logo
  • शनिबार, साउन ३० २०८३

आरएसडीसीका प्रमुख कार्यकारी अधिकृत जोसीसँगको कुराकानी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अर्जुन ज्ञवाली, बुटवल  भदौ ८ ।
आरएसडीसीका प्रमुख कार्यकारी अधिकृत दामोदर जोसीसँग गरेको कुराकानी बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडिसी लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको करिब ३ बर्ष पछि सर्वसाधारणको लागि साधारण सेयर (IPO) जारी गरेको छ । यस सन्दर्भमा अर्जुन ज्ञवालीले साझा नेटवर्कका लागि आरएसडीसीका प्रमुख कार्यकारी अधिकृत दामोदर जोसीसँग गरेको कुराकानी ।damodar

चालु वर्षको मौद्रिक नीतिमार्फत तपाइहरुको जस्तो थोक लगानी गर्ने लघुवित्त कम्पनीहरुको पनि पुँजी वृद्धि गर्ने प्रावधान ल्याइसकेपछि सर्वसाधारणको लागि सेयर जारी गर्दै हुनुहुन्छ । कस्तो छ तयारी ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लि.को प्रबन्धपत्र/नियमावलीमा भएको व्यवस्था बमोजिम जम्मा १० करोड जारी पुँजी भएको यस वित्तीय संस्थाले सर्वसाधारणको लागि छुट्याएको ४० प्रतिशतले हुने ४ लाख कित्ता सेयर (म्यूचुयल फण्ड र कर्मचारीको लागि छुट्याइएको सहित) यही भादौ ५ गतेवाट जारी गरेको छ ।

वित्तीय संस्थाको समग्र अवस्था सन्तोषजनक रहेको, आम नेपालीहरुमा लगानीको चेतनास्तर बढीरहेको, सेयर मागभन्दा सयौँ गुणा बढी आवेदन पर्ने गरी आम मानिससंग वित्तीय श्रोत रहेको र मौद्रिक नीतिमा पूँजीबृद्धिको व्यवस्था रहेको जस्ता कारणहरुले भविष्यमा वोनश/हकप्रद सेयर जारी हुनसक्ने सम्भावनाको आँकलनबाट मागभन्दा अत्यधिक बढी सेयरको आवेदन पर्ने अनुमान हामीले पनि गरेका छौं ।

मौद्रिक नीति अनुसारका निर्देशनहरु जारी गर्ने तयारी नेपाल राष्ट्र बैंकले गरिरहेको हाम्रो अनुमान छ । मौद्रिक नीतिमा भएका व्यवस्थाहरुमा केही परिमार्जन आवश्यक भएको कुरा विभिन्न तह र तप्काबाट उठिनै रहेकोछ । त्यसैले पनि मौद्रिक नीतिका व्यवस्थाहरु कार्यान्वयन गर्ने पक्ष र सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गर्ने काम आ–आफ्नै ढंगले अगाडि बढ्नेछन् ।

आम नेपाली सर्वसाधारणले आरएसडिसी लघुवित्त बित्तीय सस्था लिमिटेडमै किन सेयर हाल्ने ?

यो अत्यन्त जटिल प्रश्न गर्नुभयो । आरएसडिसी लघुवित्त वित्तीय संस्था नाफामुलक पब्लिक लिमिटेड कम्पनी हो । स्वभावतः यसको सेयरमा लगानी गर्ने भनेको संस्थाले कमाएको नाफामा हिस्सेदारी पाउनु हो । वित्तीय संस्था आफ्नो स्थापनाको पहिलो वर्ष देखिनै मुनाफामा संचालन भै आफ्नो मुनाफालाई स्वभाविक स्तरमा बृद्धि गर्दै आईरहेको संस्था हो । राष्ट्रियस्तरको यस संस्थाको कार्यक्षेत्र तथा कारोवार राष्ट्रव्यापी रुपमा विस्तार हुँदैछ ।

थोक लघुकर्जा प्रदायक यस वित्तीय संस्थाका ग्राहकहरु भनेको संस्थाहरु, विशेषतः सहकारी संस्थाहरु, रहेको हुनाले हामीले लगानी गर्दा शहर केन्द्रित सहकारीभन्दा ग्रामीण र केही टाठा–बाठा मानिसहरुले खोलेर संचालन गरेका सहकारी भन्दा सामुदायिक स्तरमा सदस्य सहभागिता बढी हुने सहकारीमा लगानी गर्ने गरेका छौं ।

यसबाट वित्तीय संस्थाको लगानी कम जोखिमयुक्त रहेकोले आफ्नो लगानी डुब्दैन भन्ने विश्वास आम मानिसमा होला भन्ने अनुमान गर्न सकिन्छ । यसको साथै लघुवित्त व्यावसायलाई सामाजिक व्यावसाय र वित्तीय पहुंच अभिबृद्धि गर्ने माध्यमको रुपमा पनि हेर्ने गरिन्छ । यो दृष्टिकोणबाट मुलुकको विकासमा आफु पनि सहभागि हुन पाउने अवसर समेत हुनेभयो । यी र यस्तै कारणहरुबाट हाम्रो कम्पनीको सेयरमा लगानी गर्ने मनस्थिति बन्ने अपेक्षा गर्न सकिन्छ ।

सेयर लगानी गर्न चाहाने अर्थात तपाइहरुको वित्तीय सस्थामा शेयर हाल्ने लगानीकर्ताले कुन–कुन स्थानबाट कसरी, कुनकुन प्रक्रियाद्धारा सेयर राख्न सक्छन् ?

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर एनआईविएल क्यापिटल मार्केट्स लि. काठमाण्डौ मार्फत नेपाल ईभेष्टमेण्ट बैंक लि. का प्राय सबै शाखाहरु, भिवोर क्यापिटल काठमाण्डौ, प्रभु क्यापिटल, गोर्खाज फाईनान्सका विभिन्न शाखाहरु, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाईनान्सका विभिन्न शाखाहरु, आईसिएफसीका फाईनान्सका विभिन्न शाखाहरु, नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकका सवै शाखाहरु, सिनर्जी फाईनान्स लि.का विभिन्न शाखाहरु, साझा विकास बैंकका विभिन्न शाखाहरु, सेवा विकास बैंक बुटबल र यस वित्तीय संस्थाको कार्यालय (चेक तथा भौचर मात्र) मार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

वित्तीय संस्थाको केन्द्रिय कार्यालय बुटवलमा रहेकोले यस ठाउंका बैंक तथा वित्तीय संस्थाहरु मध्ये धेरैलाई सेयर आवेदन केन्द्रको रुपमा उपयोग गरिएको छ जसबाट यस क्षेत्रका सर्वसाधारण आवेदनकर्ताहरुले सहज रुपमा शेयर आवेदन गर्न सक्नेछन् । आवेदन फारम रितपूर्वक भरी एकप्रति फोटो र नागरिकताको प्रतिलिपी सहित आवेदन भर्न सकिन्छ । आवेदकको बैंकखाता भने अनिवार्य हुनु पर्दछ, किनकी रकम फिर्ता गर्दा सोही खातामा जम्मा हुने व्यवस्था रहेको छ ।

सेयर राख्न चाहानेहरुलाइ एउटा जिज्ञासा होला, यो आरएसडिसी लघुवित्त वित्तीय सस्था कस्तो खालको बैंक हो ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट “थोक कर्जा” कारोवार गर्न स्वीकृती प्राप्त “घ” वर्गको वित्तीय संस्था हो । नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गरिएको यस कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड र संस्थापकहरुको चुक्ता पूँजी ६ करोड रहेको छ । यसका संस्थापकहरु ग्रामीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको राष्ट्रिय स्तरको गैरसरकारी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्रको नेतृत्वदायी भूमिका रहेको छ भने बैंक तथा वित्तीय संस्थाको तर्फबाट साविक लुम्विनी बैंक लि. (हालको बैंक अफ काठमाण्डौ लुम्विनी) र विभिन्न ४० भन्दा बढी जिल्लामा बसोवास गर्ने १७२ जना व्यक्तिगत लगानीकर्ताहरु गरि जम्मा तीन पक्षको संयोजन रहेको छ ।

हाम्रो प्राथमिकता ग्रामीण क्षेत्र र समुदाय स्तरका सहकारीहरु रहेकोले ग्रामीण स्वावलम्बन विकास केन्द्रको ग्रामीण विकास सम्बन्धी विज्ञता र संजालको उपयोग हामीले गर्न पाएको छौं । साथै वित्तीय श्रोत र संस्थागत क्षमता विकासको लागि लुम्विनी बैंक र कारोवार विस्तारको लागि विभिन्न जिल्लाहरुमा रहेका ब्यक्तिगत लगानीकर्ताहरुबाट यथेष्ट सहयोग पुगेको छ ।

असार मसान्तसम्म आरएसडिसी लघुवित्त वित्तीय सस्थाले कती नाफा कमायो ? यसको समग्र वित्तीय सूचक कस्ता छन् ?

वित्तीय संस्था स्थापनाको तेश्रो बर्षमा चल्दैछ । हामी संस्था स्थापनाको पहिलो १० महिनाको अवधिमा यस संस्थालाई नाफामा संचालन गर्न सफल भएका थियौं । त्यस पछिको अवधिमा अत्यन्त स्वभाविक रुपमा यस वित्तीय संस्थाको मुनाफामा बृद्धि हुँदै आएको छ । गत आव २०७२/७३ मा यस वित्तीय संस्थाको शुद्ध मुनाफा १.५० करोड रहेको छ । वित्तीय संस्थाका अन्य सुचकहरु जस्तो निष्कृय कर्जा निरन्तर तेश्रो वर्षसम्म शुन्यमै राख्न सफल भएका छौं । त्यसको अतिरिक्त पूजि प्रर्याप्तता अनुपात तोकिएको सिमाभित्र नै रहेको छ भने अन्य सुचकहरु समेत सकारात्मक रहेका छन् ।

कति गुणा सेयर आबेदन पर्ने अनुमान गर्नुभएको छ ?

हाम्रो मुलुकको वर्तमान आर्थिक परिदृष्यमा यो अनुमान गर्नु अत्यन्त कठिन छ । हामी नेपालीहरुमा उद्यमशिलता र व्यवस्थापकीय क्षमता अत्यन्त कमजोर रहेको र राजनीतिक अस्थिरता लामो समय देखि कायम रहेकोबाट अपेक्षित गतिमा औद्योगिक तथा उत्पादनमूलकः सेवा व्यावसायहरु फस्टाउन सकिरहेको छैन । वैदेशिक रोजगारीको बृद्धिसंगै रेमिटेन्स आप्रवाह बढीरहेको छ । मानिसहरुसंग लगानीयोग्य पुँजी अत्यधिक रहेको कुरा विभिन्न कम्पनीहरुबाट जारी गरिएको सेयरमा पर्ने आवेदनबाट स्पष्ट बुझ्न सकिन्छ । यो अवस्थामा मुनाफामा संचालित र समग्र वित्तीय सूचकहरु सकारात्मक रहेको यस वित्तीय संस्थाको सेयरमा पनि अत्यधिक सेयर आवेदन पर्ने अनुमान सहजै लगाउन सकिन्छ ।

यस्ता साधारण सेयर भर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

सेयर आवेदन दिन अत्यन्त सामान्य प्रकृया रहेकोछ । विभिन्न संकलन केन्द्रहरुमा २ रुपैयाँमा उपलब्ध हुनसक्ने फारम एकप्रति फोटो र नागरिकताको स्वयम् प्रमाणित प्रतिलिपि सहित तोकिएको ढाँचामा फारम भरि आफुले लिन चाहेको शेयर संख्यालाई १०० ले गुणन गर्दा हुन आउने रकम संकलन केन्द्रमा बुझाउनु पर्दछ । सेयर आवेदकको बैंकखाता भने अनिवार्य रुपमा हुनुपर्दछ । आगामी दिनमा सेयर अभौतिक रुपमा उपलब्ध हुने हुनाले डिम्याट खाता (काठमाण्डौ उपत्यकामा अनिवार्य) भएमा अझ सजिलो हुनेछ । वित्तीय संस्थाको न्यूनतम ५० कित्ताले हुने ५ हजार रुपैयाँ र अधिकतम ४ हजार कित्ताले हुन आउने ४ लाख रुपैयाँसम्मको आवेदन दिन सकिन्छ । ५० हजार रुपैयाँभन्दा बढीको शेयर आवेदन गर्दा एकाउण्टपेयी चेकबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहकहरुलाई के कस्ता सेवाहरु दिइरहेको छ ?

आरएसडिसी लघुवित्त वित्तीय संस्थाका मुख्य ग्राहकहरु खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाहरु, लघुवित्त कारोवार गर्ने गैरसरकारी संस्थाहरु र बचत ऋणको कारोवार संचालन गर्ने सहकारी संस्थाहरु हुन । यस्ता संस्थाहरुले आफ्नो कारोवार तथा सदस्यको ऋणमागलाई संवोधन गर्न वित्तीय श्रोतको आवस्यकता परेमा हामीसंग सम्पर्क गर्न सक्नेछन् । हामीले त्यस्ता संस्थाहरुको समग्र पक्षको जाँच र विश्लेषण गरि वित्तीय श्रोत परिचालनको लागि सक्षम रहेछ भने नियमानुसार वित्तीय श्रोत उपलब्ध गराउंछौ ।

संस्थाको निरिक्षणको क्रममा केहि सुधारको आवस्यकता भएमा सो बमोजिमको परामर्श उपलब्ध गराउंछौ र सो बमोजिमको सुधार भएपछि लगानी गर्दछौं । वित्तीय श्रोत लगानीको साथसाथै संस्थागत विकासको लागि त्यस्ता संस्थाहरुको निरन्तर अनुगमन हुन्छ र निरिक्षणको क्रममा भेटिएको कमजोरी तथा त्रुटिहरु सुधार गर्न परामर्श उपलब्ध गराउंछौ । हाम्रो चाहना स्थानीय तहमा संस्थाहरुको स्वक्षमता बृद्धि गर्ने र आफ्नो क्षेत्र तथा सदस्यहरुको वित्तीय श्रोत आवस्यकतालाई स्थानीय स्तरका संस्थाहरु आफैले परिपुर्ति गर्न सकुन भन्ने हो । आम सर्वसाधारणलाई आफ्नै संस्थाबाट वित्तीय श्रोत उपलब्ध हुंदा त्यस्ता ब्यक्तिहरुको स्वामित्व समेत रहने र कर्जा प्राप्त गर्न सहज वातावरण तयार हुने हाम्रो विश्वास रहेको छ ।

आरएसडिसी लघुवित्त वित्तीय सस्थाको कार्यक्षेत्र कहाँ–कहाँ पर्छ ? तपाइको संस्थाको सेवा लिन कुन–कुन प्रक्रिया अपनाउनुपर्छ ? कसरी सेवा लिन आउने ?

हामीले संस्था संचालनको तेश्रो वर्षमा आईपुग्दा मुलुकको २९ जिल्लामा १७२ संस्थाहरु मार्फत आफ्नो सेवा विस्तार गरिसकेका छौं । असल नियतबाट सेवामुखि व्यावसाय संचालन गर्न चाहने सामुदायिक स्तरका सहकारी तथा अन्य संस्थाहरुको संचालक समितिले कर्जा प्राप्त गर्ने सम्बन्धि निर्णय गरि वित्तीय संस्थाबाट उपलब्ध फारमहरु नियमानुसार भरी कर्जाको प्रकृया अगाडि बढाउन सक्छन् । वित्तीय संस्थासंग प्रत्यक्ष सम्पर्क गरि वा संस्थाको वेभसाईटबाट कर्जा प्राप्त गर्न सक्ने आधारहरु सम्बन्धि जानकारी लिन र आवस्यक कागजातहरु डाउनलोड गर्न सकिन्छ ।

संस्थाको आगामी योजनाहरु के छन् ?

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले दिर्घकालिन रुपमा आफ्ना योजनाहरु तयार गर्दा दुईवटा पक्षमा ध्यान केन्द्रित गर्नेछ । पहिलो, वित्तीय संस्थाको आन्तरिक व्यवस्थापनलाई अझ सशक्त र प्रभावकारी रुपमा स्थापित गर्ने दिशामा हामी अग्रसर हुनेछौं । वित्तीय संस्थाको दिर्घकालिन दृष्टिकोण र रणनीति तयार गर्ने तर्फ हाम्रो पाईला अगाडि बढ्दैछ । दोश्रो, वित्तीय संस्थाका सेवाग्राही संस्थाहरुको स्वक्षमता विकास गर्ने र ग्रामीण÷सामुदायिक क्षेत्रमा वित्तीय सेवा विस्तारको लागि यस्ता संस्थाको भूमिका बढाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । अन्य नियामक निकायहरुबाट तोकिएका सामान्य कार्यहरु हामी उपयुक्त र तोकिएको समयमा उचित तवरबाट पुरा गर्दै जानेछौं ।

राष्ट्र बैकले सार्वजनिक गरेको मौद्रीक नीतिअनुसार २०७५ असारसम्म राष्ट्रिय स्तरका थोक कर्जा प्रवाह गर्ने लघुत्तिले आफ्नो चुक्ता पुँजी ६० करोड पुर्याउनुपर्छ ? के यो सम्भव छ ? तपाइहरुको पुँजी वृद्धी योजना के छ ?

अहिलेको समयमा यो अत्यन्त महत्वपूर्ण प्रश्न गर्नुभयो । आव २०७३/७४ को मौद्रिक नीति सार्वजनिक भएको छ । यहि नीतिको आधारमा नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशिकाहरु जारी गर्दै जानेछ यद्यपी लघुवित्त वित्तीय संस्थासंग जोडिएका कतिपय मुद्दाहरुमा पुनरावलोकन र परिमार्जनको खाँचो रहेको पनि यसका स्टेकहोल्डरहरुबाट सार्वजनिक हुंदै आएका छन् । मलाई भन्नु हुन्छ भने थोक कर्जाको कारोवार गर्ने वित्तीय संस्थाको लागि मौद्रिक नीतिमा तोकिएको रु. ६० करोड चुक्तापूंजि पनि प्रर्याप्त होईन ।

फेरी वलियो पूंजि संरचना वित्तीय कारोवार गर्ने संस्थाको लागि आवस्यकता पनि हो । यसमा नेपाल राष्ट्र बैंकले विचार गर्नुपर्ने कुरा समयावधिको हो । तपाई भर्खर लाईसेन्स जारी गर्नुहुन्छ र आगामी दुई बर्ष भित्र ६ गुणा पूंजि वृद्धि गर भन्नुहुन्छ भने यसलाई नेपाल राष्ट्र बैंकको उचित कमद मान्न सकिन्न । यो त तथ्य र परिस्थितिको संश्लेषण विनाको कदम हो । संस्था स्थापनाको ५ वर्षमा यति पुंजि पुर्याउनुपर्ने र १० वर्षमा यति भनिएको भए शायद उचित हुने थियो ।

यो त भर्खर जन्मिएको ३ बर्षको बच्चालाई १५/२० बर्ष पुगेका जवानसंग संगै दौडाए जस्तो भएन र ?

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले पूंजिबृद्धिको लागि विभिन्न विकल्पहरु अपनाउने प्रयत्न गर्ने नै छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा नभनिएको भएपनि हामीले पूंजिबृद्धिलाई अगाडि बढाउने नै थियौं । हामीलाई पनि महशुस भैरहेको थियो कि यो पूंजि संरचनाले धेरे काम गर्न सकिन्न । हाम्रो यसमा केवल यो मानेमा आपत्ति हो कि समयावधि तोकिएकोमा कमसेकम संस्थालाई केहि हदसम्म परिपक्व हुन दिनु पर्ने थियो । हाम्रो सन्दर्भमा भन्नु हुन्छ भने संस्थाले पब्लिकमा शेयर बल्ल जारी गर्दैछ अर्थात हामीले वल्ल पूर्णता पाउंदैछौं ।

यो अवस्थामा केही असहज त पक्कै पनि हुनेछ तरपनि हामी वोनश शेयर, हकप्रद शेयर र आवस्यक भएमा फर्दर पब्लिक अफरिङ्गको माध्यमबाट समेत पूंजिबृद्धि गर्दै जाने छौंं र यो संभव नै छ । वित्तीय संस्थाको ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी पश्चातको परिस्थिति र राष्ट्र बैंकको मौद्रिक नीतिको सम्बन्धमा वित्तीय संस्थाको आगामी दृष्टिकोण तयार गर्नको लागि अब छिट्टैनै यसका संस्थापक लगानीकर्ताहरुसंग परामर्शको प्रकृया अगाडि बढाईनेछ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
हामीले यस वित्तीय संस्थाको दृष्टिकोण तयार गर्ने वेलामा वित्तीय संस्थालाई केवल नाफाको पछाडि लाग्ने संस्थाको रुपमा मात्र नभएर ग्रामीण क्षेत्रमा औपचारिक क्षेत्रबाट वित्तीय पहुंच पुर्याउने र सो वित्तीय सेवा त्यहीका सेवाग्राहीहरुको स्वामित्वमा खुलेका संस्थाहरुमार्फत उपलब्ध हुने वातावरण तयार गर्ने उद्देश्य राखेका थियौं । लगानीकर्ता भएपछि नाफाको पक्षलाई ईन्कार गर्न सकिन्न तर नाफा स्वभाविक स्तरमा रहोस र सेवाग्राहीले उचित मूल्यमा सेवा प्राप्त गर्न सकुन भन्ने पक्षलाई यस वित्तीय संस्थाले दृढ रुपमा अवलम्बन गरेको छ ।

वित्तीय संस्थाको संस्थापकहरुमा मैले माथि नै उल्लेख गरे बमोजिम सामाजिक संस्था, बैंक र फैलिएर रहेका व्यक्तिगत लगानीकर्ताहरुको संयोजन छ भने संचालक समितिमा वौद्धिक तथा उच्च क्षमता भएका व्यक्तिहरु संलग्न हुनुहुन्छ । यसले वित्तीय संस्थाको अगाडि आउने सानोतिनो अप्ठ्याराहरुलाई उचित रुपमा व्यवस्थापन गर्न सहजनै छ ।

अन्तमा हामी सेवाग्राहीहरुलाई उचित सेवा प्रदान गर्न कटिबद्ध छौं भन्न चाहन्छु भने लगानीकर्ताहरु ढुक्क भएर वित्तीय संस्थामा लगानी गर्नहुन आग्रह गर्दछु । साथै मलाई यस वित्तीय संस्थाका केहि कुराहरु सम्बद्ध निकाय र आम सर्वसाधारणमा पुर्याउन अवसर दिनु भएकोमा आभार प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend