साझा नेटवर्क
-पवन केसी।
जे छु, जे भएँ, जस्तो भएँ, यस्तै भएँ । आफ्नो ठाउँमा खुसी छु । सन्तुष्ट छु । असन्तुष्टि राख्नलाई अनगिन्ती ठाउँहरु छन् । जीवन जेजस्तो हुन्छ, चित्त बुझाउने हजार कारणहरु बाट चित्त बुझाएकै छु। चित्त नबुझाउनलाई एकै कारण काफी छ ! हो ससाना कुराहरुदेखि पनि चित्त बुझ्दैनथ्यो कुनै बेला ।

नाक अलिकति सिधा भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । थुतुनो अलिक राम्रो भैदिएको भए भन्ने मनमा आउँथ्यो । कपाल फलानो हिरोको जस्तो भइदिए हुन्थ्यो । दुब्लो हुँदा अलिक मोटो किन भइँन ? अलिक मोटाउँदा, दुब्लाउन चाहना बढ्थ्यो । दुखी हुँदा, खुसी किन छैन म ? भन्ने लाग्थ्यो । खुसी हुँदा अझै खुसी हुने इच्छा बढ्थ्यो ।
खुसीका खुड्किलाहरु पार गर्नलाई हजारौँ जुनी पनि पर्याप्त छैन भन्ने कहिल्यै बुझिनँ । अरुको खुसीमा छट्पटाउन खूब आउँथ्यो । त्यही अरुको खुशी देख्दा लाग्थ्यो,म नि त्यो खुशी छिटै प्राप्त गर्ने छु जस्तो।
आजकाल के लाग्न थालेको छ भने,म/ हामी जुन समयमा जसरी बाचेका छु/छौ त्यो भन्दा राम्रो बिकल्प मेरो लागि छँदै छैन । हरेक पल, हरेक प्रहर, हामी जीवनको सबभन्दा उत्कृष्ट समय बाँचिरहेका छौँ । चौबिसै घण्टा खुसी नै खुसी, सफलता नै सफलता पाइयो भने त त्यसको महत्व नै कहाँ रहन्छ र ?
मान्छे जीवनमा उक्लिने अनि ओर्लिने भैरहनुपर्छ । नभए जीवन रोचक कहाँ हुन्छ र ?त्यसैले जिबनलाई भनिदै आइएको छ “जीवन एक दुख सुखको खेल हो” हामी एक मिनेट, एक सेकेण्ड ढिलो मात्रै भएको भए हामी नजन्मिएर अरु नै कोही जन्मिन्थ्यो ।
म आफुले आफुलाई एक बलवान् सम्झिन्छु,किनकी म करोडौं को भिडबाट जितेर आएको एक युवा हुम।म एकदमै सही समयमा, सही ढँगले मिलेकाले म आफैँ भएर जन्मिए । नभए अरु नै मान्छे जन्मिन्थे । म करोडौं संयोगहरुको प्रतिफल हुम । दुखै गरेर आमाको पेटमै करोडौं जनयुद्ध जितेर आएको म दुखै भएपनि, अफ्ट्यारै भएपनि कम्तीमा जीवन त भोग्न पाएका छौँ ।
आजकाल मलाई आफैँ पर्ती गर्व छ । म कोही जस्तो छैन । त्यसैले त मेरो आफ्नै पहिचान छ । महत्व छ । म मात्र म हुँ मेरो एकलौटी सत्ता ओगटेर बसेको । म आफ्नो दुनियाको राजा, मै आफ्नो दुनियाको जनता हो । यहि त हो, बाँच्नुको फाइदा ? मलाई कोहीजस्तो देखिने रहर जागेको छैन ।
जन्मिएदेखि हिसाबकिताब गर्ने हो भने, दुःखका अनगिन्ती पहाडहरु चढेको छु, सुखका फाँटहरुमा रमाउँदै निर्वाध घुमेको छु । दुःखमा रोएको छु । आत्तिएको छु । चिच्याएको छु । छट्पटाएको छु । सुखमा मात्तिएको पनि छु । गल्तीहरुपनि थुप्रै गरेको छु । दुःखमा आत्तिएकोमा लज्जित छैन ।
आफूले गरेका गल्ती सम्झेर कुनै अपसोच पनि गर्नु छैन । गल्तीहरुलाई जीवनको हिस्सा मानेको छु । जो नचाहँदा नचाहँदैपनि खेप्नै पर्ने हुन्छ । जीवन एउटा मुहान हो, संसारमा केही कुरा पूर्ण छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend