logo
  • शनिबार, भाद्र २० २०८३

लक्ष्मण पन्तद्वारा लिखित पुस्तक “नेपाल भारत र छिमेक”


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

भरत पाण्डे, काठमाण्डौ भदौ २४।
विश्वसित सम्पर्कका लागि भारतमा मात्र निर्भर रहेको नेपालका लागि राजा महेन्द्रको अगुवाईमा नेपाललाई चीनसित जोड्ने कोदारी राजमार्ग निर्माणका लागि सन् १९६१ मा नेपाल र चीनबीच सम्झौता हुनु एउटा युगान्तकारी कदम थियो ।

”नेपालको विशिष्ट भूराजनीतिक अवस्थितिमा नेपाललाई भारतीय धुरीबाट स्वतन्त्र राख्ने योजनामा राजा महेन्द्र वा बिरेन्द्रले खेलेको सकारात्मक भूमिकाबारे कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गर्नुका सट्टा राजा बिरेन्द्र वा महेन्द्रको जुन खलनायकको छवि कम्युनिस्ट पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुसमक्ष प्रस्तुत गरे, त्यसबाट राजतन्त्रप्रति कम्युनिस्ट कार्यकर्ताहरुका मनमा अत्यन्त नकारात्मक छवि बन्न गयो । ”

”म भारतीय प्रधानमन्त्रीज्युलाई एउटा प्रश्न सोध्न चाहन्छु, उपमहाद्वीपमा भारतलाई ठुल्दाईका रुपमा हेर्ने गरिन्छ । तपाइँको भ्रमणबाट यो धारणालाई बदल्ने प्रयास गरेको तपाइँ ठान्नुहुन्छ ?

नरसिंह राव : मानवीयरुपमा जति सम्भव हुन्छ त्यो मैले गर्ने कोशिश गरेको छु । कुनै यस्तो तरीका छैन जसबाट मैले आफ्नो आकार बदल्न सकूँ । कृपया यो कुरा बुझिराख्नोस् ।

”भारतीय प्रधानमन्त्रीहरु इन्दिरा गान्धी र राजीव गान्धीले विभिन्न प्रयोजनका साथ स्थापित गरेका र प्रयोगमा ल्याएका आतंककारी संगठनहरु कसरी आफ्नै काल बने भन्ने कुरा खालिस्तान र तमिल पृथकतावादी आन्दोलनबाट स्पष्ट हुन गएको छ ।

जर्नेलसिंह भिन्डरवाले र उनको संगठन इन्दिरा गान्धीको र प्रभाकरन र लिट्टे राजीव गान्धीको मृत्युको कारण बन्न पुगे । यसबाट जातीय र धार्मिक आन्दोलनलाई न त व्यक्ति न राष्ट्र कसैले पनि आफ्नो क्षणिक फाइदाका लागि प्रयोग गर्नु हुँदैन भन्ने द¥हो शिक्षा इतिहासले दक्षिण एसिया मात्र होइन, सम्पूर्ण विश्वलाई छाडेर गएको छ ।

”भारतको नेपाल नीतिका मुख्यतः यी उद्देश्य रहेका छन् सुरक्षा जलस्रोत र बजार । यी उद्देश्यहरु हासिल गर्नका लागि प्रचार–यन्त्रको भरपूर प्रयोग गर्नु र भारत नेपालको सान्टाक्लाज भएको कथा तयार पारिराख्नु भारतको नेपाल–नीतिको अभिन्न अंग हो ।”

”भुटानमा रहेका नेपाली विद्रोहीहरुको लक्ष्य भुटानको जनसंख्यालाई अल्पमतमा पारेर राज्यसत्ता कब्जा गर्नु हो । जिग्मे शिग्मे वाङचुक” तमिल छापामारहरुलाई हतियार दिनु इन्दिरा गान्धीको गम्भीर भुल थियो । आफ्ना छिमेकीहरुलाई कमजोर बनाएर आफु शक्तिशाली बन्न खोज्नु दिल्लीको चीरपरिचित नीति हो ।

जर्मन पत्रिका अलगेमाइने जाइतुङ : भुटान र भुटानी जनता सार्वभौम हुन् । तसर्थ केवल भारतलाई खुशी तुल्याउनुमात्र हाम्रो राष्ट्रिय हितमा हुन सक्तैन, हामी आफै पनि खुशी हुनु पर्दछ । हामी मालिकले चाहेजसरी उपभोग गर्ने यौनकर्मी होइनौं । भुटानी जनता भारतको छायाँबाट टाढिएर मुक्त आकाशमा विचरण गर्न चाहन्छन् ।”

मथिका पंक्तिहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय समितिका सदस्य लक्ष्मण पन्तलिखित पुस्तक नेपाल भारत र छिमेक : चार दशकका मुख्य घटनाबाट लिइएका केही महत्वपूर्ण अंशहरु हुन् ।

दक्षिण वा मध्यवर्ती विचार अंगाल्ने राजनीतिक दलका नेता–कार्यकर्ताहरु भन्दा आमरुपमा वाम विचारधाराका कम्युनिस्टहरु बढी अध्ययनशील हुन्छन् । तर हाम्रो देशको हकमा भने यो मान्यता अब क्रमशः इतिहास बन्न थालेको देखिन्छ ।

केही ससाना कम्युनिस्ट पार्टीलाई छाडिदिने हो भने नेपालका मुलधारका कम्युनिस्ट पार्टीहरु र तिनका नेताहरुका लागि अध्ययन र लेखनको विषय एकादेशको कथामा सीमित हुन पुगेको छ । यो कुरा बेग्लै हो कि ती नेताहरु कुनै एक कालखण्डमा अध्ययन र अध्यापनको पृष्ठभूमिबाट आएका हुन् ।

अध्ययन र लेखनको कम्युनिस्टहरुसित जोडिएको अर्को पाटो पनि छ । त्यो हो वामपन्थी विचारधारालाई नै शास्वत सत्य मानेर त्यसैमा आधारित लेखहरु लेख्ने । कुनै तथ्य, कुनै तथ्यांक र कुनै सन्दर्भ–सामग्री बिना लेखिएका लेखहरुको थुप्रोलाई चार–पाँच सय पृष्ठको भारीभरकम किताबको रुप दिने, त्यसपछि पार्टीबाट वा कुनै ‘दाता’बाट आर्थिक सहयोग लिई छपायेर बिक्री–वितरणमा पठाउने ।

अनि, ‘मामाको धन फुपुको श्राद्ध’को शैलीमा निशुल्क वितरण गर्ने । पुस्तक पसलहरुमा बिक्रीको लागि पठाये पनि त्यस्तो साहित्यको विक्री एकाध सय प्रति भन्दा बढी भएको पाइदैन ।

तर नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण पन्तले भने यो परम्परालाई उपरोक्त पुस्तकको माध्यमबाट तोडिदिएका छन् । लेखकको समेत पहिचान बनाउन सफल पन्तको यसै भदौ महिनाभित्र सार्वजनिक हुने पुस्तकमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, भुटानलगायतका मुलुकहरुका विद्वानहरुले लेखेका लगभग १३० सन्दर्भ पुस्तक, पत्रपत्रिका आदिको प्रयोग गरिएको छ ।

पुस्तकमा पन्तले आलोचनात्मक विधि अवलम्बन गरेका छन् । कम्युनिस्टहरु कट्टर राजा विरोधीका रुपमा चिनिन्छन् । तर पन्तले महेन्द्र र बिरेन्द्रको नेतृत्वमा गरिएका कोदारी राजमार्ग निर्माण र शान्ति क्षेत्रका प्रस्तावलाई पूर्ण समर्थन गर्दै आफ्नो कलम चलाएका छन् ।

आफै सहभागी भएको माओवादी आन्दोलनको समेत पन्तले आलोचनाको कसीमा राखेर कलम चलाएका छन् जसलाई पुस्तकमा समाविष्ट गरिएको छ । प्रस्तुत पुस्तक पन्तको दोस्रो कृति हो । यस भन्दा पूर्व २०७४ सालमा उनले लेखेको पुस्तक आधुनिक नेपालको इतिहास १७४३– १९५५ महत्वपूर्ण विषयहरुको समीक्षा प्रकाशित भएको थियो ।

दक्षिण एसियाका नेपाल, भुटान, श्रीलंका, पाकिस्तान, बंगलादेश र मालद्वीपसित भारतको सम्बन्धको प्रकृति पुस्तकको केन्द्रीय विषयवस्तुका रुपमा रहेको छ ।पुस्तकमा भारत–चीन सम्बन्धका विषयमा पनि सामग्री रहेको छ ।

चन्द्रकान्त–विष्णुदेवी प्रकाशन,काठमाडौंले बजारमा ल्याउन लागेको पुस्तकमा आठ खण्ड र ३६८ पृष्ठ रहेका छन् । पुस्तकको मुल्य रु ६५० र संस्थागत मुल्य ९०० राखिएको छ ।

इतिहास, राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि राख्ने आमविद्यार्थी बुद्धिजीवि, राजनीतिज्ञ, शोधार्थीलगायत आमपाठक सबैका लागि पुस्तक उपयोगी र ज्ञानवद्र्धक हुने लेखक पन्तको दावी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend