिया संयोजक रहने गरी आयोजक कमिटी सर्वसम्मतिले बनाउने निर्णय भयो । तर सो निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लङ्घन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति सङ्गठनमा देखिएकोले झोले सङ्गठनमा बस्न उचित नरहेको राजीनामा पत्रमा उल्लेख रहेको छ । सो निर्णय कार्यान्वयन नभएकोले मिति २०८२/२/१ गतेका दिन हामीहरूले सङ्गठनको केन्द्रिय कार्यालयमा राजीनामा दिए पनि हालसम्म सो राजीनामा स्वीकृत भएको आधिकारिक जानकारी नआएको र केन्द्रिय नेतृत्व पूर्ण रुपले असक्षम देखिएकोले आजैको मिति देखि हामीहरू समाजवादी प्रेस सङ्गठनको साधारण सदस्य समेत नरहने गरी यो राजीनामा दिएको निवर्तमान अध्यक्ष मियाँले बताए ।
राजीनामा दिनेहरूमा सङ्गठन पर्साका दीपक कुशवाहा, राम अनुप यादव, श्रीराम रौनियार, जय कुमार यादव, रामेश्वर चौरसिया, अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, बिरेन्द्र भट्टराई, रोशन कुमार, मयन्क गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, विनय कुमार मुखिया, सागर कुमार, दिपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार, जितेन्द्र कुमार लगायत रहेका छन् । यसअघि आइतबार सङ्गठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज सुभाष साहले सङ्गठनको गतिविधि प्रति असन्तुष्टि जनाउदै राजीनामा दिई सकेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend