साझा नेटवर्क
-कमल पौडेल ।
यो मनले दर्जनौ पटक सोचेको छ। मन भत्भति पोल्दै आफ्नै छाती पटक पटक चिथोरिएको छ। म के का लागि ? मेरो अस्तित्व के हो ? जिवन केवल बाँच्नु मात्रै हो ? परिवार पाल्नु, कमाउनु, रमाउनु यत्ती हो जिवन ? समाजमा भैरहेको असमानता, को विरुद्ध आगो ओकेल्न के म सक्दीन ? आफ्नै आँखा अगाडि उत्पीडनको ज्वालोमा कोहि दन्किरहेको देख्दा आँखा बन्द गरेर सहन्छु भने के म मानव हुँ ? आज त्यहि अस्तित्वले ठोकी रहेको छ ।

मेरो घर भित्र आमा, दिदिबहिनि, भाउजु बुहारी अछुत भएको टुलुटुलु हेरेको छु, मेरो छिमेकी निरन्तर उसैको श्रममा मेरो घर चलेको छ उहिँ नै आँगनको डिलमा बसेर खाएको टुलुटुलु हेरेर बसेको छु, मैले समताको पाठ पढाउने मेरो विद्यार्थी/चेला मेरै अगाडि अछुत भएर बाँचेको टुलुटुलु हेरेर बसेको छु, मैले मान्ने भगवान् बनाउने कालिगढ, त्यहि भगवान ढोग्न नपाएको टुलुटुलु हेरेर बसेको छु, संगै रेडियोमा काम गर्ने अरुले अछुत भन्ने जोडि आफैमा जात नमिलेको भनेर जवरजस्ती छुटाएको टुलु-टुलु हेरेर बसेको छु, आखिर म के का लागि ? के त्यो मरेतुल्य होइन ?
मान्छे मान्छेको विभेदमा बोल्न नसक्ने, अन्याय र अत्याचार विरुद्ध विगुल फुक्न नसक्ने जिवनको के अर्थ ? समाज पढेको विद्यार्थी प्रारम्भिक, सामन्ति, पूँजिवादी हुँदै आधुनिक समाजमा हामी दौडिरहेछौं, कितावमा कि ? सामाजिक धरातलमा ? पूँजिवादी र आधुनिक समाजमा पनि सामन्ति अवशेषहरु जिवित रहनु कसको दोष? के म यस्ता यथार्थ धरातल बुझ्न सक्दिन ? के बुझेर पनि बुझ पचाइ रहेको छु ?
सामाजिक सञ्जालमा पढे/देखे/हेरेको छु । विभेदको विरुद्ध स्टाटस राख्दा प्रतिक्रिया आउने छैन तर यत्तीकै सञ्जाल धमिलो बनायो भने निकै प्रतिक्रिया आउने गर्दछन् । मेरो समाज कता जाँदै छ? जातिय, वर्गिय उत्पीडन अन्त्य गर्ने नाममा तयार संरचना व्यक्तिगत स्वार्थ शिद्ध गर्न उद्धत छन् भन्नु के नाजायज हो ? छातिमा हात राखेर, भूमिको १ मुठि माटो उठाएर कसम खान को तयार छ ? विभेद हटाउने अभियानमा विगुल फुक्न ।
माथि उठाएका जति प्रश्न, समस्या छन् यी सवै सामाजिक साँस्कृतिक प्रचलन र अर्थ व्यवस्था संग जोडिएका विषय हुन् । जस सम्म आर्थिक प्रणाली संगै साँस्कृतिक क्रान्ति हुँदैन, उपरि संरचनामा परिवर्तन आउँदैन तवसम्म विभेद निरन्तर रहन्छ । अहिले पनि उपरि संरचनाको दलदलमा समाज फसिरहेको छ । अन्धविश्वासी चेत हराएर बैज्ञानिक उन्नत चेत नभएसम्म उपरिसंरचनामा परिवर्तन आउने छैन।
जातिय, वर्गिय उत्पिडनको मुद्धा, कुनै जात, धर्म वा वर्ग को चेतनाले मात्रै अन्त्य गर्न सक्दैन । कसैका विरुद्ध कसैलाई तयार गरेर समतामुलक समाज निर्माण गर्ने अभियान बलियो होइन थप कमजोर बन्छ । जसरी लैंगिक विभेद अन्त्य गर्न, महिला माथिको शोषण अन्त्य गर्न पुरुषहरुले अगुवाई गर्नेहो भने सम्भव छ, तर महिलाको मात्रै कुरा हो भन्यो भने त्यो सहजै सम्भव छैन ।
त्यसैगरी जातिय विभेद विरुद्धको विगुल ब्राहमण, क्षेत्री समुदायबाटै सुरु गरिनुपर्छ, राज्यका श्रोत, संरचनामा जसको हालिमुहालि बढी छ । उसैले विभेद विरुद्धको अभियान उचाल्न सक्छ तर ऊ मुख दर्शक बन्ने र उत्पिडनमा परेकाहरुको मात्रै ठेक्का भन्यो भने फेरी पनि समतामुलक समाजको नारा र आन्दोलन विचमै तुहिन्छ । त्यसैले समस्याको जड वर्गिय र जातिय चेतना नै हो । कितावि ज्ञान हासिल गर्ने विद्धानमा मानविय मुल्य र चेतनाकै अभाव हो ।
त्यसैले कुनै जाति विशेषका विरुद्ध अर्को कुनै जाति विशेष हुनै सक्दैन, सामाजिक सद्भाव कायम गर्दै सामाजिक चेतना र जागरण बाट मात्रै विभेद अन्त्य गर्न सकिन्छ । तर चेतना जरुर छ, समाजमा सबै नागरिकको चेतना स्तर समान हुन सक्दैन तर समाजको अगुवाई गर्नेहरुको मात्रै चेतना बलियो हुने हो भने समस्या समाधान हुन सक्छ । अहिले पनि तागाधारी हुन् या मतावलि वा अन्य जाति, ति जाति भित्रै विभेद छ ।
समाज माथि देखि तलसम्म लम्बिय रुपमा विभिन्न श्रेणीमा विभक्त छ, त्यसको अचुक औषधि भनेको चेतना स्तर नै हो । अहिले पनि त्यो उन्नत चेतना स्तर सामाजिक अगुवाइ गर्नेहरु संग नै छैन । युग वदलिएको छ, व्यवस्था बदलिएको छ तर सामाजिक संरचनाहरुमा परिवर्तन भएको छैन, साँस्कृतिक क्रान्तिमा विचलन आएको छ। यहि विचलनलाई आधार बनाएर, बर्तमानमा भैरहेको विभेदलाई सिँडि बनाएर आज पनि कोहि भर्याङ चढ्दै छ।
आम नागरिक त्यसैमा तालि पिट्न विवश छ । त्यसैले कसैका विरुद्ध कोहि भएर होइन, जातिय उत्पिडन सामाजिक कलंक हो, यो कसैको मात्रै शत्रु होइन, एक चोटि छातिमा हात राखेर उत्पिडित वर्गको प्रतिनिधित्व गरेर सामाजिक रुपान्तरणमा योगदान गरौं । आम युवा नयाँ जोस् र हिम्मतका साथ सामाजिक विभेदको अन्त्य गर्ने र त्यसको अगुवाई गर्ने उन्नत चेतना सहित शंखघोष गरौं, समतामुलक समाज निर्माणमा अग्रसर होऔं ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend