साझा नेटवर्क
जन्मपछिको विशेष दिन भनेको विवाह नै हो । किन कि त्यही दिन देखि मान्छे सामाजिक बन्छ । अतरपारिवारिक नाता सँग सम्बन्ध गास्दै ठूलो जिम्मेवारी बोकेर जिवन यात्रालाई अगाडि बढाउन सुरु गर्छ । विभिन्न दर्जाले सम्बोधन गर्न सुरु गरिन्छ । जस्तो श्रीमती / श्रीमान ज्वाइँ, वुहारी…आदि । हाम्रो समाजमा वैबाहिक बन्धन लाई वैधानिक बनाउन समाजकै रोहवरमा सम्बन्ध गासीदिने चलन थियो र छ पनि । यसै अनुसार हाम्रो विहे भएको थियो ।

२०६४ साल चैत्र २५ गते छिमेकी जिल्ला अर्घाखाँची भगवती २ हालको छ्त्रदेव गाउँपालिका पर्ने रमणीय गाउँ , जहाँ मेरो विहेको केटिमाग्न भनी अन्कलहरुले मलाइ लिएर जानू भएको थियो । त्यहिं नजिकै ढुंगामुनिको दाइ भनेर चिनिने एकजना आफन्तको घरमा पुगेर अन्कलले “छोराको विहे गर्नु पर्यो , तपाइले चिनेको मनखाएको कुनै केटि छैन ?” अंकलले सोधे पछि ती दाइले प्रतिउत्तरमा भने, ” एउटस केटि त छ, पढ्दै छ ।

घरकाले त दिनपनि सक्छ्न तर केटि के भन्छे सोध्नु पर्छ “भनेपछि मलाइ नलगी २-४ जना भएर केटिको घर जानू भो। त्यहाँ पुगेर केटिसँग बिहेको कुरा गर्दा केटिले ठाडै इन्कार गरेछ । म विहे गर्दिन , पढ्दै छु , विहेको कुरा नगर्नुस । त्यति जबाफ आए पछि उहाँहरु फर्केर आउनु भयो । हामी अब अन्यत्र खोज्न जाने कुरा भयो ।
विहे त लेखेको हुन्छ भनेको हो रहेछ । त्यतिकैमा एक जना नातामा अन्कल पर्नेले भने , ” हैन, महिलाको कुरा महिलाले नै बुझ्छ , दिदी तपाईं गएर एक पट्क कुरा गर्नुस न? ” त्यति भने पछि तिनी दिदी गएर कुरा राखिन । हेर एक पट्क बिहे गर्नु छ , केटो इमान्दार देखिन्छ।
जसो तसो पाल्छ नै यत्तिको केटा सँग विहेको लागि नाइ नभन भने पछि , एउटा सर्त राखेछ कि विहे त गरौंला तर केटाले चुरोट रक्सी खान्छ कि खादैन पक्का गर्नुस भनेसी त्यत्तिकैमा हाम्रो अंकलले जोस्सिएर भन्नू भएछ , धत! यि कुरा त भने पनि पाप लाग्छ , हाम्रो छोराले आज सम्म हात लगाएको छैन ।
त्यति विश्वास दिलाएपछि मात्र बल्ल मलाइ लिएर त्यहाँ पुगियो । म आगनमा कुर्सीमा बसें, एकछिन पछि केटि बोलाइयो , उनि पनि आगनको पेटिमा बसिन । मैले उनलाई हेरि रहें , चैत- बैशाखको गर्मीमा पनि बर्को ओडेर बसेको , न मेकअप , न सिंगार बटार साधारण लाग्यो ।
यत्तीको केटि भएसि जिवनमा राम्रो साथ र हात दिन सक्छ भन्ने लाग्यो अनि मैले एक्लैमा बसेर एक छिन कुरा गर्न मिल्छ भनेर सोधें । हुन्छनि भने , केटिका बा आमाले । अनि घरपछाडी बसेर एक अर्काले परिचय दिदैं सोध पुछ भयो , त्यही क्रममा मैले उनको मनोभावना बुझ्न लाई सोधें ।
“सुन्नुस,विहे कर ले गर्नु हुन्न,तपाईं लाई इच्छा छैन भने म जबर्जस्ति गर्दिन है । के छ विचार ?भनेर सोध्दा “हैन स्वेच्छाले नै हो गर्ने त” भने पछि विहे गर्ने निधो भयो । त्यो दिन २०६५ बैशाख ६ गते । इंडियामा कम्प्युटर अपरेटको जागिर गर्थे तर तलब जम्मा चार हजार थियो त्यसबेला । सम्पत्ती भए पनि नगद पैसा थिएन ।
५०० रुपियाँ बोकेर केटि माग्न गएको थिए म , घर सल्लाह गरें । पैसा छैन मसित, मंसिरमा गरौंला भनेको बाबाले धत! लाटा विहे गर्न पैसा चाहिन्छ र ? मन भए धन त भै हाल्छ नि भने पछि आजकै दिन दुलाहा बने , कोट, टाइ, ढाकाको टोपी , कालो चस्मा मैले पहिलो पट्क त्यही दिन लगाएको थिएँ ।
विहे दिन बडो गजबको हुँदो रहेछ । मण्डपमा बसेका बेला सबैका आँखा कहिले मतिर हुन्थे कि उनी तिर । नर्भस भएको थिएँ म त्यस बेला । हिन्दु रिति अनुसार सात पट्क फेरो लगाएर मंगल सुत्र पहिराएर सिंदुर हाल्ने बेला सिंदुर नै भेटिएन । पंडित बाजे सिंदुर खै छिटो ल्याओ भनेर कराउदै थिए , आखिर सिन्दुर छुटेको रहेछ ।
एकजना पठाएर फेरि त्यहिं नजिकको हटिया बजार बाट ल्याएर सिंदुर राखियो अनि उनी मेरि भइन र म उनको भएँ। हाम्रो सटक सुटुक्क विहे भयो । पितृसत्तात्मक समाजको रिति अनुसार मैले उनका बाबू आमाको न्यानो काख बाट उनको पराइघरमा प्रवेस गराएँ। अहिले जस्तो प्रेम गरेर बिहे गर्ने कमै हुन्थे । म पनि मागी बिहे नै गरें ।
हामिले त विहे पछि प्रेम गर्यौं । प्रवासमा धेरै समय विताउनु पर्ने भएकोले भौतिक सामिप्या त धेरै कम समय हुने गर्द्थ्यो र पनि तिक्तता भने कमै भयो । ससाना कुरामा कहिले पनि ठूलो विवाद भएन पुणरुपमा सन्तुलित हुदैँ गयो । जीवनसाथी कस्तो मिल्छ भन्ने कुराले नै जिवनको अगाडीको यात्रा निर्धारण गर्छ ।
एउटा सफल पुरुषको पछाडी एक महिलाको हात हुन्छ भने जस्तै म आफुलाइ भाग्यशाली ठान्दछु किन भने मेरो करियर अथवा जिवनको घुम्तीहरुमा अत्यन्तै कठिन अबस्था बाट गुज्रि रहेको बेला सधै हरेस नखान आग्रह गरिन , हौसला बढाइ रहिन । मान्छे पैसा कमाए मात्र सबै थोक ठान्द्छ्न तर उनले मेरो ३ वर्ष सम्मको कठिन फेसमा समेत गुनासो नगरि साथ दिइ रहिन ।
आज मेरो सफलतामा मेरो जीवन संगिनीको भुमिका पनि अहम रहेको छ । जीवनमा यति धेरै उतार चढाव भए कि कुनैदिन जीवन यति विक्षिप्त बन्दथ्यो कि अब मर्नुको विकल्प छैन जस्तो लाग्दथ्यो । भक्कानो छोडेर रुन मन लाग्थ्यो तर म आफुलाइ सम्हाल्न उनै सँग सम्बाद गर्नु पर्द्थ्यो ।
प्रवासी जिवनको कठिन परिस्थितीमा साथ दिएर मेरो जिवनलाइ पुनर्स्थापन गर्न हौसला बढाइरहिन । सबैकुरालाई सन्तुलित बनाउदै जानेक्रममा जीवन यति अस्त व्यस्त बन्यो कि सँगै बस्ने, घुमफिर गर्ने अबसर नै जुरेन र पनि कुनै गुनासो नगर्ने जीवन् संगिनीलाई नववर्ष सँगै वैवाहिक वार्षिकोत्सबको शुभकामना ! असिम माया ।
हिमशिखर रसाइली
धुर्कोट-२, पिपलधारा गुल्मी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend