logo
  • शनिबार, भाद्र २० २०८३

सम्माननीय प्रधानमन्त्री ओली ज्यु, हजुर कहिले जिम्मेवार हुने ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

– शर्मिला न्यौपाने “सुश्रीया”

सम्माननीय प्रधानमन्त्री ज्यु नमस्कार ! यहाँ म भगवानको कृपाले अहिलेसम्म आराम कुसल छु । तपाईं पनि दोस्रो मृगौला प्रत्यारोपण पश्चात् अस्पताल भर्ना नहुनु भएको कारण स्वस्थ हुनुहुन्छ भन्ने विश्वास गरेकी छु । प्रायः उपचारको लागि विदेश धाउनु हुने तपाईंले दोस्रोपटक मृगौला प्रत्यारोपण नेपालमै गराउनुले नेपालमा पनि राम्रो उपचार हुन्छ भन्ने सन्देश सम्प्रेषण गरेको छ । यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद !राम्रो काम गर्दागर्दै पनि तपाईंको नेतृत्व प्रति जनगुनासो बढ्न थालेको छ । कारण हो बोलीलाई व्यवहारमा उतार्न सक्नु भएन । म पनि त्यही गुनासो गर्ने मध्येकै एक हुँ । तपाईं, अर्काको घरमा दु:ख र संघर्ष गरेर बाल्यकाल बिताउदै राजनीतिमा होमिनु भयो । त्यतिमात्र नभइ १४ वर्षसम्मको कष्टकर जेल जीवन व्यतीत गरेर देश र जनताको लागि बाचिरहनु भएको तपाईं जस्तो व्यक्ति प्रधानमन्त्रीको रूपमा पाउँदा गर्व गर्नु पर्ने हो । र कहिलेकाही गरिरहेका पनि छौँ । तर सधैंका लागी त्यो ( गर्व गर्ने ) सौभाग्य हामिलाई दिन सक्नु भएन । पहिलो पटक प्रधानमन्त्रीको कार्यकाल सञ्चालन गरिरहदा वि. स. २०७२ सालमा भारतले लगाएको नाकाबन्दी प्रति देखाउनु भएको स्वाभिमान र निडर व्यक्तित्व सायदै हाम्रो देशका कम नेतासँग होला । त्यही नेतृत्व क्षमता र गुण देखेर भएका केहि कमि कमजोरीलाई पनि जनताले बेवास्ता गर्दै वि. स. २०७४ सालको चुनावमा तपाईं ( नेकपा ) को सरकारलाई दुइ तिहाइ बहुमतले विजयी गराए । विडम्बना दोस्रोपटक प्रधानमन्त्री बन्दा जन अपेक्षा पुरा गर्नु साटो निराशा दिदै हुनुहुन्छ । फलस्वरूप तपाईं प्रतिको आशा र भरोसा दिन प्रतिदिन घट्दो क्रममा छ । गाउँको भट्टी होस् या चोकको “चिया पसल”, सहरको महल वा सार्वजनिक यातायातमा यात्रा गर्दा, बुद्धिजीवीको “ट्विट” देखी सर्वसाधारणले चलाउने सामाजिक संजाल “फेसबुक ” जताततै सरकारको काममा जनताले खुसी हुन नसकेको गुनासो पोखिरहेकै हुन्छन् । तर तपाईंले त दु:ख र संघर्षसँग जुध्दै अहिलेको प्रधानमन्त्रीको कुर्सीमा बस्नु भएको हो नि । अनि कहिलेकाही सोच्नु हुन्न र ? मैले जस्तो दु:ख अबको पुस्ताले गर्नु नपरोस् भनेर ? वर्तमानमा रमाउँदैमा विगतलाई चट्कै भुल्न सकिन्छ, मिल्छ र प्रधानमन्त्री ज्यु ?

मैले तपाईंको एक टि भि अन्तर्वार्ता हेरेको थिए । त्यहाँ भन्नु भएको थियोे ” सुत्ने बेला रातको 11/12 बज्छ, समसामयिक विषयवस्तु, घटनाक्रम के हुँदै छन् ? अध्ययन गर्छु त्यही भएर अलि ढिलो नै हुन्छ सुत्नलाई ” । यो त खुसिको कुरा हो तपाईं जस्तो व्यस्त मान्छेले पनि समय मिलाएर अध्ययन गर्नु हुन्छ । अनि म सोचमग्न छु, प्रधानमन्त्री ज्यु तपाईंले त्यति समय अध्ययन गरिरहदा आफ्नु बारे आएका लेख, रचना, भिडियो, जनगुनासो, व्यङ्ग्य केहि भेट्नु हुन्न र ? कि भेटेर पनि नजरअन्दाज गरिदिनु हुन्छ ? हुन त हास्य कलाकारहरूले तपाईंकै अगाडि गाइजात्रा मार्फ व्यङ्ग्य गर्दा हासेर बस्ने मान्छे हजुर त कत्ति सहनशीलता हुनुहुन्छ है ? तर यो कुरा पनि नबिर्सिनुस् कि तपाईंको जति सहनसक्ने क्षमता जनतासँग छैन अर्थात् सहन सक्दैनन् । लकडाउनको बेला जनता भोक-भोकै रात दिन काट्न बाध्य छन् । देशको अर्थतन्त्रमा भारी गिरावट आइरहेको छ । तपाईंहरू भने राष्ट्रपति कार्यालयमा करोडौंको कर्पेट फेर्ने सपना बुन्नु हुन्छ ।

असोज ३ गते संविधान दिवसको दिन टुंडिखेलमा भव्य कार्यक्रमको आयोजना गर्नु भयो । त्यही टुंडिखेलको एक छेउमा थियो लकडाउनका कारण आफ्नु चोलो बाल्न नसकेर खानाको आस गर्दै बसिरहेका मनिसको समुह । उनिहरूको भाग्य भनौं या दुर्भाग्य समाजसेवीले दिएको खाना खादै सरकारले आफ्नु टाउको माथी उडायको हेलिकप्टर हेर्न पाए । त्यती मात्रै होइन तपाईंहरूको तामझाम सहितको कार्यक्रम पनि देखे । “कान्तिपुर” को उक्त दृश्यले धेरैको मन विक्षिप्त बनायो । अनि प्रधानमन्त्री ज्यु, यस्तै अवस्था देख्न/भोग्न को लागि हो त ” समृद्ध नेपाल, सुखी नेपाली ” को नारा ?

हाम्रो देश यस्तो छ प्रधानमन्त्री ज्यु, यहाँ ” एक हजार घुस लिएको आरोप लागेको ” निजामती कर्मचारीले आत्महत्या गरेपछि अदालतले निर्दोष ठहर गर्छ । अनि ” सेक्युरिटी प्रीन्टिङ प्रेस ” खरिद प्रकरणमा ७० करोड कमिसन ” डिल ” गरेको अडियो सार्वजनिक हुँदा समेत तत्कालीन ” सूचना तथा सञ्चारमन्त्री ” रहेका गोकुल बास्कोटा माथी कारबाही त के छानविन समेत हुदैन । यो त हजुरको आँखा अगाडिको घटना हो नि । फेरि तपाईं नै भन्नु हुन्छ ” भ्रष्टाचार गर्दिन र गर्निको मुख पनि हेर्दिनँ ” । त्यसो भए यी सब किन जनताको अगाडि सार्वजनिक गर्न हिच्किचाउनु भयो सम्माननिय प्रधानमन्त्री ज्यु ? यदि त्यस्तो हैन भने बास्कोटामाथी कडाइका साथ छानबिन किन गर्नु हुन्न ? पर्ख र हेरको अवस्था कत्ति दिन सहनु जनताले ? हजुरले यो कुरा कहिले पनि नबिर्सिनु कि ” म स्वयम आफ्नु नभइ समग्र नेपाली जनताको अभिभावकत्व ग्रहण गरिएको छु । त्यसकारण मैले गर्ने हरेक निर्णय जनताको पक्ष अर्थात् जन-चाहाना अनुसार हुनुपर्छ । ” भनेर

सधैंभरी निरासा मात्रै पनि दिनुहुन्न । कोरोनाको महामारीको चपेटामा परेर मुस्कुराउन भुलेका जनताको मुहारमा खुसीको वर्ष गर्नु भयो । भारतले कब्जा गरेको नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाल सरकारको नयाँ नक्सामा सार्वजनिक गर्ने निर्णय वि. स. २०७७ जेठ ५ गते गरेर । उक्त निर्णय ०७७ असार ४ गते राष्ट्रिय सभाबाट पारित साथै सोही दिन राष्ट्रपतिद्वारा प्रमाणीकरण समेत भयो । त्यो समयमा नेपाली जनताले घरघरमा दिप प्रज्वलन गरेर इतिहासकै स्वर्णिम दिन भनेर सम्बोधन गरे । त्यतिमात्र होइन लामो समयदेखि सञ्चालन हुन नसकेको ” जनकपुर जयनगर रेल” पुनः सञ्चालन गर्नुभयो । यो बेला पनि कोरोनाको बेवास्ता गर्दै जनता रेल हेर्न लाइन लागे । तपाईंहरूले एउटा काम राम्रो गर्दा यति धेरै खुसी हुने जनता, झन धेरै नज अपेक्षा अनुसार काम गर्ने हो भने कति खुसी हुन्थ्य होलान् ?

यति धेरै हिम्मत गर्ने नेतृत्वकर्ता तपाईंलाई समग्र नेपालीको तर्फबाट धेरै धेरै धन्यवाद ! अनि हामी सबैलाई बधाई पनि । सरकारको कामप्रति गर्व गरेर थोरै मुस्कुराउन खोज्दा फेरि निराशाको कालो बादल मडारियर वर्षात हुन लाग्छ । केहि वर्ष अघिसम्म मात्रै जनता दैनिक १८ घण्टा लोडसेडिङमा बस्दै मैन बत्तिसँग रमाउने गर्थे । पछिल्लो समय ” विद्युत प्राधिकरणको कार्यकारी प्रमुख ” को रूपमा ‘ कुलमान घिसिङ ‘ नियुक्त भएदेखि लोडसेडिङ शुन्यमा झरेको थियो । जनताले जलस्रोतमा धनी देशमा जन्मिनुको अनुभव गर्दै मुस्कुराउदै छन् । तर विडम्बना घिसिङको कार्यकालको समयावधि सकियो । यो सँगै अब सबै नेपालीको मनमा एउटा मात्रै चिन्ता हुन थालेको छ । त्यो हो अब फेरि पहिलाको जस्तै दैनिक १८ घण्टा लोडसेडिङमा बस्नु त पर्दैन ? यही कारण जनताले घिसिङलाई पुनः नियुक्ति गर्न माग गर्दा कानुन बाधक हुने प्रधानमन्त्रीको प्रतिक्रिया आयो ।

उता चुनाव हारेका बामदेबलाई संविधान विपरीत राष्ट्रिय सभामा लान भने कानुन बाधक नबन्ने रहेछ । हैन त प्रधानमन्त्री ज्यु ? हजुरलाई पनि थाहा होला जनताले फेरि चर्को आलोचना गर्न थालेका छन् । उता घिसिङलाई पुनः नियुक्ति गर्नको लागि कानुन संशोधन गर्छु/गरौं भन्न किन सक्नु हुन्न ? बिस्तारै, हेर्दै जाउला, गरौंला जस्ता अभिव्यक्ति कतै जिम्मेवारी बाट पछि हट्ने बाहाना हैन ? अर्थात् घिसिङलाई पुनः नियुक्ति नगर्ने मनसायत हैन ?

गत चैत (२०७६/१२/०६) मा पनि “एसईई परिक्षा स्थगित” को अपरिपक्व निर्णय गर्नु भयो । नेतृत्व गर्ने मानिस र आफ्नु पार्टीको यस्ता निर्णय बाट स्वयम ” नेकपा ” का स्थानीय स्तरका नेता र अगुवाहरूले सिर निहुर्याउनु परेको छ । कतिले त विरोध गर्न समेत पछि परेका छैनन् । अझै धेरै गर्न बाकी छ । कानुन किताबमा मात्रै सिमित जस्तो भान भइरहेको छ । दिनानुदिन बलात्कारका घटना बढ्दो क्रममा छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्दा, आर्थिक वर्ष २०७५/२०७६ मा ७ सय ८६ जना महिला तथा बालबालिका माथि बलात्कारको प्रयास भयो । यो बाहेक २ हजार २ सय ३० जना त बलात्कृत भए । कतिपय अवस्थामा पीडितले न्याय पाउदैनन पिडक खुले आम हिडिरहेको हुन्छ ।

यि कुरामा प्रभावकारी रूपमा हजुरको ध्यानाकर्षण किन हुन सकिरहेको छैन प्रधानमन्त्री ज्यु ? ह्वाइट बढी काण्ड, ललिता निवास जग्गा प्रकरण, एम. सि. सि. , तेत्तीस किलो सुन काण्ड, निर्मला हत्या प्रकरण । यि विषयमा जनतालाई कहिलेसम्म चित्तबुझ्दो जवाफ दिनुहुन्छ ? वा छानबिन गर्नु हुन्छ ? पछिल्लो समयका घटना मात्रै होइन लामो समयदेखिका घटना सङ्कास्पद बनेर बसिरहेका छन् । दुई पटकसम्म प्रधानमन्त्रीको कुर्सीमा तपाईलाई जनताले उसै बस्नको लागी मात्रै त राखेका हैनन । केही आसा र अपेक्षा त पक्कै गरिरहेका छन् । अनि यसरी कछुवाको गतिमा काम गर्नु हुन्छ । यस्तै हो भने अबको चुनावमा नेकपाले फेरि दुइ तिहाइ बहुमत पाउछ भन्नेमा ढुक्क हुन पनि सकिदैन । चुनाव नजिकिदैछ केहि सोच्ने कि ?

नेकपाका नेता अझ भनौं पहिलाको “नेकपा एमाले”का जन नेता । स्वर्गीय “मदनकुमार भण्डारी” को सवारी दुर्घटनामा वि. स. २०५० जेठ ३ गते मृत्यु भयो । दास ढुङ्गामा भएको कार दुर्घटना प्रती विभिन्न सङ्का उप-सङ्का रहिरहेका छन् । जनता सामान्य सवारी दुर्घटना मात्रै मान्न तयार छैनन् । तर तपाईंले दुई पटकको कार्यकालमा खासै ठोस कदम चाल्नु भएको देखिदैन । यस्तो अवस्थामा आम नेपालीले के सोचिरहेका, कस्तो मानसिकता बनाएका होलान् ?

उता वि. स. २०५८ जेठ १८ गतेको ‘ दरबार हत्या ‘ पनि सनसनी पुर्ण अवस्थामा सिमित छ । जनताले ” राजतन्त्र ” नचाहेका हुन् । तर तपाईहरू त राजाको हत्याको अनुसन्धान नै नचाहेको जसरी मौन बसिरहनु हुन्छ । हिजो विरेन्द्रको वंश नास भएको घटना अनुसन्धान हुन्न भने भोलि अरूको वंशमा त्यस्तै विपत्ति नआउला भन्न सकिन्छ र ? अहिले देशमा आपराधिक क्रियाकलाप दिनानुदिन बढी रहेका छन् । तर तिनको कानुनी कारबाही फितलो हुँदै गइरहेको छ । यस्तै गतिविधिले निरन्तरता पाइरहने हो भने निकट भविष्यमा नेपाल “रणभुमि” नबन्ला भन्न सकिन्न । हामी “शान्तिका अग्रदुत” ‘गौतम बुद्ध’ जन्मिएको, “विर गोर्खालीको देश भनेर पाठ पढ्छौ । तर व्यवहारमा शान्ति र विरता क्रमशः घट्दै जान्छ भने किताबमा मात्रै पढ्नु / पढाउनुको अर्थ केहि होला र ?

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु हजुरलाई पनि समग्र नेपाली जनताले , कुलमानलाई जस्तो वाह वाह गरेको हेर्न मन छैन र ? त्यसको लागि अहिले ठुला भनिएका घटना मध्य आदिको सङ्ख्यामा मात्रै भएपनि निष्पक्ष अनुसन्धान गरिदिनुस । बस् यो जिवन जिउनु भएको अर्थ पुरा हुनेछ । साथै नेपाली माटो र इतिहास रहेसम्म तपाईलाई नेपाली जनताले मन-मस्तिष्कमा राखिरहने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend