साझा नेटवर्क
तिलु शर्मा पौडेल, म्याग्दी कात्तिक २ ।
म्याग्दीमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । बुधबार बेनीको खुला मञ्चमा दुई विभागीय टिम एपीएफ र पुलिस क्लबबीच भएको खेलमा पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
स्वर्ण पदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१, ३०–२८ मा खेल खेलेको थियो । तेस्रो सेटमा पुलिस क्लबले २६–२४ ले जित आफ्नो पक्षमा पार्यो भने अन्तिम सेटमा २५–१९ ले जित निकाल्दै एपीएफले उपाधि जित्न सफल भएको हो । खेलमा नेपाल प्रहरीको कमजोर डिफेन्सीङको फाइदा एपीएफले लिएको थियो । आयोजकले निर्धारण गरेका रेफ्रीको केही कमजोरीका कारण खेलमा असहजता पैदा भएको थियो । विजेता टिमका खेलाडीहरूलाई जनही १५ हजार नगद पुरस्कार, मेडल र ट्रर्फीले सम्मान गरिएको थियो ।
यसैगरी बुधबार नै सम्पन्न अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै कास्य पदक जितेको छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको थियो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको थियो ।
तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब द्वितीय तथा तीन स्वर्ण, दुई रजत र ९ कास्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको हो ।
मधेस प्रदेशले १ स्वर्ण, दुई रजत र ५ कास्य, प्रदेश १ ले ८ वटा कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बिनीले २रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सुदूरपश्चिम र एनआरएनएले एक÷एक वटा रजत पदक जितेका छन् ।
असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए । निरोगीतर्फ १६ वटा खेलका स्वर्ण पदक विजेतालाई रु. २५ हजार र ५ वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही रु. १५ हजारका दरले नगद पुरस्कार, प्रशंसा पत्र प्रदान गरिएको थियो ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend