साझा नेटवर्क
-जीवन पोखरेल, गुल्मी ।
कुनै निश्चित कालखण्डसम्म खनजोत गरिदैँ आएको खेत, बारीलाई उब्जनी नलिई त्यत्तिकै छाड्नुलाई बाँझो जग्गा भनिन्छ । मुख्यत: युवा जति विदेश र शहरमा, गाउँमा वृद्धबृद्धा र केटाकेटी मात्र रहनाले गाउँको जग्गा धेरै नै बाँझो भेटिन्छ । देशमा रहेका १८ देखि ४० वर्षका नागरिकलाई युवा भनिन्छ ।

युवाहरुलाई देशका खम्बा अर्थात आधारस्तम्भ ठान्ने गरिन्छ । किनभने देश विकास गर्नको लागि आवश्यक श्रम एवम् विभिन्न क्षेत्रमा मुख्य भुमिका युवाकै रहेको हुन्छ । खासगरि बाँझो जग्गा र युवाको सम्बन्धको बारेमा विशेष चर्चा गरौँ । प्राचीनकालदेखि नै नेपाल एक कृषिप्रधान देश हो । यहाँका धेरै मानिसहरु खेतीपाती, पशुपालन लगायतका व्यवसाय गरेर, निर्वाहमुखी खेतीपाती गरेर जीवन धानिरहेका छन् ।
कृषिकर्म नेपाली जनताका लागि कुनै नौलो कुरा होइन । धेरै पहिलेदेखि नै खेतबारी जोत्ने, धेरै अन्न फलाएर विक्री वितरण गरी आवश्यक अन्य सामग्रीहरु आयात गरी समय व्यतित गरेका थिए । मुख्य पेशा कृषि हो र पुर्खाको जग्गामा पसिना बगाउनुपर्छ भन्ने अवस्था थियो । आजभन्दा धेरै पहिलेको अवस्थामा खेतको महत्व पनि निकै थियो । तर बिडम्बना, यो अवस्था लामो समयसम्म चल्न सकेन ।
देश विकासको लागि आवश्यक पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, संचार, खानेपानीतर्फ मानिस केन्द्रित हुनथाले । भौतिक सुखसयलमा बाँच्न र ऐस आरामले जिन्दगी बिताउनुपर्छ भन्ने सोच आउन थाल्यो । जसअनुसार धेरै युवाहरु रोजगारको लागि जन्मभुमि छाड्न कोहि बाध्य भए त कोहि रहरले पनि घर छाडेर धेरै पैसा कमाउने प्रलोभनमा घर छाड्ने प्रवृत्ति निकै नै बढ्यो ।
फलस्वरुप युवाजति पलायन भएपछि गाउँमा आखिर बृद्ध बुढाबुढी र केटाकेटी मात्र रहन थाले । रोजगारको लागि गाउँ छाड्ने होइन, आफ्नो देश छाडी अन्यत्र देशका कुनाकाप्चामा नेपालीहरु पुग्न थाले । कोहि रहरले पुगे त कोहि बाध्यताले । ती दुवैको पछाडी मुख्य कुरो भेटिन्छ, ‘अर्थोपार्जन ।’ एक–दुई सय र हजार होइन, लाखौँको सङ्ख्यामा नेपालीहरु विदेशी भुमिमा समय बिताइरहेका छन् ।
छोरा वा छोरीले पैसा पठाउला र खर्च चलाउला भन्ने आशमा र अशक्त शरिर खेतबारिमा प्रयोग हुन नसक्दा जग्गा बाँझो देखिन्छ भने अर्कोतर्फ कुनै–कुनै अवस्थामा उब्जनी कम भयो भनेर पनि खेती गर्न छाड्नाले जग्गा बाँझिदै आएको छ । देश विकासका मुख्य खम्बा मानिने अधिकाशं युवाजति विदेशमा छन् । जन्मथलो छोडी रोजगार र बढी पैसा कमाउने आशामा बसाईसराई गर्दै आएको पाइएको छ ।
अहिलेको नेपालको सन्दर्भमा हेर्ने हो भने विभिन्न कारणले युवाजति विदेशमा होमिन विवश छन् । राजनीतिक अस्थिरता, रोजगारको कुनै ग्यारेन्टी नहुनु, श्रमको उचित मूल्य र सम्मान नहुनु, सीप र क्षमताको प्रयोग गर्ने उचित अवसर नपाउनाले अन्यत्र देशमा जानुपर्ने मुख्य कारण हुन् । व्यवसायिक शिक्षाको प्रचलन तीब्र रुपमा ल्याइएपनि प्रभावकारी नहुनाले अध्ययनरत विद्यार्थीमाथि निराशा उत्पन्न भएको छ ।
पहिलेजस्तो सामान्य लेखपढ गरी बाँकि जीवन कृषिमा विताएजस्तो अहिले त्या अवस्था कायम हुन सकेन । आधुनिक र वैज्ञानिक खेती प्रणाली नहुनाले कृषिमा यस्ता समस्या भेटिएका हुन् । विश्वभरी महामारी छ–कोरोना भाइरस । यस भाइरसबाट संक्रमित र ज्यान गुमाउनेको सङ्ख्या उत्तिकै बृद्धि भएको छ । नेपालको सन्दर्भमा खुला सिमाना भएको भारतमा रहेका नेपाली युवालाई नेपालसम्म ल्याई क्वारेन्टाइनभित्र राखिएको छ । भने अन्य मुलुकमा रहेका नेपालीहरुलाई अझै ल्याउन सकिएको छैन ।
क्वारेन्टाइन पछिको अवस्था के हुने हो ? त्यो त पर्खिन बाँकी नै छ । दुईछाक खानाकै लागि मात्र विदेश गएका युवाको परिवारलाई ठुलै समस्या नआउला भन्न सकिन्न । नेपाली युवालाई स्वदेश त ल्याइयो, के अब सबै नेपालीले स्वदेशमै रोजगारी पाउने हुन् त ? कुनै कुनै स्थानीय तहमा बाँझो जग्गामा खेती गरेमा अनुदान दिने व्यवस्था मिलाई हौसला प्रदान गर्न खोजिएको छ । तर आखिर उत्पादन पो कसले गर्ने ?
अधिकाशं मानिसको सोच यहि भेटिन्छ –विदेश । तर मलाई लाग्छ, विदेश सर्वथोक होइन र टिकाउयोग्य छैन । विश्व कोरोना भाइरसबाट त्रसित छ । विश्भरीको लकडाउनले विदेशी भुमिमा रहेका नेपालीलाई अर्थोपार्जन होइन, पिउने पानी नहुँदा भोकभोकै तड्पिएको खबर पाइएको छ । जटिल र कहालिलाग्दो यो अवस्था अब आम युवाले सिक्नुपर्ने पाठ के हो ? हुनसक्छ, देशमा कृषिसम्बन्धी उचित व्यवस्था र श्रमको सम्मान नहोला, तर युवजतिले आफ्नो देशमा ठुलो उपलब्धि लिने दीर्घकालिन योजना बनाउन आवश्यक ठान्दछु ।
जेठ १५ को बजेट भाषणमा कोरोना रोकथामसम्बन्धी उचित बजेट विनियोजन गरिएको छ । आशा छ–उक्त रकमले कोरोना पक्कैपनि नियन्त्रणमा रहला । तर अर्को कुरा स्वास्थ्यमा मात्रै खर्च गरिरहँदा कतै देशको अर्थतन्त्र डामाडोल हुने त होइन ? स्वास्थ्य मुख्य धन हो, उचित व्यवस्था हुनु जरुरी पनि छ । तर सजिलै आकंलन गर्न सकिन्छ कि–देशको अर्थतन्त्रमा ठुलै हलचल पैदा हुन्छ ।
त्यसकारण पनि विदेशबाट नेपाल आएका नेपालीहरुलाई म आग्रह गर्दछु, सबै मिलि हातेमालो गरौँ र समृद्ध राष्ट्र निर्माणमा इँटा थप्न सहयोग गरौँ । सबैले एकपटक दीर्घकालिन ठोस निर्णय लिने बेला आएको छ ।
लेखक : नेकपा निकट विध्यार्थीहरूकाे संगठन अनेरास्ववियूका सदस्य हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend