साझा नेटवर्क
गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी विगतमा जिल्लाको सबैभन्दा ठुलो विकासे अड्डाको योजना बनाउने लामो अनुभव संगालेका अधिकृत हुन् । उनी साविक जिल्ला विकास समितिको योजना अधिकृत थिए । गुल्मीकै इस्मा गाउँपालिका १ साविकको हस्तीचौर गाविसमा २०२९ साल फागुन ११ गते दिन पिता केशवराज उपाध्याय मरासिनी र माता मनरुपा उपाध्यायको कोखबाट जन्मिएका मरासिनी सामान्य परिवार र हालसम्म पनि सादा जीवनशैलीका व्यक्ति हुन् । उनी खरिदार तहदेखी उपसचिव सम्मको ओहोदामा छन् ।
साविक वस्तु गाविस स्थित हिमालय माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा हासिल गर्दैै उच्च शिक्षाकै दौरानमा २०५५ साल चैत्र १२ गते खरिदार तहको सरकारी सेवामा उनी प्रवेश गरेका थिए । नुवाकोटको जिल्लाको साविक बुद्धसिंह गाविसको गाविस सचिवका रुपमा उनले ६ महिना सम्म काम गरेका थिए । त्यसपछि आफ्नै गृह जिल्ला साविकको पौदी अमराई गाविसमा गाविस सचिवको रुपमा ६ वर्षसम्म काम गरे । त्यसपछि दैलेख जिल्लाको जिल्ला विकास समितिको योजना अनुगमन तथा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरे ।
त्यस्तै उनी इलाम जिल्ला निर्वाचन कार्यलयमा २ वर्ष शाखा अधिकृतको रुपमा काम गरे । २ वर्षसम्म रामेछाप जिल्लाको जिल्ला वन कार्यालयमा काम गरे । प्रदेश सरकारको गठन पछि भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा ८ महिना सम्म उपसचिवको जिम्मेवारी सम्हालेपछि मरासिनी जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको २ वर्ष सम्म जिम्मेवारी समालेका थिए ।
यसरी सामान्य परिवारमा हुर्किएर खरिदारको पदहुँदै अहिले उपसचिव सम्मको ओहोदामा कार्यरत मरासिनी अहिले पनि हस्तिचौर स्थित आफ्नो खेतबारीमा हलोकोदालो गर्न पुगेकै हुन्छन् । माध्यमिक तहको अध्ययन सम्म घरको खेतीपाती थेगेका मरासिनी अहिले रेसुङ्गा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
विकट जिल्लाको गाउँ देखि मन्त्रालय सम्मको जिम्मेवारी सम्हालेका मरासिनी उनले आफ्नो सुरुवाती धरातललाई विर्सेका छैनन् भन्ने कुरा उनको सादा जीवनले स्पष्ट पार्दछ । उनै प्रमुख प्रशासकीय अधिकृत मरासिनीसँग पत्रकार प्रेम सुनारले गरेको कुराकानी ।
जागिरको यति लामो दौरानमा कहाँ-कहाँ बस्नु भयो ?
जागिरकै सुरुवाती दौरानमा कहिले नपुगेको ठाउँ नुवाकोट जिल्लाको गाविस सचिव भएर ६ महिना सम्म बसियो, कहिले आफ्नै जिल्ला गुल्मीको साविकको पौदी अमराई गाविस सचिव, सुुदुर पश्चिमका दैलेख, पुर्वको ईलाम देखि धेरै जिल्ला र थुप्रै जिम्मेवारीहरु निभाउदै गत दुईवर्षदेखि रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छु ।
एउटा अनुभवी र कुशल अधिकृतका रुपमा तपाईलाई नगरपालिकाले पायो, तपाईले चाँही नगरपाललिका लाई के दिएँ भनेर दावा गर्न सक्नुहुन्छ ? ।
पहिलो कुरा त म दावाका साथ भन्न सक्छु मैले रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले देखि अन्तर निकाय सम्बन्ध कायम गर्न सफल भएको छु । जस्तैः संघ, प्रदेश र स्थानीय तिनवटै सरकार बिच उन्नत विषयको सम्बन्ध कायम गर्न सफल छु । यस्तो सम्बन्ध राख्न कुनैपनि पालिकाले सकेका छैनन् भन्ने मेरो दावा छ ।
जस्का कारण यसनगरपालिकामा संघ र प्रदेश सरकारबाट वर्षेनी करोडौं रकम भित्राउन सफल भएकाछौं । अन्तराष्ट्रिय सम्बन्ध पनि कायम भएको छ । केही दिन अघि मात्र बेलायतको एक नगरपालिका र रेसुङ्गा नगरपालिका बिच भगिनि सम्बन्ध स्थापित भएको छ । रेसुङ्गा नगरपालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी मजेङ खानेपानी योजना पार्नमा मेयर उपमेयर लगायतका जनप्रतिनिधि सहित मेरोपनि भूमिका रहेको छ । नेपालका ३३ वटा ठुला खानेपानी योजना मध्य मजेङ खानेपानी योजना एक हो ।
त्यो योजना सम्पन्न नहुँदै पानीको समस्या भएका कयौं वडामा एक घर एक धारा पु¥याइ सकेका छौं । जनप्रतिनिधि ज्यूहरु सँगको सम्बन्ध नङ र मासुको जस्तै बनाउन सफल छौं । दोस्रोकुरा आन्तरिक प्रशासनमा सुधार ल्याएको छु । म आउने बेला सम्म कर्मचारी बिचको अन्तर सम्बन्ध राम्रो थिएन। विभाग र फाँटहरु अस्तव्यस्त थिए । तेस्रो कुरा सुशासन र पारदर्शितामा विशेष ध्यान दिइएको छ ।
थप के गर्छु भन्ने लक्ष्य लिनु भएको छ ?
लक्ष्यहरु धेरैहुन्छन्, पहिलो कसरी छिटोछरितो र पारदर्शी सेवा दिन सकिन्छ भन्नेनै हो । मैले जिम्मेवारी सम्हाल्ने बेला सम्म नगरपालिकाका चौध वटै वडा कार्यालयका भवनहरु बनाएर व्यवस्थित कार्यलयहरु स्थापना गर्ने लक्ष्य लिएको छु । सोही अनुरुप सात ओटा वडा कार्यालयका भवन बनिसकेका छन् । दश ओटा स्वास्थ्य चौकी भवन सम्पन्न भएका छन् । रेसुङ्गा नगरपालिका भित्रका सबै विद्यालयहरुमा भवनको अभाव पुर्णरुपमा पुर्तिगर्न पाएकोमा हर्ष लागेको छ । मेरो यस नगरपालिकामा दुईवर्षको अनुभवमा कर्मचारी र जनप्रतिनिधि बिचको दुरी शुन्यमा झरेको छ ।
धार्मिक क्षेत्रको विकास विकास के कति भयो ?
रेसुङ्गा पर्यटन पुर्वाधार कार्यक्रम सम्पन्न भएको छ । रेसुङ्गाको महादेव पोखरी देखि यज्ञशाला सम्म पदयात्रा गर्ने रेलिङ सहितको आर्कषक सिंडी चिन्ने काम दुई करोड लागतमा सम्पन्न भएको छ । त्यहाँ ७० लाखको मंदिर निर्माण गरियो । उन्नायचौरमा एकीकृत विकासको डिपिआर अन्र्तगत ७५ लाख लागतको खेलमैदान सम्पन्न भएको छ । अर्जुन लेकको मठ मन्दिर, प्रवेश द्धार र पार्क सजाउने कामपनि भइरहेको छ । नगरभित्रका अन्य धार्मिक क्षेत्रको संरक्षण र पर्यटकीय गन्तव्य खोज्ने र विकास गर्ने कार्यमा पनि नगरपालिका लागेको छ ।
ठुला योजनाहरु के के हुन् ?
हालसम्म ३४ करोडको काम भई सकेको मजेङ खानेपानी योजना नगरपालिकाको ठुलो योजना हो । त्यस्तै एक वडा एक ठुला योजना अन्र्तगत खुट्टेखोला तारनेटा खानेपानी योजनामा यस चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । उपल्लो तम्घास माविको चार कोठे भवन निर्माणमा ६० लाख, वडा ४ अर्खलेको विन्दावासिनी सडक पिचका लागि ५० लाख, कृषिज्ञान केन्द्र देखि बन कार्यालय भगवती मन्दिरतर्फ टि आकारमा पचासलाख लागतामा सडक पिच हुँदैछ ।
नगरपालिकाको प्रशासनिक भवन २ करोड २४ लाख र अर्को ६३ लाखको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको छ । महेन्द्र माध्यमिक विद्यालयमा १ करोड लागतमा भवन निर्माण गरियो । एक घर एक धारा कार्यक्रम र खरको छाना मुक्त कार्यक्रम पनि ठुला बजेट भित्रै पर्दछन् ।
गौरवका योजनाहरु के के हुन् ?
नगरपालिकाका १४ ओटै वडामा एक वडा एक गौरबको योजना पारेका छौं ।वडा नम्बर १ मा मोटर बाटो ढलाई, वडा नं २ मा नाली निर्माण, ३ मा मोटरबाटो निर्माण ४ मा मोटरबाटो ग्रावेलिङ, ५ मा वडा कार्यालय भवन , ६ मा खानेपानी ७ मा मोटरबाटो परेको छ । त्यस्तै वडा नम्बर ८ मा सिद्धबाबामा विद्यालय भवन, ९ मा नाली ग्रावेलिङ १०मा मोटरबाटो ग्रावेलिङ ११ मा सिंचाई , १२ मा मोटरबाटो, १३ मोटरबाटो र वडा नम्बर १४ मा खानेपानी योजना ।
जसमध्ये वडा नम्बर को खानेपानीका लागि १ करोड २० लाख, वडा नम्बर ७ को मोटर बाटोकालागि १ करोड ३० लाख छुट्टाइएको छ भने बाँकीका लागि ५० लाख देखि ७० लाख सम्मका रहेका छन् ।
एक घर एक धारा कार्यक्रम कहाँ सम्म पुग्यो ?
वडा नं २, ४,५,६ देखि ११ सम्म प्रायः सबैमा एक घर एक धारा पुगेको छ र वडा १२,१३ र १४ मा यसै चालु आर्थिक वर्षमा सम्पन्न गरिने गरी खानेपानी योजनाहरु सञ्चालनमा छन् । हालसम्म ५५८ घरमा धारा पुगेको छ । त्यस्तै सुरक्षित आवास कार्यक्रम अन्र्तगत ८० घरधुरीलाई जस्तापाता वितरण गरी खरको छाना मुक्त घर बनेका छन् ।
यसै आर्थिक वर्षमा रेसुङ्गा नगरपालिका खरको छानामुक्त नगरपालिका घोषणा हुँदै छ । त्यसका लागि यस आर्थिक वर्षमा जस्तापाता खरिदका लागि ४० लाखको टेन्डर आव्हान गरिदैं छ । यसअघि पहिलो वर्ष ४५ लाख, दोस्रो वर्ष ५० लाख खर्च भइसकेको छ ।
नगरभित्रै चुहिने टहरामुनि बसेका जनता प्रति नजर छ्रैन नि ?
तपाईले कहाँको कुरा गर्नु भयो ? बुढीचौरको दलित बस्ती चुहिने छानामुनि र चिसो भूँइमा बसेको कुरा जुन तपाईले विगतमा उठाएको कुरा गर्नु भएको हो भने त्यस्ता बस्तीलाई खरको छानामुक्त कार्यक्रम सम्पन्न पछि सुरक्षित बस्ती निर्माणका लागि नगरपालिकाले त्यस्ता परिवारलाई पचास हजार रकम दिएर घर बनाइदिने योजना बनाएको छ ।
नगरपालिका भित्रका सम्भावना र चुनौति के हुन् ?
पर्यटन विकास लाई मुख्य सम्भावनाको रुपमा लिएका छौं । रेसुङ्गाको सिद्धबाबा मन्दिरलाई ट्रान्जिट पोइन्ट बनाउदै रेसुङ्गा सर्किट निर्माण गरिदै छ । सिद्धबाबा हुँदै पराल्मी जान्छौं । छल्दीमा ड्याम बनाउछौं । इन्द्रेगौंडा हुँदै पनाघाट,स्याउवाको ऐतिहासिक जोगिथुम कोट, त्यहाँबाट सिमाघाट जहाँ ड्याम बनाएर पर्यटकहरु रमाउनेछन् ।
सिमाघाटहुँदै उन्नायचौरको ट्रि–हाउस, विशाल पार्कमा पर्यटकहरु रमाउनेछन् । उन्नायचौर अहिलेपनि पर्यटकहरुको हब बन्न सुरु गरेको छ । त्यहाँ नजिकै गुफापनि फेला परेको छ । त्यहाँबाट नेटा, सिमिचौरको विमानस्थल र त्यहाँका मठमन्दिर सहित वडा नं १३ को भुवानेडाँडा, सानो रेसुङ्गा हुँदै पुन रेसुङ्गाको सिद्धबाबा रेसुङ्गा सर्किट हुनेछ । त्यसको डिपिआर तयार पार्ने सोचमा छौं । अर्कोकुरा तम्घास खाल्डो सदियौ देखिनै धार्मिक क्षेत्रका रुपमा चिनिदै आएको छ । जसलाई धार्मिक पर्यटक क्षेत्रका रुपमा विकास गरिनेछ ।
दोस्रो नगरपालिकाका १४ ओटै वडामा कृषि र पशुपालन पकेट क्षेत्र घोषणगरी कृषि पर्यटक बनाउन सकिन्छ । तेस्रो कुरा रेसुङ्गा नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गरिने छ । प्राविधिक शिक्षाकै माध्यमद्धारा यसनगरलाई शैक्षिक हब बनाउन सकिन्छ । मेडिकल कलेज खोल्ने सम्भावनाको खोजि गरिदैं छ ।
चौथो, साना औधोगिक ग्राम स्थापना गरिने छ । त्यसकालागि ४२ रोपनी जग्गा खोज्दै छौ । नगरपालिकाको चुनौति यो हो कि आन्तरिक स्रोत कम छ । राजनैतिक सहमति फलामको चिउरा बनेको छ । प्राकृतिक दोहन न्यूनिकरण, जनचेतना छर्न र रोक्न सकिएको छैन । रेसुङ्गा बन क्षेत्र भित्रभित्रै सकिसकेका छन् । गिटि बालुवा लगायतको आम्दानीको स्रोत छैन ।
व्यवसायिक करबाट प्रतिवर्ष पचास लाख, सिफारिस दस्तुर बाट २५ लाख अन्य विविध शुल्कबाट ४० देखी ५० लाख आम्दानीको स्रोत हो । गत आर्थिक वर्षमा एक करोड २० लाख आम्दानी भएको थियो । पहिलो वर्ष ४५ लाख आम्दानी बाट आम्दानीको दायरा बढाउदैं आगामी वर्षसम्म २ करोडको हाराहारीमा आम्दानी बढाउने प्रयत्नमा छौं ।
रेसुङ्गा नगरपालिकाको विकास निर्माणमा जनताको शुन्य सहभागिता अर्को एक चुनौति हो । १० प्रतिशत जनसहभागिता राज्यले अनिवार्य भनेको छ । जसलाई हामी विकास निर्माण लागत सहभागिता भन्ने गर्दछौं । जसमा शुन्य सहभागिता रहेको छ ।
शैक्षिक सुधार तर्फ के के गरियो ?
नगरपालिका भित्र एउटा क्याम्पस, १२ वटा मावि, तिन वटा निमावि १७ वटा प्रावि छन् । त्यस्तै संस्थागत तर्फ ७ ओटा मावि र ३ ओटा प्रावि छन् । यी सबै विद्यालयमा भौतिक पुर्वाधारहरु प्रयाप्त मात्रमा बनेका छन् । अर्थात भवन बनाउन बाँकी एउटापनि विद्यालय बाँकी छैन। यी सबै विद्यालयमा आइसिटि माध्यम बाट पठनपाठन गराउँदै आएकाछौ ।
कृषि क्षेत्रको विकास कसरी भईरहेको छ ?
हामीले कृषि पकेट क्षेत्र घोषणा गरेपछि केही उपलब्धिहरु देखा परेका छन् । तम्घासको चारीखोलामा दुई करोड १३ लाख लागतमा कृषि हाटबजार केन्द्र सञ्चालन ल्याएपछि उपलब्धि देखा परेको हो । कोभिड–१९ को कारण अहिले बन्दगर्नु परेपनि सञ्चालनको ६ महिना अघि सम्म त्यसहाट बजारमा ९० प्रतिशत स्थानीय कृषि उत्पादनले धानेको थियो । तरकारी,कुखुरा, खसीबोका,दुधअण्डा पनि स्थानीय उत्पादनले नै थेगेको थियो । कृषकहरुलाई प्रोत्साहित गर्नेगरी अनुदानका कार्यक्रमहरु सञ्चाालनमा ल्याइएको छ । यिनै कार्यक्रमहरुलाई टिकाउन सके कृषि पशुपालनबाट नगरबासीको भविश्यको शुभ संकेत देख्दछु ।
कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध कस्तो छ नि?
वास्तवमा जनप्रतिनिधि भनेको नङ र मासुको सम्बन्ध जस्तै हो । रेसुङ्गा नगरपालिकाको हकमा जनप्रतिनिधि र कर्मचारीको बिचमा सौहार्दपुर्ण सम्बन्ध रहेको छ । लामो समय सम्म सरकारी सेवाको अनुभव बाट मैले पाएको यो छु कि पहिला कर्मचारीको एकाधिकार रह्यो ।
त्यसपछि कर्मचारी र जनप्रतिनिधि बिच लक्ष्मण रेखा खडा भयो, जुन लक्ष्मण रेखा दुबै पक्षले तोड्न खोजेको पाईयो । अपितु रेसुङ्गा नगरपालिकामा त्यस्तो नहोला तर अधिकांस पालिकाहरुमा लक्ष्मणरेखा एकअर्कोले तोड्ने गरेको पाईन्छ । त्यसको नकरात्मक असर जनतामा पर्ने गरेको छ ।
एकथरि जनताको मनोभावनामा प्रशासन र राजनिति प्रति वितिष्णा पैदा हुने अर्कोतिर जनताको आशा र अपेक्षा बढि हुने त्यो पुरा गर्न साधन स्रोतको अभाव हुने हुँदा आ–आफ्नो लक्ष्मण रेखा भित्र रहेर जनताको सेवामा जुटनुनै कर्तव्यबोध ठानिनु पर्दछ ।
नगरपालिकाको गत वर्ष ४९ करोड बजेट थियो । यस आर्थिक वर्षमा ५६ करोड पु¥याइएको छ । यस बजेट बाट पनि जनताका पुरै अपेक्षा पुरा गर्न नसकेपनि धेरै अभाव र समस्याहरु समधान गरिदै आएको छ । प्रत्यक्ष देखिने गरी विकास भएको छ । जुन जनताको नजरमा छर्लङै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend